
नौरते नेपाली, पुष ७ जुम्ला
कृषि क्षेत्रका लागि आवश्यक प्रविधि पाएपछि तिला गाउँपालिकाका किसान खुसी भएका छन् । व्यवसायिक कृषिमा क्रियासील रहेका किसानलाई कृषि औजार तथा प्रविधि हस्तान्तरण गरिएको छ । कृषि खेतीमा सहभागि तिलाका १ देखि ९ वडासम्मका ४० जना किसानलाइ कृषि औजार तथा प्रविधि हस्तान्तरण गरिएको छ ।
वल्र्डभिजन इन्टरनेश्नल नेपालको सहयोग र किर्डाक नेपाल जुम्लाद्धारा संचालित राइज परियोजना अन्तर्गत किसानलाई कृषि औजार हस्तान्तरण गरिएको हो । तिला गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष परवहादुर रावतद्वारा कृषकहरुलाई ग्रीन हाउस प्लाष्टिक, गाड्रेन पाइप, नाइलनको डोरी, हजारी, त्रिपाल, फरुवा, डिजिटल काँटा र प्लाष्टिकका क्यारेट लगायतका करिब ११ लाख ५५ हजार २ सय ८० रुपैयाँ बराबरको कृषि औजार हस्तान्तरण गर्नु भएको छ ।
कोभिड प्रभावित कृषकलाई कृषिमा उत्पादन वृद्धि गर्दे व्यवसायिकरण गराउनको लागि आवश्यक कृषि औजार तथा उपकरण उपलब्ध गराइएको हो । दिगो आयआर्जनका लागि औजारले महत्वपूर्ण टेवा पुगाउने किर्डाक नेपाल जुम्लाका फिल्ड प्रोग्राम म्यानेजर भेषवहादुर रावलले बताउनुभयो ।
महामारीबाट प्रभावित युवा, एकल महिला र दलित लगायत समुदायका विपन्न परिवारलाई कृषि क्षेत्रमा व्यवसायिक बनाउने र आर्थिक उपार्जनको दिगो माध्यमका लागि औजार हस्तान्तरण गरिएको उहाँको भनाइ छ । प्रति किसानलाई २८ हजार ८ सय ८२ रुपैयाँ बराबरको कृषि औजार हस्तान्तरण गरेको रावलले बताउनु भयो ।
उहाँका अनुसार कृषि औजार पाएपछि तिलाका स्थानीय कृषक उत्साहित भएको बताउनुभयो । कृषि उपजको उत्पादन वृद्धि र लागत घटाउने उद्देश्यले कृषि औजार वितरण गरिएको हो । कृषकलाई परम्परागत खेती प्रणालीको विकल्पमा यान्त्रीकीकरण र आधुनिकीकरण गर्न अग्रसर बनाउने उद्देश्यले कृषि औजार वितरण गरिएको उहाँको भनाइ छ ।
कृषि औजारले आमा र बालबालिकाको पोषण अवस्थामा सुधार गर्ने तिला गाउँपालिका वडा नम्बर १ वडाध्यक्ष परवहादुर रावतले बताउनु भयो । उहाँका अनुसार कृषि औजारले महिलालाई कृषि खेतीमा सहजता हुने बताउनु भयो । कृषि औजारले काममा सहजता हुनुको साथै उत्पादनमा समेत वृद्धि हुने बताउनु भयो ।
वडाध्यक्ष रावतले कृषि औजारले तरकारी खेति गर्नको लागि सहज हुने जानकारी गराउनुभयो । वडाध्यक्ष रावतले औजारको अभावले तरकारी खेती गर्न नसकेका किसानको आवश्यकताई बुझेर औजार दिएकोमा सहयोगि दातालाई धन्यवाद दिनु भएको छ । अफसिजनमा तरकारी उत्पादनको औजार पाएकाले बाह्रै महिना तरकारी फलाउन सकिने उहाँले बताउनु भयो ।
किसानको आयआर्जन र जिवीकोपार्जनमा सहयोग पुग्ने वडाध्यक्ष रावतको भनाइ छ । किसानले उत्पादन गरेका कृषिवस्तुलाई बजारीकरण गर्न स्थानीय सरकारले सहयोग गर्ने उहाँले बताउनु भयो ।