युवा उद्यमीका रुपमा तिला गाउँपालिका परिचित – Karnali News

युवा उद्यमीका रुपमा तिला गाउँपालिका परिचित

 २८ मंसिर २०७८, मंगलवार ०८:२४  

नौरते नेपाली, मंसिर २९ जुम्ला
जुम्लाको आठवटा स्थानीय तह मध्ये तिला गाउँपालिका जुम्लाले युवाहरुलाई उद्यमसँग जोड्न सहुलियत कर्जा उपलब्ध गराउने कामको सुरुवात गरेको छ । बेरोजगार युवाहरुको आयआर्जन वृद्धि गर्नुका साथै जीविकोपार्जनमा सुधार गर्नको लागि युवाहरुलाई उद्यमसँग जोड्ने कामको सुरुवात गरेको हो ।

व्यवसायिक योजनाका आधारमा नबिल बैँकबाट तिला गाउँपालिका जुम्लाले उद्यमी युवाहरुलाई कर्जा उपलब्ध गराउन सहजीकरण गरेको छ । सहुलियत कर्जाका लागि १ सय ५० जना युवा छनोट भएपनि उद्यमी बन्ने धेरैले आकांक्षा राखेपछि १ सय ८७ जना युवा उद्यमीलाई ७ दिने तालिम दिएको तिला गाउँपालिका जुम्लाका अध्यक्ष रतननाथ योगीले बताउनु भयो ।

उद्यमीलाई वित्तीय साक्षरता, व्यवसाय, उद्यम सञ्चालन र सहुलियत कर्जा प्रक्रिया विषयमा तालिमबाट जानकारी गराईएको उहाँको भनाइ छ । अध्यक्ष योगिका अनुसार युवा उद्यमीले व्यवसायिक योजना बनाई नबिल बैँकमा पेश गरेमा सोहि आधारमा कर्जा पाउने बताउनु भयो । स्थानीय बेरोजगार, विदेश जान तयार रहेका र स्वदेशमै केही गर्न चाहाने युवाहरुका लागि तिला गाउँपालिकाले स्वरोजगार कार्यक्रम ल्याएको उहाँले बताउनु भयो ।

युवाहरुलाई गाउँमै उद्यमसिल बनाउने हिसाबले व्यवसायि योजनाका आधारमा कृषि क्षेत्रमा धितो सहित ५ करोड र विना धितो १५ लाखसम्म सहुलियतपूर्ण कर्जा दिने तयारी रहेको अध्यक्ष योगिले जानकारी दिनुभयो । गाउँपालिकाले सहुलियतपूर्ण कर्जाको लागि नबिल बैंकसँग सहकार्य गरेको उहाँको भनाइ छ ।

युवालाई उत्पादनशिल क्षेत्रमा खटाउनको लागि यस्तो कार्यक्रम अगाडी बढाइएको गाउँपालिका अध्यक्ष योगीको भनाइ छ । कोभिडले रोजगारी गुमाएर फर्किएका, नेपालमै पनि रोजगार गुमाएका, स्थानीय बेरोजगार, विदेश जान तयार रहेका र स्वदेशमै केही गर्न चाहाने युवालाई लक्षित गर्दै सहुलियत कर्जाको कार्यक्रम ल्याएको उहाँले बताउनुभयो ।

गाउँपालिकाले कृषि, पशुपालन र उद्योग क्षेत्रलाई प्राथामिकतामा राखेर सहुलियत कर्जा दिने छ । यस कार्यक्रमबाट युवाहरु गाउँमै स्वरोजगार बन्ने, कृषि उपजको अभाव नहुने र सबै युवाहरु उत्पादनशिल क्षेत्रमा खटिने आशा रहेको अध्यक्ष योगीको भनाइ छ । हाम्रो मुख्य उद्देश्य कृषिलाई व्यवसायीकरण, औद्योगिक क्षेत्रको प्रर्वद्धन र युवालाई गाउँमै रोजगार दिने हो उहाँले भन्नुभयो ।

गाउँपालिकाले ल्याएको कार्यक्रममा धेरै युवाहरु उत्साहित बनेका छन् । यस कार्यक्रमले कृषिलाई व्यावसायीकरण, औद्योगिक क्षेत्रको प्रर्वद्धन, युवालाई गाउँमै रोजगार र गाउँपालिकालाई समृद्धतर्फ लैजाने प्रमुख प्रसाशकिय अधिकृत मीनवहादुर रावलले बताउनु भयो । युवालाई उद्यमशिल बनाउन सहुलियत कर्जा दिने गाउँपालिकाको मुख्य उद्देश्य रहेको उहाँको भनाइ छ ।

कोभिड–१९ ले रोजगारी गुमाएपछि भारत लगायत तेस्रो मुलुकमा रहेका धेरै युवाहरु अहिले गाउँ फर्किएका छन् । विदेशमा सिकेको सीपलाई आफ्नै गाउँठाउँमा प्रयोग गरी स्थानीय स्तरमै रोजगारी उपलब्ध गराउने कार्यक्रमको मुख्य उद्देश्य रहेको रावलले बताउनु भयो । नबिल बैँकका सुदिप शाक्यले राजधानीका ठुला व्यवसायलाई मात्रै नभइ ग्रामिण क्षेत्रका युवा उद्यमीलाई कर्जा उपलब्ध गराउन बैँक तयार रहेको बताउनु भयो ।

उहाँका अनुसार उद्यमीको साथमा बैँक रहेकाले व्यवसायिक योजनाका आधारमा लगानी गर्न बैँक तयार रहेको बताउनु भयो । बँैकले हालसम्म ६ अर्ब बढी कर्जा लगानी गरेको भन्दै शाक्यले व्यवसायिक कृषिमा ५५ प्रतिशत र महिला उद्यमी क्षेत्रमा ४० प्रतिशत कर्जा लगानी भएको जानकारी गराउनु भयो ।

युवा उद्यमीको तालिम लिनु भएका तिलाका कमल प्रसाद चौलागाईले युवाहरुलाई रोजगारी हुने बाटो गाउँपालिकाले देखाएको बताउनुभयो । युवाका लागि तिला गाउँपालिकाले आत्मनिर्भर हुने बाटो देखाएको भन्दै उहाँले उद्यमी थलोको रुपमा तिला परिचित भएको बताउनुभयो । अर्का युवा दुर्गा रोकायाले भुमरिमा अल्झेका युवाहरुलाई सहि गन्तव्यमा हिडाउन गाउँपालिकाले सिकाएको बताउनु भयो ।

उद्यमसँग जोडिएर अब आत्मनिर्भर र आर्थिक क्रान्तिमा जोडिने सपना रहेको उहाँले सुनाउनु भयो । गाउँपालिकाले युवाहरुलाई समृद्ध र उद्यमी बनाएकोमा रोकायाले धन्यावद प्रकट गर्नुभयो । युवाहरुको जीवन रुपान्तरणसँगै आर्थिक क्रियाकलापमा जोड्ने काम गाउँपालिकाले गरेको उहाँको भनाइ छ ।