सर्मिमा ट्रस पुल निर्माण, स्थानीयलाई आवतजावतमा सहज – Karnali News

सर्मिमा ट्रस पुल निर्माण, स्थानीयलाई आवतजावतमा सहज

 २२ मंसिर २०७८, बुधबार १८:४१  

नौरते नेपाली, मंसिर २२ जुम्ला
जुम्लाको तातोपानी गाउँपालिका वडा नम्बर ७ सर्मिमा निर्माण भएको ट्रस पुलको उद्घाटन गरिएको छ । सर्मि, मानेचौर, तल्लो खोप्डि, माथिल्लो खोप्डि र बेनि लगायतका गाउका स्थानीयलाई यात्रामा सहजता गर्नको लागि पुल निर्माण गरिएको हो । उक्त पुल निर्माण योजनाको नाम मसनताडा हो ।

झण्डै आदा दर्जन भन्दा बढी गाउँका नागरिकलाई आवत जावतमा सहज भएको पुर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख रुपक रावलले बताउनु भयो । कर्णाली प्रदेश सरकारको सहयोग, पुर्वाधार विकास कार्यालय जुम्लाको सहजीकरण र तातोपानी गाउँपालिका जुम्लाको समन्वयमा सर्मिमा ट्रस पुल निर्माण गरिएको हो ।

रावलका अनुसार गत आर्थिक वर्षको अन्तिम तिरबाट काम सुरु भएको बताउनु भयो । गएको जेठ महिनाबाट सुरु भएको क्रमागत योजनाको काम बिचमा कोरोनाले गर्दा सामान ढुवानीमा ढिला भएको बताउदै उहाँले नत्र केहि समय अगाडि नै सम्पन्न भइ सक्ने बताउनु भयो । कार्तिक महिनामा आएको बाढीले पुलको स्काभोल्डिङ (सपोर्ट) र केहि ग्याबिन बगाएकाले अझै निर्माण कार्य ढीलो भएको उहाँले बताउनु भयो ।

भेरीखोलामा आएको बाढीले पुलको भाग केहि तल झरेको थियो । स्थानीय तह र नागरिकको सहयोगले पुन निर्माण सम्पन्न भई पुलको उद्घाटन भइ सकेको रावलले जानकारी गराउनु भयो । ३३ लाख ३६ हजार ४ सय ९९ रुपैयाको लागतमा पुलको निर्माण कार्य सम्पन्न भएको हो । त्यसमा ६६ हजार ७ सय ३० रुपैया स्थानीयले जनश्रमदान गरेका छन् ।

प्रदेश सरकारले ३२ लाख ६९ हजार ७ सय ६९ रुपैयाँ सहयोग गरेको रावलले बताउनु भयो । विकट वस्तीका नागरिकको आवत जावतमा सहज गर्नको लागि सर्मिमा ट्रस पुल निर्माण भएको रावलले बताउनु भयो । तातोपानी गाउँपालिका जुम्लाका अध्यक्ष नवराज न्यौपानेले नागरिकको यात्रामा सहज गर्न पुल निर्माण भएको बताउनु भयो ।

भेरी खोलाको नदि माथि निर्माण गरिएको अस्थायी र काठको पुलबाट आवत जावत गर्दा स्थानीयले जोखिम खेपेको उहाँको भनाइ छ । अध्यक्ष न्यौपानेले नागरिकलाई सहज र ढुक्कका साथ यात्रा गर्न सजिलो होस भनेर पुलको निर्माण भएको बताउनु भयो ।