महिनावारी सम्बन्धीको नीतिगत व्यवस्थाका बारेमा स्थानीय तहमा छलफल शुरु – Karnali News

महिनावारी सम्बन्धीको नीतिगत व्यवस्थाका बारेमा स्थानीय तहमा छलफल शुरु

 २२ मंसिर २०७८, बुधबार १७:३७  

कृष्णमाया उपाध्याय, मंसिर २२ जुम्ला
जुम्लाको कनकासुन्दरी गाउँपालिका र सिंजा गाउँपालिकामा महिनावारी सम्बन्धीका नीतिगत व्यवस्था र महिनावारी सम्बन्धीको परम्परागत अवधारणा र अहिले भइरहेको परिवर्तनको विषयमा छलफल शुरु भएको छ । प्लान इन्टरनेशनल नेपालको साझेदारीमा पेस नेपाल जुम्लाको खानेपानी सरसफाई तथा स्वस्च्छता उत्थान शिलता परियोजना मार्फत स्थानिय तहमा छलफल शुरु भएको हो ।

महिनावारी भइसकेपछि महिला तथा किशोरीहरुले आनी बानी परिवर्तको लागि गरि रहेको अभ्यासको विषयमा जानकारी लिनुका साथै यस सम्बन्धी नेपाल सरकारले बनाएका ऐन, कानुनको कार्यान्वयनको अवस्थाका विषयमा जानकारी गराउने उद्देश्यले यो कार्यक्रम शुरु भएको खानेपानी सरसफाई तथा स्वस्च्छता उत्थान शिलता परियोजनाका कार्यक्रम संयोजक हरिचन्द्र शर्माले जानकारी दिनुभयो ।

उक्त कार्यक्रम अन्तर्गत कनकासुन्दरी गाउँपालिकाको कनकासुन्दरी माध्यामिक विद्यालय लुड्कु र सिंजा गाउँपालिकाको भैरव माध्यमिक विद्यालय नराकोटमा महिनावारी सचेतना तथा स्वच्छता सम्बन्धी किशोरी, महिला स्वास्थ्य स्वयम सेविका, महिला समूह, शिक्षक, शिक्षिका र उक्त पालिकाका स्थानीय तहका सरोकारवाला निकायहरुसँग छलफल गरिएको हो ।

उक्त छलफल कार्यक्रमको सजहजीकरण बिबिसी नेपाली सेवाका जुम्ला संवादाता कृष्णमाया उपाध्यायले गर्नु भएको थियो । उक्त कार्यक्रममा बोल्दै भैरव माध्यामिक विद्यालयमा अध्ययनरत छात्रा पार्वती चौलागाँइले पछिल्लो समयमा महिनावारी भएपछि सरसफाईमा ध्यान दिनुका साथै खानपानमा समेत ध्यान दिन थालेको बताउनु भयो ।

उहाँले स्यानिटरी प्याटको प्रयोग र व्यवस्थापनको विषयमा हामीले धेरै पटक जिल्लामा रहेका सरकारी तथा गैरसरकारी निकायहरुको सहयोगमा तालिम पाएपछि सजिलो भएको बताउनु भयो । म मात्रै नभएर मेरा उमेरका सबै साथीहरुले भित्री कपडाको प्रयोगको विषयमा जानकारी पाएको हुनाले अरुलाई पनि जानकारी दिन सहज भएको उहाँको भनाइ छ ।

उक्त कार्यक्रम समापनको क्रममा बोल्दै सिंजा गाउँपालिका उपाध्यक्ष जन्मकन्या खत्रीले महिनावारी हुने उमेर समूहका विद्यालयमा अध्ययनरत छात्राहरुको लागि हरेक वर्ष स्यानिटरी प्याटको लागि बजेटको व्यवस्था भएको हुनाले आफुले पाए नपाएको विषयमा जानकारी गराउन छात्राहरुलाई आग्रह गर्नु भएको थियो ।

आगामी दिनमा यस सम्बन्धी बनेका ऐन, कानुनको विषयमा स्थानीय तहले गाउँगाउँमा सचेतनामूलक कार्यक्रम गर्नको लागि पहल गर्ने प्रतिबद्धता समेत गर्नु भएको छ ।

छफफल कार्यक्रममा स्वास्थ्य संयोजक, शिक्षा संयोजक, महिला स्वास्थ्य स्वयम सेविका, किशोरीहरु र स्थानीय स्तरमा बनाइएका महिलदा समुहहरुको सहभागितामा सिंजा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकामा छलफल भएको थियो । अगामी दिनमा यस्ता कार्यक्रमलाई विस्तार गर्दै लैजाने योजना रहेको कार्यक्रममा सहभागी सरोकारवाला निकायहरुले बताएका छन् ।