एमबिबिएस कार्यक्रम उद्घाटन गर्न राष्ट्रपति भण्डारी जुम्ला आउदै – Karnali News

एमबिबिएस कार्यक्रम उद्घाटन गर्न राष्ट्रपति भण्डारी जुम्ला आउदै

 १९ मंसिर २०७८, आईतवार १८:५१  

नौरते नेपाली, मंसिर १९ जुम्ला
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले सुरु गर्न लागेको एमबिबिएस र ब्याचुलर लेभलका कार्यक्रम उद्घाटन गर्न राष्ट्रपति विद्यादेवि भण्डारी जुम्ला आउनु हुने भएको छ । मंसिर २६ गतेका दिन राष्ट्रपति जुम्ला आउने प्रतिष्ठानका उपकुलपति डाक्टर मंगल रावलले बताउनु भयो । राष्ट्रपति जुम्ला आउने कार्यक्रम फिक्स भइ सकेको उहाँको भनाइ छ ।

बहुप्रतिक्षित एमबिबिएस र ब्याचुलर लेभलका कार्यक्रमकाहरु राष्ट्रपतिको हातबाट उद्घाटन हुने उहाँको भनाइ छ । एमबिबिएस पढ्न जुम्ला आएकाहरुसँग कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले परिचयात्मक कार्यक्रमको सुरु गरेको छ । मंसिर १९ गतेबाट प्रतिष्ठानले एमबिबिएस पढाई सुरु गर्ने भनेको थियो ।

मौसम प्रतिकुलताको कारणले एमबिबिएस पढ्न आउने विद्यार्थी आउनेक्रम जारी भएकाले आईतबारका दिन प्रतिष्ठानमा आएकाहरुसँग परिचयात्मक कार्यक्रम भएको प्रतिष्ठान जुम्लाका रजिष्ट्रार नृपेन्द्र महतले बताउनु भयो । उहाँका अनुसार २० जनाको कोटा मध्ये १७ जना विद्यार्थी एमबिबिएस पढ्नको लागि भर्ना भइ सकेको जानकारी गराउनु भयो ।

मंसिर २६ गतेका दिन राष्ट्रपति विद्यादेवि भण्डारीबाट एमबिबिएस लगायतका ब्याचुलेर लेभलका कार्यक्रमहरु औपचारिक रुपमा उद्घाटन गर्ने तयारी भएको महतको भनाइ छ । राष्ट्रपतिको हातबाट एमबिबिस लगायतका ब्याचुलर लेभलका कार्यक्रम उद्घाटन गराएपछि नियमित रुपमा पढाई सुरु हुने उहाँको भनाइ छ ।

एमबिबिएस पढ्नको लागि भर्ना भएकाहरु जुम्ला आउने क्रम जारी रहेकाले २७ गतेका दिनबाट औपचारिक रुपमा पढाई सुरु हुने रजिष्ट्रार महतले जानकारी गराउनु भयो । कर्णालीको जुम्लालाई मेडिकल हब बनाउने ढोका खुलेको उहाँको भनाइ छ । प्रतिष्ठानमा एमबिबिएस र ब्याचुलर लेभलका कार्यक्रम सञ्चालनले गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षा सुनिश्चित गर्न थप सहयोग पुग्ने विश्वास गरिएको उहाँले बताउनु भयो । कर्णालीको स्वास्थ्य क्षेत्रमा नयाँ युगको सुरुवात भएको महतको भनाइ छ ।