
मंसिर ४ जुम्ला
कामकाज रोग लगाउने सरकारको निर्णय उच्च अदालत पाटनले उल्ट्याई दिएपछि नियमित काममा फर्किनु भएका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावल, रजिष्ट्रार नृपेन्द्र महत र डीन डा रमेश भट्टराई लगायतका टोलीलाई शुक्रबार जुम्लामा भव्य स्वागत गरिएको छ ।
हवाई मार्ग हुँदे दिउसो एक बजे जुम्ला एयरपोर्ट पुग्नुका उनीहरुलाई स्थानीय तथा प्रतिष्ठानका कर्मचारीहरुले भव्य स्वागत गरेका हुन् । एयरपोर्टमा ओर्लने वित्तिकै उनीहरुलाई फुलमाला अविर खादा लगाइदिएर बाजागाजा सहित नगरपरिक्रमा गराउँदै प्रतिष्ठानको मुख्यालयमा पु¥याइएको थियो ।
‘खासगरी भर्खरै बामे सर्दै गरेको प्रतिष्ठानको विकासमा भाजो हाल्ने गरी सरकार लागेको थियो । त्यसलाई उच्च अदालतले गलत सावित गरिदियो । अहिलेका पदाधिकारीहरुकै जोडबलमा नयाँ कार्यक्रमहरु आइरहेको थियो । तर राजनीति दाउपेचमा अस्थिर बनाउन खोजिदै थियो । अदालतले त्यसलाई सच्याएको छ ।
त्यसैले पनि यो हामीसबैको लागि खुशीको कुरा हो,’ स्वागत गर्न एयरपोर्ट पुगेका एक जना सहभागीले भने । उपकुलपति डा. रावलले अब प्रतिष्ठानले थप उचाईका साथ अघि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो बीचमा केही डिस्टर्व होला जस्तो भएको थियो । तर अब हामी आयौँ । नियमित रुपमा हाम्रा कार्यक्रमहरु अघि बढ्छन् ।
तोकिएको समयमै हामीले एमबीबीएस लगायत नयाँ कार्यक्रमहरु सुरु गर्दैछौँ । प्रतिष्ठानका डीन डा. भट्टराईले १९ मंसिर देखि जुम्लामा एमबीबीएस लगायतका कार्यक्रमहरु सञ्चालन हुने बताउनु भयो । उहाँले एमबीबीएसमा १५ जना पूर्ण छात्रवृत्ति र पाँच जना शुल्क तिरेर अध्ययन गर्ने जानकारी दिनुभो । प्रतिष्ठानले ३०० शय्याको अस्पताल समेत सञ्चालनमा ल्याइसकेको छ ।