
एनिसा हमाल, कार्तिक २९ जुम्ला
शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको जिल्ला समन्वय समिति गठन गरिएको छ । ग्रामिण परिवेश नेपाल जुम्लाका मेघराज न्यौपानेको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको हो । जसमा सह–संयोजकमा रेडियो माउन्टे एफएमका एनिसा हमाल, सचिवमा रेडियो कर्णालीका कार्यक्रम संयोजक नौरते नेपाली र कोषाध्यक्षमा नासो अनलाइनका सपना रावत सहित ११ सदस्यीय समिति गठन गरिएको हो ।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका कार्यक्रम व्यवस्थापक राम गैरेले यस अभियानको लक्ष्य र उद्देश्यका बारेमा जानकारी दिनुभएको थियो । उहाँका अनुसार शिक्षा नीतिको एकिकृत र व्यवस्थित विकासका लागि वहस पैरवी गर्ने, सबैका लागि गुणस्तरिय, समावेशी, समातामुलक र जीवनोपयोगि शिक्षाका पक्षमा बहस र पैरवी गर्ने उद्देश्य रहेको बताउनु भयो ।
निःशुल्क र गुणस्तरीय शिक्षा संभव भएकाले सबै नागरिकको पहुँचमा अनिवार्य शिक्षा हुनु पर्ने उहाँले बताउनु भयो ।समसामयिक शैक्षिक मुद्दाहरुमा अध्ययन अनुसन्धान गर्ने र कार्यान्वयनका लागि कार्यक्रमहरु निर्माण गर्ने, शैक्षिक मुद्दाहरुको प्रचार प्रसार र प्रवद्र्धनका लागि अन्तरक्रिया, कार्यशाला, परामर्श, गोष्ठी, सञ्जालीकरण, सहकार्य तथा संवाद गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा एक शसक्त सञ्जालका रुपमा सुदृढ गर्ने यसको मुख्य उद्देश्य रहेको कार्यक्रम व्यवस्थापक गैरेले बताउनु भयो ।
शिक्षा क्षेत्रको नीतिगत विकास र कार्यान्वयनको अवस्थालाइ सुदृढ गर्दै विपन्न बालबालिकाहरुको शसक्तिकरणका लागि नीतिगत पैरवी, सरोकारवालाको क्षमता र ऐक्यवद्धता अभिवृद्धि, सूचना प्रवाह र स्रोत परिचालन लगायतका कार्यहरुमा सहजीकरण गर्ने परिकल्पना रहेको उहाँले बताउनु भयो । शिक्षाका माध्यमबाट प्रत्येक नागरिकको सशक्तिकरण गर्दै समावेशी र शान्तिपूर्ण समाज र नागरिकको सर्वोपरी हितका निमित्र क्रियाशिल रहेर काम गर्ने पनि उहाँले बताउनु भयो ।
यस्तै शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका कोषाध्यक्ष टिकाराम आचार्यले समिति गठन गर्नुको उद्देश्य र यसले गर्नुपर्ने कामका बारेमा जानकारी गराउनु भएको थियो । निःशुल्क र अनिवार्य शिक्षा सम्भव छ भन्ने कुरालाइ आत्मसात गर्दै यो अभियानले काम गर्ने उहाँले बताउनु भयो । कर्णाली प्रदेशमा ४ दशमलब २७ प्रतिशत मात्र बजेट शिक्षा क्षेत्रमा छुट्याएको उहाँले बताउनु भयो ।
अबका दिनमा शिक्षामा काम गर्ने विभिन्न संघ संस्था र सरोकारवाला निकायसंघ सहकार्य गरेर शिक्षा क्षेत्रमा काम गर्ने उहाँले बताउनु भयो । जुम्लामा गठन भएको यो समितिले जुम्लाका शिक्षा क्षेत्रका समस्यालाइ कसरी उठाउन सकिन्छ र समाधान कसरी गराउन सकिन्छ भन्ने कुरामा जोड दिनुपर्ने उहाँले बताउनु भयो ।
समावेशी र समानुपातिक आधारमा शिक्षालाई जोड दिनु पर्ने उहाँको भनाइ छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका कर्णाली प्रदेश संयोजक तुलाराम पाण्डेले स्थानीय स्तरमा शैक्षिक नीतिमा निःशुल्क र अनिवार्य शिक्षाको कुरा समावेश गरिनु पर्ने बताउनु भयो । निःशुल्क गुणस्तरीय र सार्वजनिक शिक्षा सम्भव छ भन्ने मुल उद्देश्य रहेको उहाँले सुनाउनु भयो ।
नयाँ कार्य समितिले एनसिई नेपालको विधान वमोजिम आगामी ३ बर्ष कार्यकालका रहने उहाँले जानकारी गराउनु भयो ।