पार्टी फुटले खासै असर नगरेको एमालेको दावी – Karnali News

पार्टी फुटले खासै असर नगरेको एमालेको दावी

 २६ कार्तिक २०७८, शुक्रबार १७:०४  

नौरते नेपाली, कार्तिक २६ जुम्ला
नेकपा एमाले जुम्लाले ६० वटै वडा कमिटी, नगर र गाउँपालिका स्तरीय कमिटी सर्वसहमत ढंगले चयन गरेको बताएको छ । शुक्रबारका दिन एक प्रेस विज्ञप्ती जारी गर्दै नेकपा जुम्लाले यस्तो जानकारी गराएको हो ।

७ सय ५१ महिला र २ हजार ४ सय ४५ जना पुरुष गरि जम्मा ३ हजार १ सय ९६ जना संगठीत सदस्यहरुबाट व्यापक छलफल गरि संगठित सदस्यको आधारमा २२ प्रतिशत महिला, १३ प्रतिशत दलित, खुल्ला र समावेशी गरि १५ संगठित सदस्य बराबर एक जना जिल्ला प्रतिनिधि छनौट भएको नेकपा एमाले प्रचार विभाग मुल व्यवस्थापन समितिका प्रमुख सुमन आचार्यले बताउनु भयो ।

उहाँका अनुसार २ सय २५ जना सदस्य जिल्ला प्रतिनिधिमा छनौट भएको जानकारी गराउनु भयो । सबै ठाउँमा नेकपा एमाले जुम्लाले जनवर्गिय संगठन निर्माण गरि आगामी निर्वाचनमा विजय हासिल गर्ने गरि अगाडि बढेको उहाँको भनाइ छ । मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने दशैँ केन्द्रिय महाधिवेशनमा जुम्लाबाट ७ जना प्रतिनिधि जाने भएका छन् ।

खुल्लाबाट ४, महिला २ र १ जना दलित प्रतिनिधिले महाधिवेशनमा भाग लिने आचार्यको भनाइ छ । पार्टी फुटले खासै असर नगरेको भन्दै उहाँले राष्ट्रियता र जनजीविकाको सवालमा पार्टीलाई उत्साह तुल्याएको जानकारी गराउनु भयो । वडा स्तरको कमिटी गठनमा नेकपा एमालेका कार्यकर्ताहरुको उल्लेख्य उपस्थित रहेको उहाँले जानकारी गराउनु भयो ।

सबै खाले बैचारिक विचलन विरुद्ध संघर्ष गर्दै फेरि पनि कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्ने ऐतिहासिक अभिभारा एमालेका काँधमा आएको उहाँले बताउनु भयो । आचार्यका अनुसार गठनबन्धन भएपश्चात वर्तमान सरकार संवैधानिक व्यवस्थामा झन कमजोर हुँदै गएको बताउनु भयो ।

एमाले नेतृत्वको सरकारले गरेको विकास निर्माण र जनपक्षिय कामहरुलाई उल्ट्याएर विनियोजित बजेट कटौति गरेको प्रेस विज्ञप्तीमा लेखिएको छ । नेकपा एमाले विभाजनका लागि असंवैधानिक हर्कतका साथै संवैधानिक निकायहरुलाई दुरुपयोग समेत गरिएको आरोप एमालले लगाएको छ ।

मुलुकलाई अस्थिरतातर्फ धकेल्दै वर्तमान सरकारले सवत्र विसंगतीको संस्कारको विकास गराएको एमाले जुम्लाले जारी गरेको विज्ञप्तीमा भनिएको छ । राजनीतिक स्थायित्वका लागि ताजा जनादेश भन्दा अर्काे कुनै विकल्प नभएको नेकपा एमाले जुम्लाका अध्यक्ष शान्तिलाल महतले बताउनु भयो ।

उहाँका अनुसार दशैँ महाधिवेशनले तिनै तहका निर्वाचनमा नेकपा एमालेलाई लोकप्रिय बहुमत हासिल गर्न सम्बद्ध पार्टीपंक्तिलाई ऊर्जा पैदा गर्ने विश्वास व्यक्त गर्नुभयो । नेकपा एमालेको प्रथम विधान महाधिवेशनले व्यवस्था गरे अनुसार जिल्ला कमिटीमा ८० जना रहेको उहाँको भनाइ छ ।

अध्यक्ष महतका अनुसार निर्वाचान क्षेत्र (क) बाट १५ र (ख) बाट १५ गरि जम्मा ३० जना र अन्य ५० जना गरि ८० सदस्यीय जिल्ला कमिटी रहेको जानकारी गराउनु भयो । यस्तै १ सय ४९ सदस्यीइ आयोजक कमिटी रहेको उहाँको भनाइ छ । प्रत्येक वडामा ३१ सदस्यीय, नगर र गाउँपालिकामा ७५ सदस्यीय कमिटी रहेको महतले जानकारी गराउनु भयो ।

मुल व्यवस्थापन समितिका संयोजक जयवहादुर खत्रीले नेकपा एमालेको केन्द्रिय महाधिवेशनका लागि प्रतिनिधि छनौटको सबै तयारी पुरा भएको बताउनु भयो । सबै वडा, गाउँ र नगरमा सर्वसहमतिका आधारमा नेतृत्व चयन भएको खत्रीले बताउनु भयो । शनिबारका दिन उद्योग वाणिज्य संघ जुम्लाको हलमा हुने प्रतिनिधि छनौट कार्यक्रममा उपस्थितका लागि उहाँले आग्रह पनि गर्नु भएको छ । नेकपा एमाले प्रति जनलहर बढ्दो क्रममा रहेको खत्रीले बताउनु भयो ।