भलिबल प्रतियोगिताको टाइसिट प्रकाशन – Karnali News

भलिबल प्रतियोगिताको टाइसिट प्रकाशन

 २४ कार्तिक २०७८, बुधबार १७:०१  

नौरते नेपाली, कार्तिक २४ जुम्ला
जिल्ला स्तरीय खुल्ला भलिबल प्रतियोगिताको टाइसिट प्रकाशन गरिएको छ । कार्तिक २५ गते अर्थात विहिबारका दिनबाट गुठीचौर गाउँपालिकाको झारज्वालामा हुने प्रतियोगिताको टाइसिट प्रकाशन गरिएको हो । पत्रकारहरुको रोहोबरमा टाईसिट प्रकाशन गरिएको जिल्ला खेलकुद विकास समिति जुम्लाले जनाएको छ ।

मुख्य रेफ्रि हरिलाल महतको नेतृत्वमा टाइसिट प्रकाशन गरिएको हो । विहिबारको दिन उद्घाटन पछि पुरुष तर्फ पातारासि र तातोपानी गाउँपालिका बिच पहिलो खेल हुने आयोजकले जनाएको छ । जिल्ला खेलकुद विकास समितिले प्रकाशन गरेको टाइमसिटका आधारमा खेलहरु नियमित हुने बताईएको छ ।

दोस्रो खेल पातारासि वा तातोपानीबाट विजयी भएको टीमले कनकासुन्दरी गाउँपालिकाको टीमसँग प्रतिस्पर्धा गर्ने रेफ्रि हरिलाल महतले जानकारी गराउनु भयो । तेस्रो खेल कनकासुन्दरी गाउँपालिबाट विजयी भएको टीमले तिला गाउँपालिकाको टीमसँग प्रतिस्पर्धा गर्ने उहाँको भनाइ छ । क पोल र ख पोलबाट विजेता भएको टीमका बिच फाइनल खेल हुने महतले बताउनु भयो ।

यस्तै महिला तर्फको पहिलो खेल तातोपानी र पातारासि गाउँपालिकाका बिच हुने भएको छ भने दोस्रो खेल गुठीचौर गाउँपालिका र तिला गाउँपालिकाका बिच हुने रेफ्रि महतको भनाइ छ । उहाँका अनुसार फाइनल खेल क पोलको विजेता र ख पोलका विजेता बिच हुने जानकारी गराउनु भयो । नकआटका आधारमा खेलहरु संचालन उहाँको भनाइ छ ।

पुरुष तर्फ ६ वटा र महिला तर्फ ४ वटा टीमले भाग लिएका छन् । चन्दननाथ नगरपालिका र सिंजा गाउँपालिकाले प्रतियोगितामा भाग नलिएको जिल्ला खेलकुद विकास समिति जुम्लाका अध्यक्ष धनकृष्ण पाण्डेले जानकारी गराउनु भयो । पहिलो पटक सदरमुकाम बाहिर आयोजना हुने प्रतियोगितालाई निष्पक्ष र विवाद रहित ढंगले खेल संचालन गरि दिन उहाँले मुख्य रेफ्रि महतलाई आग्रह गर्नु भएको छ ।

प्रतियोगिताबाट टीम छनौट नभइ खेलाडि छनौट हुने भएकाले मैदानमा उत्रिदा अनुशासित भएर खेल प्रर्दशन गर्न पनि उहाँले खेलाडिहरुलाई अनुरोध गर्नु भएको छ । खेलाडिको पहिचान अनुशासन भएकाले भाँडभैलो गर्ने खेलाडिलाई निस्कासन गरिने समेत उहाँले चेतवानी दिनु भएको छ ।

मर्यादित भएर खेल प्रर्दशन गर्न अध्यक्ष पाण्डेले अनुरोध गर्नु भएको छ । खेल भइरहेको क्षेत्रमा मदिरा सेवन गरि होहल्ला गर्नेलाई प्रहरीको जिम्मा लगाइने उहाँको भनाइ छ । अध्यक्ष पाण्डेका अनुसार जिल्ला खेलकुद विकास समिति जुम्लाको आयोजना र गुठीचौर गाउँपालिकाको सहआयोजनामा पहिलो पटक सदरमुकाम बाहिर मुख्य मन्त्री कपको खुल्ला भलिबल प्रतियोगिता हुन लागेको बताउनु भयो ।

जिल्ला खेलकुद विकास समिति जुम्लाले पहिलो पटक जिल्ला बाहिर भलिबल प्रतियोगिता गरेको सदस्य सचिव संगीता आचार्यले बताउनु भयो । संघियता कार्यान्वयनको अभ्यास गर्नको लागि गुठीचौर गाउँपालिकामा पहिलो पटक खुल्ला भलिबल प्रतियोगिता हुने उहाँको भनाइ छ । आचार्यका अनुसार पुरस्कारमा मात्रै १ लाख ७० हजार भन्दा बढी खर्च हुने बताउनु भयो ।

महिला र पुरुषको समूहलाई प्रथम पुरस्कार रासी ५० हजार र द्धितिय पुरस्कार रासी ३५ हजार सहित मेडल दिइने आचार्यको भनाइ छ । प्रतियोगिताबाट समूह छनौट गर्ने नभइ त्यहाँ भित्रका उत्कृष्ट खेलाडि छनौट गर्न प्रतियोगिताको आयोजना गरिएको उहाँले बताउनु भयो । सदस्य सचिव आचार्यका अनुसार छनौट भएका खेलाडिहरुलाई एक महिनासम्म आन्तरिक प्रशिक्षण दिइने जानकारी गराउनु भयो ।

जुम्लामा लामो समयदेखि भलिबल प्रतियोगिता नभएको हुनाले जुम्लाका खेलाडि पहिचान गर्न पनि यसले सहयोग गर्ने आशा राखिएको उहाँको भनाइ छ । नकाउटका आधारमा खेलहरु हुने भएकाले कार्तिक २५, २६ र २७ गतेका दिनसम्म प्रतियोगिता हुने उहाँले बताउनु भयो । प्रतियोगितामा सहभागि हुने खेलाडिहरुको खर्च स्थानीय सरकारले स्वयम व्यहोर्नु पर्ने आचार्यको भनाइ छ ।

प्रथम र द्धितिय हुने टीमलाई नगद पुरस्कार र मेडल बाँहेक अन्य खर्च जिल्ला खेलकुखद विकास समितिले दिन नसक्ने उहाँले स्पष्ट पार्नुभयो । सदरमुकाम बाहिर पहिलो पटक गर्न लागिएको प्रतियोगितामा सुरक्षाको चुनौति हुने उहाँको भनाइ छ । जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायसँग मजबुद हिसाबले सुरक्षाको प्रबन्धको लागि आग्रह गरिएको उहाँले जानकारी गराउनु भयो ।

प्रतियोगितालाई भव्य र सभ्य हिसाबले सफल गर्नको लागि गुठीचौरका स्थानीयको महत्वपूर्ण भूमिका रहने सदस्य सचिव आचार्यले बताउनु भयो । जिल्लाको खेल क्षेत्रको विकास र प्रवद्र्धनका लागि प्रतियोगिता कोशेढुङ्गा सावित हुने अपेक्षा जिल्ला खेलकुद विकास समितिले लिएको छ । सदरमुकाम केन्द्रित प्रतियोगितामा विवाद बढी हुने भएकाले यो पटक परिक्षणका लागि पनि सदरमुकाम बाहिर खेल संचालन गर्न लागिएको हो ।