चन्दननाथ बहुउद्देश्यि सहकारीको नयाँ अर्गानिक पसल – Karnali News

चन्दननाथ बहुउद्देश्यि सहकारीको नयाँ अर्गानिक पसल

 १७ कार्तिक २०७८, बुधबार १५:४१  

नौरते नेपाली, कार्तिक १७ जुम्ला
चन्दननाथ बहुउद्देश्यि सहकारी संस्थाले नयाँ अर्गानिक पसल संचालन गरेको छ । स्थानीय बालीको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले नयाँ अर्गानिक पसल संचालन गरेको सहकारीका सदस्य सचिव ऋषिराम पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला प्रशासन कार्यालय जुम्लाको नयाँ भवनको सटर पाँच वर्षका लागि लिजमा लिएर अर्गानिक पसल संचालन गरिएको बताउनु भयो ।

तिन वर्ष पहिले सुर्खेतमा पनि सहकारीले अर्गानिक पसल संचालन गरेको थियो । अहिले पनि सुर्खेतमा पसल चलि रहेको उहाँले जानकारी गराउनु भयो । जुम्लाको अर्गानिक वस्तुलाई आन्तरिक तथा बाह्य बजारसम्म पुराउने सहकारीको लक्ष्य रहेको छ । रैथाने बालीको पहिचान र प्रवद्र्धनको लागि सहकारीले बचत संकलन देखि अर्गानिक वस्तुको विक्रि गर्दै आएको उहाँको भनाइ छ ।

जुम्लाका सबै रैथानी बालीको बजारीकरण र संरक्षणमा अर्गानिक पसलले प्रचार प्रशारको काम गरेको सदस्य सचिव पाण्डेले बताउनु भयो । जुम्लाका किसानहरुले उत्पादन गरेका अर्गानिक वस्तु सहकारीले सुपथ मूल्को पसलमा राखेको छ ।

सिमि कालो १ सय ८०, सिमि रातो १ सय ६०, सिमि मिस्कट १ सय ६०, मार्सीचामल १ सय ६०, ओखर प्रति प्याकेट ९०, स्याउका चाना प्रति प्याकेट १ सय, जिम्बो प्रति प्याकेट १ सय, टिमुर प्रति प्याकेट १ सय, चिनाको मुर्री प्रति केजी २ सय, फापरको पिठो प्रतिकेजी २ सय ५०, फापरको दाना प्रतिकेजी ८०, कोदोको पिठो प्रतिकेजी १ सय ५०, कोदोको दाना प्रतिकेजी ८० र अर्गानिक चियापति प्रति प्याकेट ३ सय रुपैयाँमा विक्रि भइ रहेको उहाँको भनाइ छ ।

सदस्य सचिव पाण्डेका अनुसार जौँ प्रति केजि ४०, भट्मास सेतो प्रतिकेजी १ सय ८०, भट्मास कालो २ सय, गहत प्रतिकेजी २ सय ५०, गुराउँस प्रतिकेजी २ सय ५०, कला प्रतिकेजी १ सय ८०, सिमिको दाल प्रतिकेजी १ सय ७५, खरायोको टोपी प्रति पिस ३ हजार ५ सय, उनको टोपी प्रतिपिस २ हजार ५ सय, उनको कालो टोपी प्रतिपिस १ हजार ३ सय, उनको गलबन्दि प्रतिपिस १ हजार ६ सय ५०, कोटे कपडा पाखो प्रतिपिस ८ हजार, राडीपाखी प्रतिपिस ५ हजार, कालो काम्लो ५ हजार ५ सय र लिउ प्रतिपिस ८ हजार ५ सयमा विक्रि गर्दै आएको उहाँले जानकारी गराउनु भयो । अर्गानिक वस्तुको माग बढ्दो क्रममा रहेको उहाँको भनाइ छ ।

अर्गानिक पसलबाट दैनिक १ लाख जतिको सामान विक्रि हुने गरेको उहाँले जानकारी गराउनु भयो । देशभित्रकै आन्तरिक पर्यटकहरुले अर्गानिक सामान बढी लिने गरको उहाँले बताउनुभयो । सदस्य सचिव पाण्डेका अनुसार मार्सीचामलको माग बढी भएपनि पुराउन नसकिएको भन्दै उहाँले यस वर्षको बेमौसमी बाढीले गर्दा मार्सीचामल संकलन गर्न समस्या हुने जानकारी गराउनु भयो ।

गाउँमा रहेका महिला समूहले उत्पादन गरेका अर्गानिक कृषि वस्तु सहकारीले खरीद गर्ने गरेको छ । १८ हजार शेयर सदस्य रहेकोमा झण्डै १२ हजार शेयर सदस्यले उत्पादन गरेका कृषिवस्तु सहकारीले किन्ने गरेको छ । सदस्यहरुको सहजताका लागि ब्याजको सट्टा अन्न लिने गरिएको भन्दै उहाँले नगद रकमको सट्टा अर्गानिक वस्तु लिने गरेको बताउनु भयो ।

सहकारीबाट ऋण लिएका सदस्यहरुले किस्ता तिर्नको लागि रकम नभएमा अर्गानिक वस्तुपनि लिने गरेको सदस्य सचिव पाण्डेले बताउनु भयो । उहाँका अनुसार सहकारीले पातारासि गाउँपालिकाको लासि बजारमा सुपथ मूल्यको सहकारी पसल र ग्यास डिलर, मेडिकल, सिंजामा विद्यालय पनि संचालन गरेको बताउनु भयो ।

आर्थिक कोरोबारको अलवा सहकारीले आर्थिक परिचालन, महिला शसक्तिकरण, जीविको पार्जन, सीपमुलक तालिम र जनचेतनामुलक कार्यक्रम पनि संचालन गर्दै आएको उहाँको भनाइ छ । आर्थिक कारोबारमा चन्दननाथ बहुउद्देश्यि सहकारी कर्णाली प्रदेशकै नमूना सहकारीमा गनिएको छ ।

सहकारीले ९४ करोड ९८ लाख ४७ लाख २ सय १९ रुपैयाँ २५ पैसा बराबरको कारोबार गर्न सफल भएको पाण्डेको भनाइ छ । वित्तिय क्षेत्रमा प्रदेशकै नमूना र अब्बल बनाउने भावी लक्ष्य रहेको उहाँले सुनाउनु भयो । सहकारी अर्थतन्त्रको बलियो आधार हो उहाँले भन्नुभयो सहकारीले महिलाको जीवन स्तर माथि उठाएको छ ।

जुम्लाको पहिचा र अर्गानिक वस्तुको ब्राण्डलाई बाह्य बजारमा परिचित गराउने काम सहकारीले गर्दै आएको पाण्डेको भनाइ छ । सहकारीले किसनाबाट कहिले पनि उधारोमा सामान ल्याउने काम नगरेको भन्दै उहाँले नगद रकम दिएर कृषिवस्तु किन्ने गरेको जानकारी गराउनु भयो ।