कार्तिक २५ गतेबाट झारज्वालामा खुल्ला भलिबल प्रतियोगिता हुने – Karnali News

कार्तिक २५ गतेबाट झारज्वालामा खुल्ला भलिबल प्रतियोगिता हुने

 १२ कार्तिक २०७८, शुक्रबार ११:०३  

नौरते नेपाली, कार्तिक १२ जुम्ला
जिल्ला स्तरीय खुल्ला भलिबल प्रतियोगिता कार्तिक २५ गतेबाट गुठीचौर गाउँपालिकाको झारज्वालामा हुने भएको छ । जिल्ला खेलकुद विकास समिति जुम्लाको आयोजना र गुठीचौर गाउँपालिकाको सहआयोजनामा मुख्य मन्त्री कपको खुल्ला बलिबल प्रतियोगिता उक्त स्थानमा हुने भएको हो ।

जिल्ला खेलकुद विकास समिति जुम्लाले पहिलो पटक जिल्ला बाहिर भलिबल प्रतियोगिता गर्न लागेको सदस्य सचिव संगीता आचार्यले बताउनु भयो । संघियता कार्यान्वयनको अभ्यास गर्नको लागि गुठीचौर गाउँपालिकामा पहिलो पटक खुल्ला भलिबल प्रतियोगिता हुन लागेको विहिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले जानकारी गराउनु भएको हो ।

मुख्य मन्त्री कपको सदरमुकाम बाहिर प्रतियोगिता हुन लागेको यो पहिलो पटक हो । प्रतियोगिता संचालनको लागि आर्थिक धेरै लाग्ने र प्रदेश सरकारले पुग्दो मात्रा रकम नदिएको हुनाले यो प्रतियोगिताको केहि खर्च गुठीचौर गाउँपालिकाले गर्ने आसअवासन दिएको हुनाले सदरमुकाम बाहिर प्रतियोगिता हुन लागेको आचार्यको भनाइ छ ।

२५ गतेबाट हुने प्रतियोगितामा रहेक स्थानीय तहबाट महिला र पुरुषको १÷१ समूहले भाग लिन पाउने उहाँले जानकारी गराउनु भयो । प्रतियोगिता संचालनको लागि झण्डै ८ लाख ७० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको अध्यक्ष धनकृष्ण पाण्डेले बताउनुभयो । सबै रकम खेलकुद विकास समितिले व्यवस्थापन गर्न नसक्ने भएकाले स्थानीय सरकारबाट सहयोगको लागि आग्रह गरिएको उहाँले बताउनु भयो ।

उहाँका अनुसार पुरस्कारमा मात्रै १ लाख ७० हजार भन्दा बढी खर्च हुने बताउनु भयो । महिला र पुरुषको समूहलाई प्रथम पुरस्कार रासी ५० हजार र द्धितिय पुरस्कार रासी ३५ हजार सहित मेडल दिइने पाण्डेको भनाइ छ । प्रतियोगिताबाट समूह छनौट गर्ने नभइ त्यहाँ भित्रका उत्कृष्ट खेलाडि छनौट गर्न प्रतियोगिता आयोजना हुन लागेको उहाँले बताउनु भयो ।

अध्यक्ष पाण्डेका अनुसार छनौट भएका खेलाडिहरुलाई एक महिनासम्म आन्तरिक प्रशिक्षण दिइने जानकारी गराउनु भयो । पोखरामा हुने ९ औँ राष्ट्रिय खेलकुद प्रतियोगितमा पठाइने उहाँले बताउनु भयो । जुम्लामा लामो समयदेखि भलिबल प्रतियोगिता नभएको हुनाले जुम्लाका खेलाडि पहिचान गर्न पनि यसले सहयोग गर्ने आशा राखिएको अध्यक्ष पाण्डेको भनाइ छ ।

नकाउटका आधारमा खेलहरु हुने भएकाले कार्तिक २५, २६ र २७ गतेसम्म प्रतियोगिता हुने उहाँले बताउनु भयो । प्रतियोगितामा सहभागि हुने खेलाडिहरुको खर्च स्थानीय सरकारले स्वयम व्यहोर्नु पर्ने अध्यक्ष पाण्डेको भनाइ छ । प्रथम र द्धितिय हुने टीमलाई नगद पुरस्कार र मेडल बाँहेक अन्य खर्च जिल्ला खेलकुखद विकास समितिले दिन नसक्ने उहाँले स्पष्ट पार्नुभयो ।

सदरमुकाम बाहिर पहिलो पटक गर्न लागिएको प्रतियोगितामा सुरक्षाको चुनौति हुने उहाँको भनाइ छ । जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायसँग मजबुद हिसाबले सुरक्षाको प्रबन्धको लागि आग्रह गरिएको उहाँले जानकारी गराउनु भयो । प्रतियोगितालाई भव्य र सभ्य हिसाबले सफल गर्नको लागि गुठीचौरका स्थानीयको महत्वपूर्ण भूमिका रहने अध्यक्ष पाण्डेले बताउनु भयो ।

जिल्लाको खेल क्षेत्रको विकास र प्रवद्र्धनका लागि प्रतियोगिता कोशेढुङ्गा सावित हुने अपेक्षा जिल्ला खेलकुद विकास समितिले लिएको छ । सदरमुकाम केन्द्रित प्रतियोगितामा विवाद बढी हुने भएकाले यो पटक परिक्षणका लागि पनि सदरमुकाम बाहिर खेल संचालन गर्न लागिएको हो । प्रतियोगितामा सहभागि हुने इच्छुक खेलाडिहरुलाई आफ्नै स्थानीय तहमा समन्वय गर्न आग्रह गरिएको छ ।