जुम्लामा नेकपा एमालेको १० वटा वडा कमिटिको अधिवेशन सकियो – Karnali News

जुम्लामा नेकपा एमालेको १० वटा वडा कमिटिको अधिवेशन सकियो

 ७ कार्तिक २०७८, आईतवार ०८:४५  

नौरते नेपाली, कार्तिक ७ जुम्ला
जुम्लाका ८ वटा स्थानीय तहका ६० वडा मध्ये १० वडामा नेकपा एमालेको वडा अधिवेशन शनिबार सकिएको छ । तिला गाउँ पालिकाको वडा नम्बर १ मा बुद्धिमल रावत, वडा नम्बर २ मा जयबहादुर बुढा, वडा नम्बर ३ मा पुन्न बुढा, वडा नम्बर ४ मा बृषबहादुर हमाल र वडा नम्बर ८ मा सम्राट रावत वडा कमिटिको अध्यक्षमा सर्वसहमत चयन हुनु भएको छ ।

तिलाको वडा नम्बर ५, ६ र ७ नम्बर वडाको अधिवेशन हुन बाँकि रहेको छ । उक्त वडाहरुमा असोज ३१ देखि कार्तिक ३ गतेसम्म परेको बाढी र पहिरोले बढी क्षति गरेको हुनाले वडा अधिवेसन कार्तिक १० गते हुने नेकपा एमाले जुम्लाले जनाएको छ । यसैगरी सिंजा गाउँ पालिकाको वडा नम्बर ३ मा बिर्षबहादुर राना, पातारासी गाउँ पालिका वडा नम्बर वडा ३, वडा नम्बर ४ मा रामलाल रोकाया, वडा नम्बर ५ मा मानबहादुर बुढा र वडा नम्बर ६ मा भदुरी बुढाको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी सर्वसम्मत रुपमा गठन भएको नेकपा एमाले जुम्लाका अध्यक्ष शान्तिलाल महतले जानकारी गराउनु भयो ।

नव निर्वाचित वडा कमिटिका पदाधिकारी तथा सम्पूर्ण सदस्यहरुलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना समेत उहाँले दिनु भएको । नेकपा एमालेको वडा कमिटिको अधिवेशन कार्तिक ६ गतेबाट देशभर सुरु भएको छ । बाढी प्रभावित क्षेत्रमा केहि दिनका लागि वडा कमिटिको अधिवेशन स्थगीत भएको महतले जानकारी गराउनु भयो ।

जुम्लाका ६० वटा वडा मध्ये ५० वटा वडाको यहि कार्तिक १० गतेका दिन वडा कमिटिको अधिवेशन हुने नेकपा एमाले जुम्लाका पार्टी सचिव धनकृष्ण पाण्डेले जानकारी दिनुभयो । उहाँले अतिवृष्टिका कारण कार्तिक ६ गते हुन नसकेका वडा अधिवेशनहरू छिट्टै सम्पन्न गर्न पनि सम्बन्धित कमिटीहरूलाई निर्देशन दिइएको बताउनु भयो ।

आसन्न दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत कार्तिक ६ गते वडा अधिवेशन र ९ कार्तिकमा पालिका अधिवेशन हुने कार्यसूची छ । बाढी, पहिरो प्रभावित जिल्लाको वडा अधिवेशन भने कार्तिक १ गते हुनेछ । नेकपा एमालेको बाढीपहिरोका कारण केही जिल्ला बाहेक करिब ६ हजार वडा कमिटीको अधिवेशन सकाएको छ ।

वडा कमिटीमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित ३१ जना निर्वाचित भएका छन् । गाउँपालिका र नगरपालिकामा ३१ सदस्यीय कमिटी, उपमहानगरपालिकामा ४१ सदस्यीय कमिटी र महानगरपालिकाका वडा कमिटीमा ५१ सदस्यीय कमिटी निर्वाचित हुनेछन् । कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य गरिएको छ । देशभरि ५ हजार ७ सय ४३ वडा रहेका छन् ।