तिलाकाे १ हजार हेक्टर भन्दा बढी धान खेतमा क्षती – Karnali News

तिलाकाे १ हजार हेक्टर भन्दा बढी धान खेतमा क्षती

 २ कार्तिक २०७८, मंगलवार १७:५३  

नौरते नेपाली, कालीवहादुर परियार र सीता कुमाई, कार्तिक २ जुम्ला
आईतबार राति देखि परेको अविरल वर्षाका कारण तिला गाउँपालिकाको वडा नम्बर  ४ मा सबै भन्दा बढी क्षति गरेको छ । भेरी खोलाबाट बगेको नदिको बहाब बढेर खेतहरुमा बाढी पस्दा खेतियोग्य जीमनमा ठुलै क्षति गरेको हो । साँपुली, रावतवाडा र नुवाकोट गाउँको झण्डै १ हजार हेक्टर भन्दा बढी धान खेतमा बाढीले क्षति पुराएको छ ।

नदिको छेउछाउमा रहेका सबै खेतहरु बगरमा परिणत भएका छन् । पाकेको धान घर भित्र्याउने बेला बाढी आउदा खेतहरु बगरमा परिणत भएको रावतवाडाका स्थानीय शान्तिनाथ योगिले बताउनु भयो । गाउँमा रहेको विजुलीको नहर, खानेपानीका पाइप लाइन, काठेपुल र धान लगाईएको खेतमा नसोचेको क्षति गरेको उहाँको भनाइ छ । बाढीले विद्युतको नहर र खानेपानीका पाइप बगाउँदा तिन गाउँका स्थानीय विजुली र खानेपानी विहिन भएका छन् ।

साँपुली, रावतवाडा र नुवाकोट गाउँमा रहेको काठेपुल, सिंचाई कुलो, नदि छेउछाउमा रहेको घर, कुटानी पिसानी र चिरानी मीलहरु पनि बाढीले बगाएको छ । बाढी प्रभावित परिवारलाई राहतको प्याकेज ल्याउन उहाँले स्थानीय सरकारसँग आग्रह पनि गर्नु भएको छ । घरमा भित्र्याउन लागेको धान बाढीले बगाउदा यो वर्ष खाद्यन्न समस्या हुने नुवाकोटका स्थानीय देविलाल चौलागाईले बताउनु भयो ।

भेरी खोलाको नदिमा विक्रम संवत १९८४ र २०२८ पछिकै २०७८ मा ठुलो बाढी आएको उहाँको भनाइ छ । किसानहरुको करोडौँको क्षति गरेको चौलागाईले बताउनु भयो । किसानहरुले गरेको वर्ष भरीको मेहेन्त एकै दिनमा बालुवामा मिसिएको उहाँको भनाइ छ । साँपुलीका स्थानीय गोकर्णराज शाहीका अनुसार बाढीले किसानहरुको सपना चकनाचुर बनाएको बताउनु भयो ।

इतिहासमै पहिलो पटक बाढीले ठुलो क्षति गरेको उहाँको भनाइ छ । शाहीका अनुसार धान लगाईएका पुरै खेतहरु बगरमा परिणत भएकाले किसानहरुकाे बिचली भएको बताउनु भयो । धान लगाएको खेतहरु बगरमा परिणत हुँदा किसानहरुकाे मन रोहि रहेको उहाँले बताउनु भयो । बाढीले गर्दा किसानहरु घरबार विहिन र सुकुम्बासी हुन पुगेको उहाँको भनाइ छ ।

पुर्खौँ देखि खेतिपात गर्दै आएको जीमन बाढीले बगाउदा किसानहरुको मन जलन भएको शाहीले बताउनु भयो । साँपुलीका २ सय ५०, रावतवाडाका ४० र नुवाकोट गाउँका झण्डै २ सय घरधुरीका किसानहरुको खेत, घर, पुलपुलेसा, पानी घट्ट, विजुलीको नहर, पावर हाउस, सिंचाई कुलो र जाजरकोट जोड्ने सडक बाढीले क्षति गरेको उहाँको भनाइ छ ।

नुवाकोट गाउँनजिकै नदिको किनारबाट ताम्ती जोड्ने सडक बगरमा परिणत भएको गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताउनु भयो । रावत वाडामा निर्माणाधिन अवस्थामा रहेको झुलुङ्गे पुलको एकातिरको पुलर बगाएको भन्दै उहाँले खेतहरु पुरै कटान गरेको जानकारी गराउनु भयो । अध्यक्ष योगिले गाउँमा तत्काल खानेपानी र विजुलीको व्यवस्थापन गर्ने बताउनु भयो । उहाँका अनुसार गाउँपालिकाको बैठक बसेर बाढी प्रभावित क्षेत्रमा तत्कालका लागि राहत प्याकेज ल्याउने बताउनु भयो ।

अचानक आएको बाढीबाट पिडित भएका किसानहरुलाई नआत्तिन्न उहाँले सान्त्वाना पनि दिनु भएको छ । अध्यक्ष योगिका अनुसार तिलाको ६ नम्बर वडामा भएको क्षतिको आंकलन गर्न सकिने अवस्था नरहेको बताउनु भयो । स्थानीय सरकारकाे क्षमताले बाढीले पुराएको क्षतिको विकास गर्न एक दशक समय लाग्ने उहाँको भनाइ छ । कल्पना गरेको भन्दा बाढीले ठुलो क्षति गरेको उहाँले बताउनु भयो ।

प्रदेश र संघ सरकारसँग समन्वय गरी बाढी प्रभावित क्षेत्रका किसानहरुको समस्या समाधानका लागि पहल गर्ने उहाँले बचनवद्धता गर्नु भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाई, शसस्त्र प्रहरी बलका एसएसपी गगन कुमार श्रेष्ठ, तिला गाउँपालिका अध्यक्ष रतननाथ योगि, प्रहरी नायब उपरिक्षक दानवहादुर थापा, भूमि समस्या समाधान आयोगका जिल्ला अध्यक्ष धिरेन्द्रराज गिरी लगायतको टोलिले बाढी प्रभावित क्षेत्रको अवलोकन गरेको छ ।

प्रमुख जिल्ला अधिकारी प्रसाईले तिन गाउँमा तत्काल खानेपानीको व्यवस्थापन गरिने बताउनु भयो । विजुलीका नहर बाढीले बगाएको हुनाले मर्मत गर्न र खानेपानीका पाइप जोडेर गाउँमा खानेपानी उपलब्ध गराउन समन्वयकारी भूमिका निर्वाह गर्ने उहाँको भनाइ छ । उहाँले नदि र खोलाको छेउछाउ, पुराना भत्किन थालेका घरमा नागरिकलाई नबस्न अनुरोध गर्नुभयो ।

यसैगरि तातोपानी गाउँपालिका वडानम्बर १ राँका र बाइराँका गाउँका खेतहरु नदीले कटान गरेको छ । तिला गाउँपालिकाको कुडारी र त्रिवेणीको ज्युलोमा बाढी पसेको छ । बाढीले पाकेको धान बालीमा ठुलै क्षति गरेको छ । काट्न तयार भएका धानहरु पुरै तिला नदिको बाढीले खेतहरु बगर जस्तै बनाएको छ ।

हिमा गाउँपालिका रत्ना शाही वेपत्ता
अविरल बर्षाका कारण हिमा गाउँपालिका वडा नम्वर ६ मा एक जना महिला बेपत्ता हुनु भएको छ । सोमबार परेको भारी बर्षाका कारणले हिमा गाउँपालिका वडा नम्वर ६ निवासी तथा हाल बागबजारमा बसोबास गर्ने अन्दाजी वर्ष ३२ की रत्ना शाही वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरिक्षक दानवहादुर थापाले जानकारी दिनुभयो । खोलामा दाउरा झिक्ने क्रममा बगेर वेपत्ता भएको उहाँको भनाइ छ । बेपत्ता महिलाको खोजी कार्य भइ रहेको उहाँले जानकारी गराउनु भयो ।

जनता आवसको घर भेरी खोलाको नदिले बगायो
तिला गाउँपालिका वडा नम्बर ४ नुवाकोट गाउँका लालवहादुर सार्कीको जनता आवासको घर भेरी खोलाको नदिले बगाएको छ । नदिको छेउमै घर भएको हुँदा नदिले घर बगाएको हो । एउटै मात्र घर त्यो पनि बाढीले बगाउँदा सार्कीको परिवार घर विहिन भएको छ । आर्थिक अवस्था कमजोर भएकाले जनता आवासको घरमा बस्दै आएको सार्कीको परिवार यति बेला घरन र घाटको हुनु परेको छ ।

एक कित्ता मात्रै जमीन थियो त्यसैमा जनता आवासको घर बनाएर बसेको थिए, उहाँले भन्नुभयो त्यहि घरपनि बाढीले बगाउँदा उठिबास भएको बताउनु भयो । उहाँका अनुसार सोमबार राति घरबाट सबै परिवार ननिस्केको भए नदिमा बग्ने रहेछौँ । गाउँका मानिस आएर घरबाट नभगाएको भए सबैको एकै चिहान हुने सार्कीले बताउनु भयो ।

जनता आवासबाट निर्माण गरेको घर पनि बाढीले बगाउँदा घर विहिन अवस्थामा पुगेको उहाँले जानकारी गराउनु भयो । उहाँले भन्नुभयो, घर मात्रै बगाएको भए हुन्थ्यो घर बनाएको जमीन पनि बगाउँदा चिन्ता थपिएको छ । अब घर बनाउने जग्गा पनि छैन उहाँले भन्नुभयो घर बनाउन सक्ने अवस्था पनि छैन् ।

नुवाकोट गाउँकै श्रीकृष्ण उपाध्याय, कृष्णकान्त चौलागाई, कन्नविर नेपाली र मानविर नेपालीको कुटानी, पिसानी र चिरानी मील बाढीले बगाएको छ । २०६७ साल तिर निर्माण गरेको लाखौँ रुपैयाँको मील बाढीले बगाएको हो । उपकरण सहित मील बनाएको भवन नदिमा गरल्याम गुरलुम गर्दै   बगेको त्यहाँका स्थानीयले बताएका छन् ।

यस्तै सेतिवाडा माविको ६ कोठे भवन ढुबानमा परेको छ । गाउँमा रहेको पानी घट्ट र मीलहरु बाढीले बगाउँदा अन्नपिस्न पनि समस्या हुने स्थानीयले बताएका छन् । यसैगरि रावतवाडा गाउँका नवराज चौलागाई र अतिचन्द्र चौलागाईको ७ कोठे घर भत्किन लागेको छ । माटोको छानाले निर्माण भएको घर अविरल वर्षाले भत्किन लागेको हो । जीण अवस्थामा रहेको घरमा नबस्न जिल्ला विपद् व्यवस्थापन समितिले आग्रह गरेको छ ।

यसैगरि तातोपानी गाउँपालिका वड नम्बर ४ मा रहेको नेत्रज्योति माविको २ कोठे भवन, शौचालय, घेरबार र खेलमैदान पुरै नदिले कटान गरेको वडाध्यक्ष धिर जैशीले बताउनु भयो । विद्यालयको ८० थान डेस्क र बेन्च नदिले बगाएको उहाँको भनाइ छ । झण्डै १ करोड जति क्षति भएको अध्यक्ष जैशीको भनाइ छ ।

हाँकु, पैथेनी, पाण्डेवाडा, गिडिखोला र नियापानी गाउँका किसानहरुको झण्डै ३ सय मुरी खेत, जाल्पादेवि जलविद्युतको बाँध र नहर बाढीले बगाएको उहाँको भनाइ छ ।

१ सय १७ वटा भेडा र ३ कुकुर वेपत्ता
जुम्लाको तातोपानी गाउँपालीका वडा नम्बर ७ भेरीखोला नदिले १ सय १७ वटा भेडा र ३ कुकुर बगाएको छ । तातोपानी गाउँपालीका वडा नम्बर ७ पाथरसागु नजिकैको नदिमा बाढी आउँदा १ सय १७ वटा भेडा र ३ व६ा कुकुर बगाएको हो । जाजरकोट लैजाने क्रममा तातोपानी ७ ताम्ती बारा गाउँका ७ जना किसानले नदीकाे छेउ नजीक राखेका भेडा बाढीले बगाएको किसान जय बहादुर रावलले जानकारी दिनुभयो ।

अबिरल बर्षा पछि कार्तिक १ गते राती आएको बाढीले भेडा बगाए पछि किसान निकै चिन्तित भएका छन । जुम्लामा ठुलो संख्यामा बाढीले भेडा बगाएको यो पहिलो घटना हो । पानसय पाटनबाट ओर्लि आएको बाढीले भेडाको बगाल नै बगाए पछि कृषकलाई रीत्तो बनाएको अर्का स्थानीय महेन्द्र रावतले जानकारी दिनु भयो ।

उहाँका अनुसार परिवार पाल्ने एक मात्र विकल्पका रुपमा रहेका भेडा सबै बगाए पछि कसरी परीवार पाल्ने चिन्ता रहेको पिडित किसानहरुले बताएका छन् । असोज ३० गते देखि परेको अविरल बर्षाका कारण जुम्लाको तातोपानी गाउँपालिका वडा नम्वर ८ टोप्लामा बाढी आउदा ठुलो मात्रामा भौतीक संरचनामा क्षेती पुर्याएको छ ।

भारी बर्षा हुदा टोप्लामा पनी ठुला भौतीक संरचनामा क्षेती पुर्याएको हो । गएको आईतबार देखि भारी बर्षा हुदा तातोपानी गाउँपालिकाको वडा नम्वर ८ टोप्लामा बिद्युतको पावर हाउस बगाएको छ । आईतबार देखि लगातार परेको पानीले टोप्लामा ठुलो क्षेती पुर्याएको स्थानीय लालवहादुर शाहीले जानकारी दिनु भयो ।

उहाँका अनुसार भारी बर्षाका कारणले तातोपानी गाउँपालिकाको टोप्लामा बिद्युतको पावर हाउस र दुई वटा नहर बगाउदा टोपलाका नागरिहरु अन्धकारमा बस्न बाध्या भएका छन । उहाँका अनुसार भारी बर्षाका कारणले बिद्युत अबरुद्ध हुदा झन्डै ३ सय २५ घरधुरी अन्धकारमा बस्न बाध्य भएको शाहीले बताउनु भयो ।

स्थानीय शाहीका अनुसार भारी बर्षाका कारणले ९ वटा पानी घट्ट समेत बगाएको छ । पानी घट्ट बगाउदा स्थानीय नागरिकहरुले उत्पादन भएको अन्न पिस्न समेत मुस्कील हुने अवस्था सृजना भएको उहाँले बताउनु भयो । शाहीका अनुसार भारी बर्षाकै कारणले २ वटा घरमा समेत पुर्ण रुपमा क्षेती गरेको जानकारी दिनु भयो ।

२ वटा घरमा पूर्ण रुपमा क्षेती पुर्याउदा आफन्तहरुको घरमा शरण बस्नु परेको बताउनु भयो । उहाँका अनुसार भारी बर्षा हुदा नदिको छेउछाउमा रहेका जमिनमा समेत क्षेती पुर्याएको बताउनु भयो । अन्न बाली लगाएको जमिनमा बाढी पस्दा  अन्न बालीमा क्षेती पुर्याको उहाँले जानकारी दिनुभयो ।

अविरल बर्षाका कारणले जुम्ला बजार देखि टोप्ला जाने सडक विभिन्न ठाउँमा नदिले कटान गर्नुका साथै भत्काएको छ । सडकमा क्षेती मानिसहरु ओहोर दोहोर गर्न समेत अप्ठारो भएको बताउनु भयो ।

जनता समाजबादीको ध्यानकर्षण
जनता समाजवादी जुम्लाले आश्विन महिनाको ३१ गते अपरान्ह देखि हाल सम्म परेको भारी वर्षाबाट भएको जनधनको क्षेतीको बारेमा सराेकारवाला निकायकाे ध्यानाकर्षण गरेको छ । भारी वर्षाबाट जुम्ला जिल्लामा भएको मार्सि धान र अन्य क्षेतिको बारेमा ध्यानाकर्षण गरेको हो । अविरल वर्षाबाट जुम्ला जिल्लाका सबै गाउँपालिका तथा नगरपालिकामा लगाएको मार्सि धान लगायत अन्य बालीहरु पूर्ण रुपमा जुम्लाले क्षेती भोग्नु परेको प्रति जनता समाजबादी जुम्लाले ध्यानाकर्षण गरेको छ ।

भारी बर्षाका कारणले केहि घर गोठ समेत वर्षाका कारण भत्किएको र वर्ष भरी दुःख गरि लगाएको बाली भित्रयाउने समयमा क्षेती भएको जनता समाजवादी पार्टीद्धारा ध्याकर्षण भएको जिल्ला अध्यक्ष उमाशंकर न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार बर्षाबाट नोक्सान भई भोकमरीको चपेटामा पर्ने प्रवल सम्भावना भएकाले नेपाल सरकार, स्थानीय तह र सम्बन्धीत निकायबाट समयमै क्षेतीको एकिन गरी पिडित कृषकलाई राहात उपलब्ध गराउन ध्यानाकर्षण भएको बताउनु भएको छ ।

भित्र्याउन लागेको धान बालिमा क्षति
आइतबारदेखि परेको अविरल बर्षाले  भित्र्याउन लागेको धान बालिमा क्षति पुराएको छ । अविरल बर्षाकै कारण जिल्लाका विभिन्न ठाँउमा ठूलो क्षेति गरेको छ । तातोपानि गाउँपालिका वडा नम्बर ७ सर्मिमा करिब ४७ भारीको धानखेत सहित बगाएको  सर्मिका स्थानीय पहलमान कुँवरले जानकारी दिनुभयो ।

उहाँका अनुसार पाकेर भित्र्याउनलाई तयार भएको धान पानी परेर सबै बगाउदा किसानहरु चिन्तित भएका छन् । बर्षभरिको मेहेनत एकै दिनको पानीले बगाएकोले किसानहरु दुखी भएको कुँवरको भनाइ छ । उहाँका अनुसार सार्मिकै पिपल जिउलामा करिब १५ देखि २० हलसम्मको धानखेतहरु नदिले बगाएको छ ।

सर्मि गाउँमा रहेको २ वटा पानि घट्ट पनि बगाएको कुँवरले जानकारी दिनुभयो । पानिले घट्ट बगाउँदा स्थानीयहरुलाई अन्न पिसेर खान पनि धौधौ परेको छ । २ दिनदेखि परेको अबिरल बर्षाको कारण न घर बाहिर निस्कनै सकिन्छ घर चुहिएर न त घर भित्रनै बस्ने ठाउँ बाकी छ उहाँले बताउनु भयो ।

वर्षाले अन्नबाली र जमिनको हिसाब गर्दा करोडौँ बराबरको क्षति गरेको कुँवरको भनाइ रहेको छ । गाउँमा रहेका पानी खाने धाराहरु पनि बाढिले बगाएको छ । जसले गर्दा स्थानीयहरुलाई पानीको समस्या भएको छ । निरन्तर बर्षा हुँदा र पानीका धारा समेत बगाउदा खाना बनाएर खान समेत समस्या भैरहेको स्थानीयहरुको भनाइ छ ।

सर्मि गाउँमा रहेका काठे पुल पनि बर्षाले बगाएर लगेको छ । जसका कारणले आवत जावतमा समस्या भएको पनि उहाँले जानकारी दिनुभयो । गाउँमा बन्दै गरेका पक्कि पूल पनि जोखिममा रहेको छ । स्थानीयहरुले पाटनमा लगाएको घोडा घोडि पनि चिसोका कारणले मर्नेको संख्या पनि बढेको छ । पाटनमा करिब ४० देखि ४५ वटा घोडाघोडीहरु मरेका कुँवरले बताउनु भयो छ ।

गाउँमा यति क्षति भैसक्दा पनि कुनै सरोकारवालाको नजर यसतर्फ नपुगेकोमा उहाँले गुनासो गर्नु भएको छ । त्यस्तै चन्दननाथ नगरपालिका वडा नम्बर ९ श्रीढुस्कामा किसानहरुको काटेको करिब ५ सय घरधुरीको धान बाली डुबानमा परेको छ । काटेर खेतमा सुकाउन राखेको धान डुबानमा परेको चन्दननाथ नगरपालिका ९ नम्बर वडाकी महिला सदस्य चन्द्रादेवि उपाध्यायले जानकारी दिनुभयो ।

बर्ष भरिको परिश्रम बर्षाले गर्दा सखाब बनायो, बर्ष भरि के खाने कसरि बाच्ने भन्ने चिन्ता स्थानीयमा रहेको उहाँको भनाइ छ । अविरल बर्षाकै कारणले श्रीढुस्काका स्थानीय बासिन्दा तुलराज गिरी र कुशराज गिरीको आठ काठे घरमा आंशिक रुपमा क्षति पुगेको छ । घरको एका तिरको पर्खाल पुरै भत्केको छ । घरको जगदेखिनै पर्खाल चर्केकोले घरमा बस्न सक्ने अबस्था नरहेको उहाँले बताउनु भयो ।

घर पुरै भत्केको छैन तर पनि घर भित्र बस्न सक्ने अबस्था छैन् । उहाँका अनुसार निरन्तर बर्षाले मानिसलाई कसरी बाच्ने चिन्ता त छदैँछ काटेर सुकाउन राखेको घाँस पनि पानीले कुहिदा बर्षभरी गाई गोरुलाई के खुवाएर पाल्ने हो ? भन्ने पिर पनि थपिएको उहाँले बताउनु भयो । यसैगरि तिला गाउँपालिकाको पाडलुमसेरामा पनि काटेर खेतमा सुकाउन राखेको करिब २ बिगा जमिनमा लगाएको धान नदिले बगाएको छ भने मानवीय क्षति नभएको स्थानीय तिल प्रसाद भट्टराईले बताउनु भयो ।

लगातार परेको बर्षाको कारणले तातोपानि गाउँपालिका ३ को लाछु जिउलामा पनि सयौँ भारीको धान बाली खेतमै पानी पसेर धान डुबानमा परेको छ । करिब २ सय ५० घरधुरीको धानबाली लगायतको अन्य बालीमा पनि क्षति गरेको स्थानीय नरविर सुनारले जानकारी दिनुभयो । धान खेत डुबानमा पर्दा किसानहरु मर्का परेका छन् ।

यतिसम्मको क्षति हुदा पनि स्थानीय सरकार लगायत सरोकारवालाको ध्यान यसतर्फ नगएकोमा किसानहरुले गुनासो व्यक्त गरेका छन् ।