
नौरते नेपाली, असोज २४ जुम्ला
अनेक प्रकारका मानसिक स्वास्थ्य समस्याहरू मानव जीवनमा थपिएका छन् । जैविक–रासायनिक, सामाजिक एवं मनोवैज्ञानिक कारणले मानसिक समस्याहरु मानव जीवनमा थपिएका हुन् । बदलिदो समाजिक परिवेश, बेरोजगारी, गरिबी, आधुनिकीकरण, सामाजिक सञ्जालको प्रभाव, लागु–पदार्थको सेवन, पारिवारिक झमेला, लैङ्गिक हिंसा, घरेलु हिंसा, यौन शोषण, बलात्कार, लाञ्छना, लैङिगक विभेद, अन्धविश्वास, गलत प्रथा जस्ता कारकतत्वले मानसिक स्वास्थ्य समस्या बढ्दै गएको देखिएको छ ।
विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा जुम्लाका पत्रकारहरुसँग टिपिओ नेपाल जुम्लाले आयोजना गरेको कार्यक्रममा यस्तो बताईएको हो । शिक्षा र चेतनाको कमी, मानसिक स्वास्थ्यका क्षेत्रमा विद्यमान अन्धविश्वास, दक्ष जनशक्तिको कमी, सरकारी उपेक्षा, बजेटको अभाव, दातृ निकायको यस क्षेत्रमा आँखा पर्न नसक्नु, राष्ट्रिय मानसिक स्वास्थ्य नीति नहुनु जस्ता कारणबाट मानसिक स्वास्थ्यको क्षेत्रमा सोचेजस्तो प्रगति हुन नसकेको टिपिओ नेपाल जुम्लाका मनोविर्मश कर्ता नन्दराज आचार्यले बताउनु भयो ।
मानसिक समस्यालाई जुम्लामा रुपमा लिने गरेको हुनाले यसले भविष्यमा नकारात्मक असर गर्ने आचार्यको भनाइ छ । उहाँका अनुसार हरेक समाजमा मानसिक समस्या भएका विरामीलाई परम्परागत मान्यता अनुसार धामी झाँक्रिका लिने चलन रहेको बताउनु भयो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मनोचिकित्सक भएकाले मनोसामाजिक समस्या भएका विरामीलाई उपचारको लागि स्वास्थ्य संस्थासम्म आउन उहाँले आग्रह गर्नु भएको छ ।
स्थानीय तहको प्राथमकिता नपरेको हुँदा मानसिक स्वास्थ्य क्षेत्र अझै पनि ओझेलमा परेको आचार्यको भनाइ छ । मानसिक रोगीलाई अपहेलना गर्ने, उपचारबाट वञ्चित गराउने, बाँधेर वा थुनेर राख्ने, खान नदिने, काम र जिम्मेवारी तथा अधिकारबाट वञ्चित गराउने, भुत–प्रेत वा बोक्सी लाग्यो भनेर उपचारको नाममा अमानवीय व्यवहार हुने गरेको उहाँको भनाइ छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका मनोचिकित्सक डाक्टर अनुप देवकोटाले समाजमा मानसिक स्वास्थ्य प्रति व्यक्तिको बुझाइ, धारणा, सोचविचार अझै पनि सकारात्मक हुन नसकेको बताउनु भयो । उहाँका अनुसार मानसिक स्वास्थ्यलाई कलंकको रुपमा हेर्ने गरिएको उदाहरण सुनाउनु भयो । कर्णाली प्रदेश भरी जुम्ला र सुर्खेत प्रदेश अस्पताल बाँहे अन्य ठाउँमा मनोचिकित्सक नभएको उहाँले बताउनु भयो ।
मानसिक स्वास्थ्य समस्या देखापर्दा कुल बिग्रेको, देउता चढेको, माता चढेको, बोक्सी लागेको, धामी उत्रेको भन्दै नजर अन्दाज गर्ने परिपाटी हाम्रो समाजमा अझै पनि विद्यमान रहेको उहाँले सुनाउनु भयो । नेपालमा मानसिक स्वास्थ्यको क्षेत्रमा राज्यका तर्फबाट पनि पर्याप्त लगानी हुन नसकेको देवकोटाको भनाइ छ ।
दुरदराज र स्थानीय तहसम्म यसको पहुँच पुग्न नसकेको भन्दै उहाँले मानसिक समस्या भएमा उपचारको लागि आउन सुझाव दिनु भएको छ । यो दिवसले संसारमा मानसिक स्वास्थ्यसम्बन्धी मुद्दाहरू, समस्याहरू अनि उपचारात्मक र प्रतिरोधात्मक तरिकाहरूबारे चेतना जागृत गरेका उहाँको भनाइ छ ।
देवकोटाका अनुसार मानसिक स्वास्थ्यका मुख्य आधारहरू भनेको मानवीय संवेदनात्मक सहयोग र भावनात्मक प्राथमिक उपचारहरू रहेको जानकारी गराउनु भयो । कुनै दुर्घटनामा परेका ब्यक्तिहरूलाई भौतिक प्राथमिक उपचार गरिए जस्तै भावनात्मक अनि संवेदनात्मक दुर्घटनामा परेका ब्यक्तिहरूलाई तत्कालै सही मानसिक प्राथमिक उपचार गर्न जरुरी रहेको डाक्टर देवकोटाको भनाइ छ ।
बढ्दो आधुनिकता, बदलिँदो जीवनशैली अनि बढ्दो मानवीय महत्वकांक्षाका कारणले मानिसहरूमा लामो समयसम्मको निराशापन, मानसिक असन्तुलनका कारण आत्महत्या लगायतका समस्याहरू बढिरहेका छन् । यस वर्षको दिवसमा ‘असमान विश्वमा मानसिक स्वास्थ्य’ भन्ने नारा तय गरिएको छ ।
आत्महत्या, हत्या, नशा सेवन, दुर्घटना अनि कैयन असरहरू त हाम्रा टोल–छिमेकमै दैनिक सुनिन्छ । मानसिक स्वास्थ्यको यिनै मुद्दा अनि परिवेशले ल्याएको चुनौतिलाई विश्वभरि मिलेर सामना गर्न सन् १९९२ देखि हरेक वर्ष १५० भन्दा बढी देशहरूमा विभिन्न कार्यक्रम गरी विश्व मानसिक स्वास्थ्य दिवस मनाइन्छ ।