
कालीवहादुर परियार र एनिसा हमाल, असोज ९ जुम्ला
बजार अनुगमनको अधिकार पाएका जुम्लाका सरोकारवाला निकायले पटक–पटक बजार अनुगमन गर्ने गरेका छन । पटक पटक बजार अनुगमन गरे पनी ब्यापारीहरुले म्याद सकिएका सामान बिक्रि गर्न छोेडेका छैनन् । बजार अनुगमन गरे पनि म्याद सकिएका साामन बरामद हुन्छन तर ब्यापारीहरुलाई कहिले पनी कारर्वाही हुने गरेको छैन ।
चाडपर्व र बेलामौका छोपी गरिने अनुगमनको खासै जुम्लामा अर्थ देखिएको छैन । जुम्लामा जती अनुगमन गरे पनी बजारमा अखाद्य वस्तु छ्याप्छ्याप्ती रहेका छन् । बजारमा सामान खरिद गर्दा एकै स्थानमा एउटै वस्तुको मूल्यमा एकरूपता नभएको सर्ब साधरणहरुले बताएका छन । सर्बसाधरणहरुका अनुसार बेच्न राखिएका खाद्य देखि लत्ता कपडा सम्म गुणस्तरहीन भेटिने गरेको बताएका छन ।
चाडपर्वमा बजार बढी नै अव्यवस्थित हुन्छ । दसैं तिहार जस्ता चाडपर्व नजिकिए सँगै अहिले बजारमा बेथिति देखिन थालिसकेका छन । अन्य समय भन्दा बढी कारोबार हुने भएकाले चाडपर्वको मौका छोपेर व्यापारीहरूले उपभोक्तालाई मूल्य र गुणस्तरमा ठगी गर्ने गरेकोे सामान खरिद गर्न आउनु भएका पातारासि गाउँपालिका वडा नम्वर ५ लोर्पाका रमेश बुढाले जानकारी दिनुभयो ।
उहाँका अनुसार जुम्ला बजारको सबै जसो पसलमा यस्तो समस्या रहेको बताउनु भयो । बुढाका अनुसार निजी क्षेत्रले मात्र होइन सरकारी कम्पनीहरूले समेत गुणस्तरहीन, अखाद्य वस्तु र म्याद सकिएका सामान बिक्री गर्ने गरि रहेको बताउनु भयो । ग्रामीण भेगका साना बजार देखि जुम्ला बजारमा सञ्चालित ठूलो लगानीका व्यवसायमा पनि उपभोक्तालाई ठग्ने प्रवृत्ति उस्तै रहेको उहाँले जानकारी दिनु भयो ।
बजारको बेथिति बर्सेनि मौलाउँदो छ । जिल्ला प्रशासन कार्यालय जुम्ला र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जुम्लाले विभिन्न समयमा बजार अनुगमन गर्दा व्यापारीहरूबाट बदमासी भइरहेको पाइने गरेको छ । उहाँका अनुसार बजारमा म्याद सकिएका समानहरु अनुगमन गर्न आए पछि लुकाउने र अनुगमन नगरेको बेला म्याद सकिएका सामानहरु गाउँघरका सोझा साझा नागरिकहरुलाई बिक्रि गर्ने गरेको उहाँको भनाइ रहेको छ ।
यता उपभोक्ताहरू आफै सचेत नहुँदा थप मर्कामा परिरहेका छन् । सामान खरिद गर्दा पसलमा राखिएको मूल्य सूचि, वस्तुको उत्पादन र खान योग्य मिति लगायतमा सर्ब साधरणहरुले ध्यान नदिदा म्याद सकिएका सामान आफैले प्रयोग गर्नु परेको नागरिक समाज जुम्लाका अध्यक्ष राज बहादुर महतले जानकारी दिनु भयो ।
उहाँका अनुसार उपभोक्ताहरुले यी कुरामा मात्र ध्यान दिन सके ९० प्रतिशत उपभोक्ताको अधिकार सुनिश्चित हुने बताउनु भयो । जिल्लास्थित संयुक्त बजार अनुगमन समितिका संयोजक तथा जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईका अनुसार बजार अनुगमनका क्रममा वस्तुको मूल्यसूचि नराख्ने गरेको, अखाद्य वस्तु र म्याद सकिएका सामान बिक्री गरेको र केही पसलहरूले चर्को मूल्य समेत लिने गरेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार बजार अनुगमनलाई प्राथमिकता दिइएको छ ।
व्यापारीहरूले गढबड गरेको भेटिए ऐन कानुन अनुुसार तुरुन्तै कारबाहीको दायरामा ल्याइने बताउनु भयो । चाडपर्वका बेला मूल्य वृद्धि, कालो बजारी, तथा अखाद्य वस्तु बिक्री हुन सक्ने भन्दै प्रशासनले अनुगमनमा कडाइ गरेको छ । प्रशासनले अखाद्य वस्तु भेटिए नष्ट गरेर आइन्दा यसो नगर्न सचेत गराउँदै आएको छ भने बारम्बार बजारमा मनलाग्दी गर्ने व्यापारीहरूलाई कारबाही पनि गरिने चौलागाईको भनाई रहेको छ ।
यसैबिच, शुक्रबार जुम्लाका ८ वटा खाद्य पसलहरुमा अनुगमन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय जुम्लाको आयोजना र जिल्ला प्रसाशन कार्यलय जुम्लाका बजार निरीक्षण अधिकृत तथा सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईको संयोजकत्वमा बजार अनुगमन गरिएको हो ।
८ वटा पसलमा अनुगमन गर्दा ७ वटा पसलमा म्याद नाघेका सामानहरु भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय जुम्लाका प्रमुख अमित भुषण सुमनले जानकारी दिनुभयो । उहाँका अनुसार ऐडि जनरल स्टोर बाट स्याउको चाना ३० प्याकेट, वेसन ६ पिस, त्यस्तै आर वि कोसेली घर बाट कोकोकोला ठुलोमा ३ वटा, स्प्राइड १ वटा, सोनो कोकोकोला ७ वटा, चाउचाउ २ पिस, जीरा पाउडर ३ वटा, मिल्किस्टिक २ डिब्बा, ललीपप १ ढिब्बा, चक्लेट २ डिब्बा, सुर्ति १ प्याकेट, र खुर्सानी पाउडर १० प्याकेटल म्याद सकिएको सामान बरामद गरिएको उहाँले बताउनु भयो ।
यस्तै आयुष जनरल स्टोरबाट १ कोकोकोला र १ प्याकेट विस्कुट, के एम टि जनरल स्टोरबाट कुकिज १४ प्याकेट, विस्कुट १७ वटा, डेरि किरिम १ डिब्बा, र सुर्य स्टोरबाट चना वेसन ७ प्याकेट, झुरुम चिउरा ३ प्याकेट, पाउडर दुध ३ प्याकेट, धुलो खुर्सानी १ प्याकेट, चिल्ली सस १ वटा, र दालमट ३ प्याकेट बरामद गरिएको प्रमुख सुमनले जानकारी दिनुभयो ।
अनुगमनका क्रममा दूइ वटा दर्ता नभएका पसलमा पनि म्याद सकिएका सामान भेटिएको उहाँको भनाइ छ । उहाँका अनुसार दर्ता नभएका पसलहरुलाइ दर्ता गरेर मात्र पसल संचालन सुझाब दिएको छ । बरामद गरिएको सामान शुक्रबारनै नष्ट गरिएको सहायक प्रजिअ नन्दराम चौलागाइ जानकारी दिनुभयो ।
अनुगमनमा गएको टोलीको राहोबरमा सामान नष्ट गरिएको उहाँले बताउनु भयो । उहाँका अनुसार जुम्ला बजारको बसपार्क क्षेत्रमा अनुगमन गरिएको थियो । आवश्यकताका आधारमा जतिबेला पनि बजार अनुगमन गरिने उहाँले बताउनु भयो । व्यापारीहरुले अनुगमनमा सहयोग गर्नुपर्ने कुरामा उल्टै झगडालु व्यवहार देखाउने गरेकाले समस्या हुने गरेको उहाँले बताउनु भयो ।
मानिसको प्रत्यक्ष जिवनमा असर पर्ने म्याद नाघेका सामानहरु बिक्रि वितरण नर्गन उहाँले सम्पुर्ण व्यापारीहरुलाइ अनुरोध पनि गर्नुभएको छ । उपभाक्ताहरुलाइ पनि सामान किन्दा सजग रहन चौलागाइले आग्रह गर्नुभएको छ । चौलागाइका अनुसार ११ हजार ८ सय चौविस रुपैँया बराबरको सामान नष्ट गरिएको छ ।