
नौरते नेपाली, भाद्र ३० जुम्ला
सिंजा गाउँपालिका वडा नम्बर ६ जोडुका श्रीभक्त बुढाले अन्जानमै विवाह गर्नु भयो । विवाह भएको उमेर उहाँलाई अहिले पनि सम्झनामा छैन् । बुढाको पालामा गर्भमा विवाहको लागि माग्ने चलन थियो । छोरी मान्छे मनावरी नभएकै अवस्थामा विवाह हुने गरेको बुढा सुनाउनु हुन्छ । बुढाको पनि त्यहि बेला विवाह भयो ।
अहिले उहाँ ७५ वर्षको भइसक्नु भयो । ढोकामा विवाहको बेला टिका लगाउँदा अरुले उठाएर लगाएको सम्झना बुढालाई अहिले पनि ताजै छ । महिनावरी भएको बेला गोठबाट तानेर, वनमा गाईवस्तु चराउनको गएको बेला चौरेर अथवा मेला पर्व लागेको स्थानबाट भगाएर लिने चलन रहेको उहाँको भनाइ छ । केटाकेटीको बिच मन नमिल्ने पनि घर परिवारको दबाबले विवाह गर्ने चलनबाट हुर्केको बुढाको अनुभव छ ।
अपरिक्क उमेरमा विवाह गर्दा हरेक कुरामा समस्या भोग्नु परेको उहाँले बताउनु भयो । विवाह पछि जिम्मेवारी थपिएको भन्दै उहाँले कलिलै उमेरमा अभिभावक हुनु परेको बताउनु भयो । विवाहै कारण आर्थिक र सामाजिक रुपमा पछि परेकोमा बुढालाई अहिले पछुतो लागेको छ । भाँड गाउँका कालि रावत अहिले ५० वर्षको हुनुभयो ।
उहाँले पनि सानैमा विवाह गर्नुभयो । उहाँले भन्नुभयो हुर्के बढेकि छोरीलाई माइतिमा राख्ने चलन थियो । पोइलकि छोरी गरिखा, माइतकि छोरी मरिजा भन्ने उखानले गर्दा पनि छिटै विवाह भएको उहाँले सुनाउनु भयो । बाल विवाहले गर्दा हरेक समस्याले थला पारेको उहाँको अनुभव छ । परिपक्क भए सकेपछि विवाह गर्दा आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्ने थाहा पाएर पनि नपाएको जस्तै गर्नु परेको रावतले सुनाउनु भयो ।
गाउँमा नपढेकि छोरीलाई महिनावरी नहुनु पहिले नै विवाह गरि पठाउने चलन थियो उहाँले भन्नुभयो, त्यसैले गर्दा अधिकांशको विवाह १५÷१६ वर्षकै उमेरमा हुने गरेको थियो । उहाँले भन्नुभयो, अहिले चलन फेरिएको छ । सरकारले पनि २० वर्ष नपुगि विवाह गर्न मिल्दैन भनेको छ । यस्तै १७ वर्षका गणेश रावत २० वर्ष पुगिसकेपछि मात्रै विवाह गर्ने सोचमा हुनुहुन्छ छ ।
आफ्ना बाजे र बाउबाट राम्रोसँग पाठ सिक्नु भएका रावत आफ्नो खुट्टामा उभिने भइसके मात्रै विवाह गर्ने योजनामा रहेको सुनाउनु भयो । बाल विवाह घातक र विकासको बाधक हो भनेर बुझ्नु भएका उहाँले अरुलाइ पनि विवाह गर्न रोक्ने बताउनुभयो । प्लान इन्टरनेश्नल नेपालको सहयोग, क्याड नेपाल जुम्लाको आयोजना र सिंजा गाउँपालिका वडा नम्बर ६ को समन्वयमा भएको बाल विवाह सम्बन्धि अन्तरपुस्ता संवाद कार्यक्रमका सहभागिहरुले यस्तो बताएका हुन् ।
सिंजा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष कालीवहादुर बुढाले सामाजिक संस्कारका रुपमा रहेको बाल विवाह न्यनिकरणमा सबै सहभागि हुनु पर्ने बताउनु भयो । आफ्नो वडामा २०७४ यता झण्डै १ सय ५० भन्दा बढी जोडिले बाल विवाह गरि सकेको उहाँको भनाइ छ । विवाह गरि बच्चा जन्माई सकेपछि वडामा जन्मदर्ता गराउन आउने गरेको बुढाले बताउनु भयो ।
उहाँले भन्नुभयो, जन्म दर्ता नगराई दिउ भने जन्मसिद्ध अधिकार हन्नन हुने ? गरौँ भने कानूनले नछोड्ने भएकाले पञ्जिका अधिकारी र जनप्रतिनिधि जोखिमा रहेको बताउनु भयो । गाउँमा सबैले उमेर नपुगि विवाह गरेको भन्दै अध्यक्ष बुढाले बाल विवाह रोक्नको लागि समुदाय नै जाग्नु पर्ने बताउनु भयो । बाल विवाहलाई समाजले संरक्षण गरेको उहाँको भनाइ छ ।
विद्यालय पढ्ने उमेर समूहका किशोरकिशोरीले बढी विवाह गरेको भन्दै उहाँले उनिहरुलाई सचेत गर्ने कार्यक्रम संचालन गर्नु पर्ने सुझाव दिनुभयो । १५ देखि २० वर्षको उमेरमा बढी विवाह हुने गरेको भन्दै उहाँले अभिभावकहरुले बाल विवाह हुनबाट रोक्नु पर्ने जानकारी गराउनु भयो । समाज परिवर्तनका लागि बाल विवाह न्युनिकरण अभियानमा सहभागि हुन उहाँले सबैलाई आग्रह गर्नु भएको छ ।