
नौरते नेपाली, भाद्र ११ जुम्ला
पातारासि गाउँपालिका जुम्लाका २४ जना किसानलाई कृषि औजार वितरण गरिएको छ । कृषि उपजको उत्पादन वृद्धि र लागत घटाउने उद्देश्यले कृषि औजार वितरण गरिएको हो । वडा नम्बर ४ का ६, ५ का ६, ६ का ६ र वडा नम्बर ७ का ६ जना किसानलाई औजार वितरण गरिएको किर्डाक नेपाल जुम्लाका फिल्ड म्यानेजर भेषवहादुर रावलले बताउनु भयो ।
कृषकलाई परम्परागत खेती प्रणालीको विकल्पमा यान्त्रिकीकरण र आधुनिकीकरण गर्न अग्रसर बनाउने उद्देश्यले कृषि औजार वितरण गरिएको उहाँको भनाइ छ । सिल्पोलिन १ वटा, नाइलन डोरी ४ केजी, हजारी १ वटा, प्लाष्टिक केरेट ३ वटा, गार्डेन पाइप २ रोल, फरुवा १ वटा र त्रिपाल १ वटा वितरण गरिएको रावलले जानकारी गराउनु भयो ।
आमा र बालबालिकाको पोषण अवस्थामा सुधार ल्याउनको लागि कृषि औजार प्रदान गरिएको उहाँको भनाइ छ । एक जना किसानलाई १४ हजार ६ सय ४१ रुपैयाँ बराबरको कृषि औजार वितरण गरिएको किर्डाक नेपाल जुम्लाका फिल्ड अफिसर धिरनाथ योगिले बताउनु भयो । उहाँका अनुसार कृषि खेतीमा सहजता प्रदान गर्नका लागि कृषि औजार वितरण गरिएको बताउनु भयो ।
पातारासि क्षेत्र तरकारी पकेटका रुपमा विकास भएकाले किसानहरुलाई औजार दिईएको उहाँको भनाइ छ । औजार वितरण गरेपछि काममा सहजता हुनुका साथै उत्पादनमा वृद्धि हुने योगिले बताउनु भयो । उहाँका अनुसार किसानहरुको खेति प्रणाली सुधार गर्न कृषि औजार उपलब्ध गरिएको जानकारी गराउनु भयो ।
कृषि औजार पाउनु भएका तुलराम बोहोराका अनुसार तरकारी खेति गर्नको लागि सहज हुने बताउनु भयो । औजारको अभावले तरकारी सोचे जस्तो फलाउन नसकेको भन्दै उहाँले अब सहज हुने प्रतिक्रिया दिनुभयो । तरकारी खेती गर्ने किसानको आवश्यकताई बुझेर औजार दिएकोमा उहाँले सहयोगि दातालाई धन्यवाद दिनु भएको छ ।
अर्का किसान गोरी बुढाले हिउदको समयमा पनि तरकारी फलाउन सकिने बताउनु भयो । किसानको आयआर्जन र जिवीकोपार्जनमा सहयोग पुग्ने उहाँको बुझाइ छ । किसानले उत्पादन गरेका कृषिवस्तुलाई बजारीकरण गर्न स्थानीय सरकारले सहयोग गरिदिनु पर्ने उहाँको भनाइ छ । वल्र्डभिजन इन्टरनेश्नल नेपालको सहयोग र किर्डाक नेपाल जुम्लाद्धारा संचालित पोषण तथा उत्थानशिल जीविकोपार्जन कार्यक्रमबाट किसानहरुलाई कृषि औजार वितरण गरिएको बताउनु भयो ।