जुम्लामा गाँजा फडानी अभियान – Karnali News

जुम्लामा गाँजा फडानी अभियान

 ५ भाद्र २०७८, शनिबार १४:२६  

नौरते नेपाली, भाद्र ५ जुम्ला

जुम्लामा प्रहरी प्रशासनले गाँजा फडानी अभियान सुरु गरेको छ । स्वतः उम्रेर झाँगिएको गाँजा सरोकारवाला निकायको सहभागितामा शनिबार फडानी गरिएको हो । चन्दननाथ भैरवनाथ गुठीको जग्गामा उम्रेको गाँजा नष्ट गरिएको छ । चन्दननाथ नगरपालिकाको बजार क्षेत्रमा प्राकृतिक रुपमा उम्रेको गाँजा फडानि गरिएको प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईले बताउनु भयो ।

बजारका विभिन्न स्थानमा आफै उम्रेको गाँजा फडानी गर्नको लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीलाई परिचालन गरिएको उहाँको भनाइ छ । कानूनी रुपमा बन्देज गरिएको गाँजाको उपभोग गर्नबाट बन्देज गर्न फडानी अभियान सुरु गरिएको उहाँले जानकारी गराउनु भयो ।

भाँगोको पातबाट चरेस बनाई प्रयोग गरि समाजमा विभिन्न किसिमका अपराधिक क्रियाकलाप हुनबाट बचाउन परिपक्क नहुँदै पहिले गाँजा फडानी अभियान सुरु गरिएको प्रसाईले बताउनु भयो । उहाँका अनुसार युवालाई लागु औषध दुव्र्यसनिको प्रयोग रोक्नको लागि फडानी अभियान थालिएको जानकारी गराउनु भयो ।

भाँगो जन्यवस्तुबाट उत्पादन हुने कुरालाई रोकावाट गर्नको लागि परिपक्क हुनु पहिले फडानि अभियान सुरु गरेको प्रसाईको भनाइ छ ।अनुमानित ४० रोपनि अर्थात ३ विगाह जमीनमा रहेको गाँजा फडानि भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख दानवहादुर थापाले जानकारी गराउनु भयो ।

जुम्लाको चन्दनाथ भैरवनाथ गुठीको जग्गा, बसपार्क, जुगाडखोला, नन्दबक्स गण जानेबाटो र विजयनगर तिरको बाटोमा उम्रीएको गाँजा फडानि गरिएको उहाँको भनाइ छ । लागु औषध दुव्र्यसनिलाई रोक्न र युवा पिडिलाई कूलतबाट बचाउन गाँजा नष्ट गर्ने अभियानको सुरुवात भएको उहाँको भनाइ छ ।

लागु औषधले गर्दा कलेजमा पढ्ने विद्यार्थी बढी प्रभावित भएको भन्दै थापाले गाँजालाई गलत रुपमा प्रयोग हुनबाट रोक्नको लागि फडानि अभियान सुरु भएको जानकारी गराउनु भयो । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जुम्लामा गाँजा फडानि गरिएको उहाँको भनाइ छ । जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख कार्मा बुढाले युवा पिडिलाई गाँजाले कूलतमा सहभागि गराउने भएकाले फडानी अभियानले रोकथामको काम गरेको प्रतिक्रिया दिनुभयो ।

जुम्ला सदरमुकाम र गाउँका विभिन्न स्थानमा आफै उम्रेको गाँजा फडानी गर्दा कूलतमा लागेकाहरुलाई रोक्न सकिने उहाँको भनाइ छ । जुम्ला बजारमा गाँजाको खेति गरि कारोबार नहुने गरेतापनि रोकथाम गर्नु पर्ने बुढाले बताउनु भयो । गाँजा र धतुरोका विरुवा उम्रीने बेला देखिनै नष्ट गर्ने अभियानमा सहभागि हुँदा न्युनिकरणमा सजिलो हुने नागरिक समाज जुम्लाका संयोजक राजवहादुर महतको सुझाव छ ।

भाँगोलाई फाडानि भन्दा पनि यसको प्रयोग तिर जोड दिनु पर्ने उहाँको भनाइ छ । भाँगोबाट निर्माण हुने गलत कुरालाई रोकथाम गर्दै संरक्षण गरेमा फाइदा हुने महतले जानकारी गराउनु भयो । भूमि सम्बन्धि समस्या समाधान आयोगका विज्ञ सदस्य सुमन आचार्यका अनुसार राज्यले बन्देज गरेको गाँजा फडानीले समाजमा सकरात्मक सन्देश दिएको बताउनु भयो ।

गाँजाको प्रयोग गरि धेरै युवाहरु कूलतमा फसेको भन्दै उहाँले भदौ १५ पछि परिपक्क हुने गाँजालाई त्यो भन्दा पहिले नै फडानी गर्नु राम्रो भएको बताउनु भयो । कानूनी रुपले बन्देज गरेको गाँजा स्थानीय स्तरमा विकृतिका रुपमा फैलिएको हुनाले रोकथाम आवश्यक रहेको आचार्यको भनाइ छ ।

जुम्लाका विभिन्न स्थानमा उम्रिएको गाँजालाई फडानी गर्दे कूलतमा सहभागि भएकाहरुलाई निरुत्साहित गर्नु पर्ने उहाँको सुझाव छ । शनिबारका दिन जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख कार्मा बुढा, प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाई, जिल्ला प्रहरी कार्यालय जुम्लाका कार्यालय प्रमुख दान बहादुर थापा, शसस्त्र प्रहरी बलका एसएसपि गगनकुमार श्रेष्ठ लगायतको टोलीले संयुक्त रुपमा उक्त गाँजा नष्ट गरेको हो ।

प्रत्येक स्थानीय तहमा रहेका सुरक्षा निकायले गाँजा फडानी गर्ने जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । ग्रामिण क्षेत्रमा स्थानीयले अचारको दाउन बनाउन, औषधी बनाउन, तथा शिवरात्रीमा प्रसाद बनाउन गाँजा अर्थात भाँगोको प्रयोग गर्ने गर्दछन् । भाँगोबाट उत्पादन भएको तेल शरीरमा लगाउँदा बाथरोगको काम गर्ने जनविश्वास रहेको छ ।

जुम्लामा कुनै बेला बाहिरबाट तेल आयत नहुँदा भाँगोको दानाबाट तेल उत्पादन हुने गरेको थियो । उपयोगिता र फाईदाका बारेमा अनविज्ञ भएकाहरुले प्राकृतिक रुपमा उम्रिएको भाँगोलाई नष्ट गर्नु राम्रो कार्य नभएको स्थानीय रामसिंह रावलले बताउनु भयो । उहाँका अनुसार जुम्लाको जीवन पद्धतिसँग जोडेर भाँगोको विषयलाई पाठ्यक्रममा समावेश गर्नु पर्ने बताउनु भयो ।

प्रहरी प्रशासनले प्राकृतिक रुपमा उम्रेको भाँगोलाई नष्ट गर्नु भन्दा कानूनी प्रक्रिया पुरा गरि फाईदाका विषयमा ध्यान दिनु आवश्यक रहेको उहाँको सुझाव छ ।