अपरिपक्क स्याउ नटिप्न कृषि विज्ञहरुको सुझाव – Karnali News

अपरिपक्क स्याउ नटिप्न कृषि विज्ञहरुको सुझाव

 १ भाद्र २०७८, मंगलवार ०७:२४  

नौरते नेपाली, साउन ३२ जुम्ला
जुम्लाका किसानलाई अपरिपक्क अवस्थामा स्याउ नटिप्न सुझाव दिइएको छ । अपरिपक्क अवस्थामा स्याउ टिप्दा स्याउको गुणस्तर खस्किदै जादा पहिचान गुम्ने खतरा बढेकोले परिपक्क भइसकेपछि मात्रै स्याउ टिप्न आग्रह गरिएको हो । कृषि प्राविधिकका अनुसार भदौ पहिलो साता पछि मात्रै स्याउ टिप्दा उपयुक्त मानिन्छ ।

नपाकेको स्याउ टिप्दा बजारीकरणमा चुनौति हुने र पहिचान गुम्ने कृषि विकास कार्यालय जुम्लाका सूचना अकिारी कमला थापाले जानकारी दिनुभयो । उहाँले सुरक्षित स्याउ टिपाई तथा बजारीकरणका लागि जोड दिन आग्रह गर्नु भयो । साउन महिनामै अपरिपक्क स्याउ किसानहरुले टिपेर जिल्ला बाहिर गएको सुन्नमा आएकाले यस्तो कार्य नगर्न उहाँको सुझाव छ ।

परिपक्क र स्याउको रंग ७० प्रतिशत भन्दा माथी भइसकेपछि मात्रै बिक्रि गर्न किसानलाई थापाले आग्रह गर्नु भएको छ । भदौ महिनाको पहिलो हप्ता भन्दा अगावै स्याउ बिक्रि गर्ने किसान र ब्यापारीलाई कारबाहीको दायरामा ल्याउने प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईले बताउनु भयो ।

काँचो र अपरिपक्क स्याउ बाह्य बजारमा गएकै कारण स्याउको पहिचान गुमेको उहाँको ठम्याई छ । स्याउ प्याकेजिङ्गमै समस्या समस्य छ, उहाँले भन्नुभयो, स्याउको बजार पहिचान गरी स्याउ लिन व्यापारीलाई आग्रह गर्नु भएको छ । किसान हतारिन जरुरी छैन उहाँले भन्नुभयो, बगैचामा पाकेको स्याउ बेच्नुको आनन्द लिनुहोस् ।

किसानमा जनचेतनाको कमी रहेका कारण बजारकरीकारणमा चुनौति देखिएका उहाँले भन्नुभयो, स्याउ फुल्नु भन्दा पहिले जुम्लाको स्याउको बजार पहिचान गर्न आवश्यक छ । किसान र ब्यापारी बिचमा समन्वय गरेर लिदा जुम्लाको स्याउको बाह्य बजारमा बिक्रिका लागि उपयुक्त हुने उहाँको तर्क छ ।

साउन महिनादेखि केही स्याउ पाक्न थाले पछि अहिले जुम्लाका स्याउका बगैचा राताम्मे भएका छन् । कृषि विकास कार्यालय जुम्लाको तथ्यांक अनुसार जुम्लाको ३ हजार ८ सय ८५ हेक्टर क्षेत्रफलमा स्याउका विरुवा रोपिएका छन । त्यो मध्ये १ हजार ५ सय ५४ हेक्टरमा स्याउ फल्ने गरेको थापाले बताउनु भयो ।

जुम्लामा इटालियन फुजी र गाला नामक स्याउ समेत फल्न थालेको छ । यो बर्ष चाँडै रातो भएको र गुलियो हुन अझै समय लाग्ने थापाले बताउनुभयो । वि.सं २०३२ सालमा तत्कालनि रानी ऐश्वर्यको जुम्लामा भ्रमण भए पछि यहाँको चन्दननाथ नगरपालिका तथा तत्कालिन कार्तिकस्वामीको गैरागाउँँमा स्याउको वागवानी केन्द्र स्थापना भएको भएको हो ।

वागवानी केन्द्रमा रानीको आगमन पछि बि.सं २०३४ सालमा स्याउका विरुवाहरु उत्पादन गर्दै जिल्लाका केही स्थानमा किसानहरुले नमूनाको रुपमा अगाडि बढाएका हुन् । अहिले जुम्लामा कम्तिमा १२ जातका स्याउहरु फल्ने कृषि विज्ञहरुले बताएका छन ।