
नौरते नेपाली, साउन २९ जुम्ला
बालविवाह न्युनिकरणमा एकजुट हुने कनकासुन्दरी गाउँपालिका ७ रोकाया वाडाका अभिभावकले प्रतिबद्धता जनाएका छन् । गरिबी, अशिक्षा र जनचेतनाको कमिले समाजमा बालविवाह हुने गरेको भन्दै उनिहरुले न्युनिकरणमा एकजुट हुने प्रतिवद्धता जनाएका हुन् । प्लान इन्टरनेश्नल नेपालको सहयोग र आत्म सम्मानका लागि सहकार्य (क्याड) नेपाल जुम्लाको आयोजनामा बाल विवाह सम्बन्धि अन्तरपुस्ता संवाद कार्यक्रममा सहभागिहरुले यस्तो प्रतिवद्धता गरेका हुन् ।
समुदायमा हुने बाल विवाह कानुनी तथा सामाजिक अपराध हो भनी बुझाउने रोकायावाडाका स्थानीय राजु रोकायाले बताउनु भयो । गाउँमा बाल विवाह भएमा भोज खान बोलाउदा उमेर पुगेको हो की होईन भनेर सोध्ने गरेको उहाँको भनाइ छ । उमेर नपुगि भएको विवाहको भोजमा सहभागि नहुने रोकायाले बताउनु भयो ।
उहाँका अनुसार उमेर नपुगी हुन लागेको विवाहमा ज्योतिषले लगन नदिने, मुगलेरीहरुले मागल भन्न नाजने र बाजा बजाउनेहरु नगएमा बाल विवाह न्युनिकरण आफै हुने उहाँको बुझाइ छ । बाल विवाहले शारीरिक र आर्थिक रुपमा कमजोर पारेको अर्का स्थानीय लछिमा रोकायाले बताउनु भयो ।
उमेर नपुगि विवाह भएमा पाठेघरमा समस्या हुने र कुपोषित बच्चा जन्मिन सक्ने उहाँको भनाइ छ । बाल विवाहले शारीरिक तथा मानसिक असर गर्नुका साथै महिला हिंसाका घटना हुने अर्का स्थानीय सवित्रा टेवकोटाको भनाइ छ । बाल बिवाह न्युनिकरणमा अभिभावकले आफ्ना छोराछोरी सम्झाई बुझाइ गर्नु पर्ने उहाँले बताउनु भयो ।
छोरीलाई दाइजो दनिु भन्दा राम्रोसँग पढाई लेखाइ गरि दिएमा आफ्नो खुट्टामा उभिएर जीवन चलाउन सक्ने देवकोटाको बुझाइ छ । मनिथोका रोकायाका अनुसार गाउँमा बाल विवाह न्युनिकरण भएको बताउनु भयो । स्थानीय नागरिकमा आएको जनचेतनाले गर्दा बाल विवाह न्युनिकरण भएको उहाँको भनाइ छ ।
कानूनले पनि बाल विवाह गर्न रोक लगाएको हुनाले केहिहदसम्म बाल हुनबाट रोकिएको रोकायाले जानकारी गराउनु भयो । किशोरकिशोरी पढेलेखेका र अभिभावकहरु शिक्षित भएकाले बाल विवाह एकदमै कम हुने गरेको उहाँले सुनाउनु भयो । शिक्षाको कमीले दलित समुदायमा अझै पनि बाल विवाह हुने गरेको उहाँको भनाइ छ । बाल विवाह गर्ने र गराउनेलाई ३ बर्ष जेल सजायका साथै २० हजार जरीवाना लाग्ने कानुनी प्रावधान रहेको छ ।
मुलुकी ऐनको पछिल्लो संशोधनमा विवाह गर्न २० वर्ष पूरा गर्नुपर्ने प्रावधान भए तापनि हाम्रो समाजमा बालविवाह जस्तो सामाजिक कुप्रथा अझै पनि कायमै छ । पारिवारिक समन्वयको अभाव, कानुनी अनभिज्ञता, घरायसी कामको स्वार्थ, सामाजिक सञ्जालको पहँुच, आधुनिकता र बढ्दो खुलापनको कारण उमेर नपुग्दै विवाह बन्धनमा बाँधिने गरेका छन् ।