
कालीवहादुर परियार, साउन २८ जुला
गुठिचौर गाउँपालिका वडा नम्बर ३ मा दामदासेमा रहेको देउराली आधारभूत विद्यालयका बालबालिकाहरुलाई भित्ते चित्रबाट पढाउने तयारी गरिएको छ । पाठ्य पुस्तकबाट पढाउँदा उनिहरुको ध्यान पढाईमा नजाने भएकाले भित्ते चित्रबाट पढाउने तयारी गरिएको हो । कोरोनाले विद्यालय बन्द रहेका बेला कक्षा कोठाका भित्ताहरुमा विभिन्न ज्ञानमुलक कुराहरु लेखिएका छन् ।
विद्यालय खुलेपछि उनिहरुलाई भित्ते चित्रका आधारमा पढाउने तयारी गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिम वहादुर भण्डारीले जानकारी दिनु भयो । विद्यालयमा आउने विद्यार्थीले किताब ल्याउन नपर्ने उहाँको भनाइ छ । शिक्षण गर्ने शैलिमा परिवर्तन गर्दै नानीबाबुको पढाईमा नयाँपन दिन खोजिएको भण्डारीले जानकारी गराउनु भयो ।
अहिले कक्षा कोठाका भित्ताहरुमा चित्र बनाउने र विभिन्न ज्ञानमुलक कुराहरु लेखिएका उहाँको भनाइ छ । देउराली आधारभूत विद्यालयमा रहेको २ कोठे भवनका भित्ताहरु हाल रंगिएका छन् । नानीबाबुको सिकाईमा सहज गराउन विद्यालयले कक्षा कोठाका भित्ता रंगिन गरेको हो । गुठीचौर गाँउपालिकाको एक लाख रुपैयाँको आर्थिक सहयोगमा कक्षा कोठाका भित्तामा चित्र बनाईको अध्यक्ष भण्डारीले जानकारी गराउनु भयो ।
अध्यक्ष भण्डारीका अनुसार बालबालिकाहरु किताबमा भएका अक्षरहरु भन्दा भित्ते चित्रबाट छिटो बुझ्ने भएकाले गाउँपालिका सँग समन्वय र सहकार्य गरेर बिद्यालयमा यस्तो बनाईएको बताउनु भयो । बिषेश गरी साना बालबालिकाहरुलाई सजिलो तरिकाले सिकाउनको लागि भित्ताहरुमा चित्र बनाइएको शिक्षक गणेश बुढाले बताउनु भयो ।
उहाँका अनुसार यस कार्यले शिक्षाको विकास र साना बालबालिकाहरुलाई पढाईमा सहज हुने अपेक्षा गरिएको जानकारी भयो । शिक्षक बुढाका अनुसार कबालबालिकाले चित्र हेरेर बुझ्न सक्ने र छिटो अक्षर चिन्न सक्ने भएकाले विद्यालयको २ कोठे भवनको भित्तामा स्वर वर्ण, व्याञ्जन वर्ण, अंग्रेजी अंक, नेपाली अंक तालिका, सात बार, बाह्र महिनाका नाम, राष्ट्रिय गान र राष्टिय चिन्हहरु लगायतका चित्रहरु बनाईएको जानकारी दिनु भयो । कमजोर विद्यार्थीहरुका लागि सहयोग हुनुका साथै अन्य समयमा पनि सिकाउने तरिकाले भित्ते चित्र बनाईएको शिक्षक बुढाको भनाइ रहेको छ ।