ढटेलोको पर्याप्त जानकारी नहुँदा सदुपयोग हुन सकेन – Karnali News

ढटेलोको पर्याप्त जानकारी नहुँदा सदुपयोग हुन सकेन

 २४ श्रावण २०७८, आईतवार १९:१०  

नौरते नेपाली, साउन २४ जुम्ला
जुम्लाका वनपाखामा पाईने ढटेलो नामक वनस्पतीबारे पर्याप्त जानकारी नहुँदा सदुपयोग हुन सकेको छैन् । जुम्लाका विभिन्न स्थानमा पाईने ढटेलोको दानाबाट निस्कीने तेललाई बजारीकरण गरेर मनग्य आम्दानी गर्न सकिने भएपनि फाईदाबारे जानकारी नहुँदा वर्षेनी खेर गईरहेको छ । ढटेलो प्रजातिका विरुवा प्रशस्त मात्रामा पाईने भएपनि आवश्यक खोज तथा अनुसन्धान हुन सकेको छैन् ।

वनको संरक्षण गर्दै तेलमा उत्पादनमा गर्ने उद्देश्यले पेश नेपालले तिला गाउँपालिका वडा नम्बर २ को लर्मी गाउँमा रहेको नारायणदेव सामुदायिक वनमा ढटेलोको विरुवा रोपण गरेको छ । पहिरो जाने ठाउँमा ३६ हजार ७० वटा ढटेलोको विरुवा रोपण गरिएको पेश नेपाल जुम्लाका विष्णु प्रसाद लुइटेलले जानकारी गराउनु भयो ।

उहाँका अनुसार ढटेलोबाट उत्पादन हुने तेलबाट किसानहरुको आयआर्जनमा सहयोग गर्ने हेतुले ढटेलोका विरुवा रोपिएको बताउनु भयो । वनमा पहिरो जान रोकिने भन्दै उहाँले लर्मी गाउँका नागरिकको बुहप्रयोगका लागि ढटेलोका विरुवा रोपिएको बताउनु भयो । ढटेलोको दानाबाट निस्कने तेलबाट समृद्धि हासिल गर्न सकिने उहाँले बताउनु भयो ।

उहाँले जुम्लाका विभिन्न क्षेत्रमा आफूले अध्ययन गर्ने क्रममा प्रशस्त मात्रामा ढटेलो रहेको पाएपनि सदुपयोग हुन नसक्नु दुःखद भएको जानकारी गराउनु भयो । परा–पूर्वकालदेखि मानिसहरुले ढटेलोको तेल निकाली दियो बाल्ने, शरीरमा घस्ने तथा खाने तेलको रुपमा प्रयोग गर्दै आएको तिला गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष कलीवहादुर रावतले बताउनु भयो ।

उहाँका अनुसार स्याउ बगैँचा वरिपरि विरुवा लगाएमा घेरबारको काम हुने र दानाबाट तेल निकाल्न सकिने बताउनु भयो । स्थानीय बासिको चेतनाको कमीले ढटेलोका विरुवालाई काटेर नष्ट गर्ने काम भएको उहाँको भनाइ छ । पछिल्लो पुस्ताले ढटेलोको उपयोगिता र फाईदाबारे जानकारी नपाउँदा नाम समेत बिर्सि सकेको उहाँले बताउनु भयो ।

वनजंगलमा समेत विगतमा जस्तै सहजै पाउन मुस्कील पर्ने गरेको उहाँको भनाइ छ । ढटेलोको उपयोगिता बारे जानकारी नहुँदा संरक्षण नगरिदा लोप हुने अवस्थामा पुगेको अध्यक्ष रावतले बताउनु भयो । उहाँले अहिले पहिलेको जस्तै जंगलमा जताततै ढटेलो पाउन मुस्कील पर्ने गरेको सुनाउनु भयो । ढटेलोको तेल एक हजार रुपैयाँ भन्दा बढीमा विक्रि हुने गरेपनि उत्पादन नहुने गरेको उहाँको भनाइ छ ।

जुम्लामा जताततै पाईने ढटेलोको तेल निकालेर निर्यात गर्न सके ढटेलो बाटै सम्वृद्ध तिला गाउँपालिका बन्न सक्ने सम्भावना रहेको रावतले बताउनु भयो । ढटेलोको प्रयोगले पेट सफा गरेर विभिन्न रोग निको हुने, यसको तेलबाट शरीमा मालिस गरे जोर्नीको दुःखाई र बाथ रोग समेत ठिक हुने जनश्विास रहेको अध्यक्ष रावतको भनाइ छ ।

नेपाल सरकार वन तथा वातावारण मन्त्रालय, विश्व खाद्य कार्यक्रम, क्याप्स कर्णाली परियोजना अन्तर्गत पेस नेपालको साझेदारीमा लर्मी गाउँमा ढटेलोका विरुवा रोपिएको हो ।