राज्य संचालनमा सहयोग गर्न पत्रकारलाई प्रदेश प्रमुख ः कलौनीको आग्रह – Karnali News

राज्य संचालनमा सहयोग गर्न पत्रकारलाई प्रदेश प्रमुख ः कलौनीको आग्रह

 २३ श्रावण २०७८, शनिबार १६:०१  

नौरते नेपाली, साउन २३ जुम्ला
कर्णाली प्रदेश प्रमुख गोबिन्द प्रसाद कलौनीले राज्य संचालनमा सहयोग गर्न पत्रकारहरुलाई आग्रह गर्नु भएको छ । राज्यको चौथो अंगको भूमिका निर्वाह गर्दै राज्य संचालनमा सहयोग गर्न उहाँले पत्रकारहरुलाई अनुरोध गर्नु भएको हो । भ्रमण तथा अवलोकन गर्न जुम्ला आउनु भएका कलौनीले शनिबार पत्रकाहरुसँग भेटघाट गर्ने क्रममा यस्तो बताउनु भएको हो ।

उहाँले व्यवस्थापिक, कार्यपालिका र न्यायपालिकाले गरेको कामलाई पनि पत्रकारहरुले बाहिर ल्याउने भएकाले राज्य संचालनमा पत्रकारहरुको सहयोग महत्वपूर्ण हुने बताउनु भयो । प्रदेश प्रमुख कलौनिका अनुसार जनतालाई सत्य, तथ्य र वास्तविक सूचना प्रवाह गर्ने काम पत्रकाहरुले गर्दै आएको बताउनु भयो ।

जनतालाई सहि सूचना दिने पत्रकारहरुले विश्वसनियता कायम गर्न सक्नु पर्ने उहाँको सुझाव छ । पक्षपात नगरी स्वतन्त्र र निष्पक्ष भएर पत्रकारहरुले कलम चलाउनु पर्ने उहाँको भनाइ छ । गलत सूचना प्रवाह भएमा नागरिकको विश्वास घट्ने भन्दै उहाँले वास्तविकतामा आधारित भएर सूचना दिनु पर्ने बताउनु भयो ।

एक फरक प्रशंगमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला कर्णालीको गौरव भएको उहाँले प्रतिक्रिया दिनुभयो । कर्णाली प्रदेशभरी प्रतिष्ठान जतिकै गुणस्तरीय स्वास्थ्य सेवा कतै नभएको उहाँको भनाइ छ । कर्णालीको प्रतिष्ठा र जुम्ली जनताको स्वास्थ्य सेवाका लागि प्रतिष्ठानको गरिमालाई अझै उच्च बनाउनु पर्ने उहाँले बताउनु भयो ।

प्रदेश प्रमुख कलौनिले कर्णाली प्राविधिक शिक्षालयको विकास र संरक्षणमा ध्यान दिनु पर्ने बताउनु भयो । प्राविधिक जनशक्ति उत्पादनमा शिक्षालयले खेलेको भूमिका मत्वपूर्ण र प्रशंसा गर्न योग्य रहेको उहाँको भनाइ छ । प्रदेश प्रमुख कलौनिका अनुसार शिक्षालयबाट उत्पादन भएका ७० प्रतिशत भन्दा बढी जनशक्तिले बजारमा प्रत्यक्ष रोजगारी पाएको बताउनु भयो ।

देशका लागि आवश्यक पर्ने दक्ष जनशक्ति प्राविधिक शिक्षालयले उत्पादन गरेकोमा उहाँले धन्यवाद समेत दिनु भएको छ । जुम्लाको जनजीवन र भूगोल अध्ययन गर्ने अवसर प्राप्त भएको भन्दै उहाँले जुम्लाको हावपानी र भूगोल एकदमै राम्रो रहेको बताउनु भयो । जुम्ला कर्णाली प्रदेशका अन्य जिल्ला भन्दा सुगम रहेको उहाँले अनुभव सुनाउनु भयो ।

प्राकृतिक विपद् र अन्य क्षेत्रबाट जुम्ला सुरक्षित रहेको उहाँको भनाइ छ । जुम्लाले विकास र समृद्धिमा अरु जिल्ला भन्दा छिटो फड्को मार्न सक्ने भन्दै उहाँले प्रदेश सरकारलाई आवश्यक सल्लाह र सुझाव दिने बताउनु भएको छ । शनिबारकै दिन प्रदेश प्रमुख कलौनि सुर्खेत फर्कि सक्नु भएको छ ।