तिलाको तुहिमा हाइटेक नर्सरी निर्माण – Karnali News

तिलाको तुहिमा हाइटेक नर्सरी निर्माण

 २२ श्रावण २०७८, शुक्रबार ०७:३४  

नौरते नेपाली, साउन २१ जुम्ला
तिला गाउँपालिका वडा नम्बर ७ तुहि गाउँमा २८ लाख रुपैयाँको हाइटेक नर्सरी निर्माण भएको छ । विभिन्न प्रजातिका विरुवा उत्पादन गर्ने उद्देश्यले हाइटेक नर्सरी निर्माण गरिएको हो । नेपाल सरकार वन तथा वातावारण मन्त्रालय, अनुकूलन कोष, विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोग र पेश नेपाल जुम्लाको साझेदारीमा संचालित क्याप्स कर्णाली परियोजना अन्तर्गत हाइटेक नर्सरी निर्माण गरिएको हो ।

निर्माण गरिएको नर्सरीमा डालेघाँस, बकाइनो, निवारो, खनिउ, पालमोनिया, किम्बो र बुद्धचित्रका विरुवा उमारीएको छ । नर्सरीमा उत्पादन गरिएको विरुवाहरु खालि रहेको वनमा वृक्षारोपण गरिने छ । जलवायु परिवर्तनले पारेको असरलाई कम गर्दै स्थानीय बासिलाइ अनुकूलन गराउनको लागि हाइटेक नर्सरी निर्माण गरिएको पेश नेपाल जुम्लाले जनाएको छ ।

नर्सरीमा उत्पादन गरिएका विरुवा तुहि गाउँका नागरिकलाई निःशुल्क उपलब्ध गराइने पेश नेपाल जुम्लाका वन प्राविधिक विष्णु प्रसाद लुइटेले जानकारी गराउनु भयो । उहाँकै प्राविधिक सहयोगमा हाइटेक नर्सरी निर्माण गरिएको हो । उहाँका अनुसार नर्सरीमा जडिबुटी अन्तर्गत अतिस र टिमुरका विरुवा पनि राखिएको बताउनु भयो ।

नागरिकको जीवन स्तर सुधार गर्दै र जीविको पार्जनमा सहयोग गर्न खोजिएको लुइटेको भनाइ छ । हाइटेक नर्सरी वरिपरि हर्बल टि, पिज्जा, मासु र पुलाउका लागि प्रयोग गरिने रुख प्रजातिका १७ सय विरुवा रोपिएको उहाँले बताउनु भयो । वनको संरक्षण हुनुका साथै स्थानीय नागरिकको जीवनस्तरमा सुधार गर्न खोजिएको लुइटेलले बताउनु भयो ।

हाइटेक नर्सरीका सचिव जग बुढाले विरुवा उत्पादन भइ सकेपछि वातावारण संरक्षणमा सहयोग पुग्ने बताउनु भयो । उजाड बन्दै गएको वन संरक्षण हुने उहाँको भनाइ छ । नर्सरी वरिपरि लगाईएका विरुवा हुर्केमा स्थानीय नागरिक रोजगारी हुने बुढाले जानकारी गराउनु भयो । घर वरिपरि रहेको खाली जग्गामा विरुवा लगाएर वातावारण संरक्षण गर्न सहयोग पुग्ने उहाँले बताउनु भयो ।

रोजमेरी समिति अध्यक्ष निराजन बुढाले नगद आम्दानी हुने प्रजातिका विरुवाबाट धेरै आम्दानी गर्न सकिने बताउनुभयो । खाली रहेको वनमा विभिन्न प्रजातिका विरुवा लगाइने हुदा आम्दानी र रोजगारीको लागि सहज हुने उहाँको बुझाइ छ । यसैगरि, हिमा गाउँपालिका वडा नम्बर ६ र ७ मा रहेको जोखिमयुक्त ठाउँमा ३५ सय डालेघाँस सहितका रुख प्रजातिका विरुवाहरु रोपिएको छ ।

बाढी पहिरो र भूक्षय रोक्नको लागि खाली रहेको जमीनमा रुख रोपिएको हो । यस्तै, तिला गाउँपालिका वडा नम्बर ७ तुहिको माझपातल सामुदायिक वनमा ३ हजार र तातोपानी गाउँपालिका ७ सर्मिमा ४६ सय डाले घाँस सहित रुख प्रजातिका विरुवा रोपिएको पेश नेपाल जुम्लाले जनाएको छ ।

जसले जलवायु परिवर्तन, अनुकूलन र जीविको पार्जनमा सहयोग गर्ने माझपातल सामुदायिक वनका अध्यक्ष मुनिलाल बुढाले बताउनु भयो । उहाँका अनुसार हरियो वन नेपालको धन भन्ने उखानलाई यर्थाथमा उत्रान र वनको संरक्षण गर्न बृक्षारोपण कार्यक्रमले सहयोग गर्ने बताउनु भयो ।