
नौरते नेपाली, साउन १५ जुम्ला
नेपाल शिक्षक महासंघमा आवद्ध शिक्षकहरु रिले अनशन गरेका छन् । विभिन्न ३४ बुँदे माग राख्दै आन्दोलन थालेको महासंघले चौथो चरणको आन्दोलन अन्तर्गत रिले अनसन गरेको हो । सरकारले महासंघको मागलाई बेवास्ता गरेको भन्दै शुक्रबारबाट शिक्षकहरु अनशनमा बसेका हुन् । महासंघमा आवद्ध शिक्षकहरु शिक्षा विकास तथा समन्वय इकाई जुम्लामा अनशन बसेको नेपाल शिक्षक महासंघ कर्णाली प्रदेशका सचिव रामवहादुर रावलले बताउनु भयो ।
सरकारले महासंघ सँग गरेको ३४ बुँदे सहमति कार्यान्वयन हुनुपर्ने उहाँको भनाइ छ । सहमति गरेर पनि कार्यान्वयन नभएपछि आन्दोलनमा उत्रिनु परेको उहाँले बताउनु भयो । शिक्षक र कर्मचारी बिचको विभेदको अन्त्य हुनु पर्ने, बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी र शिक्षक अस्पताल हुनु पर्ने लगायत ३४ बुदे शैक्षिक माग राख्दै रिले अनसन बसेको एकिकृत नेपाल शिक्षक संघगठनका सचिव जयशंकर धितालले बताउनु भयो ।
स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्डहरु पुरा गरि शिक्षकहरु आन्दोलनमा बसेको उहाँको भनाइ छ । नेपाल शिक्षक संघ र एकिकृत नेपाल शिक्षक संघगठनमा आवद्ध शिक्षकहरु रिले अनसनमा बसेको धितालले जानकारी गराउनु भयो । देशभर करीब ३ हजार शिक्षक रिले अनशनमा सहभागी भएको धितालले जानकारी गराउनु भयो ।
यसैगरी महासंघले साउन २२ गते शुक्रबार सानोठिमी स्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा र साउन २९ गते शुक्रबार बालुवाटार स्थित प्रधानमन्त्री निवास अगाडि धर्ना दिने कार्यक्रम तय रहेको जनाएको छ ।
महासंघले प्रारम्भिक बाल कक्षा शिक्षक तथा कर्मचारीको तलब वृद्धि संघीय शिक्षा ऐन अनुसार हुनु पर्ने, कोभिड विरुद्धको खोपको व्यवस्था हुनुपर्ने, कोभिडका कारण मृत्यु भएका शिक्षक परिवारलाई क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने, आन्तरिक परीक्षाबाट बहिर्गमनमा परेका अस्थायी शिक्षकलाई तत्काल गोल्डेन हेन्डसेक दिनुपर्ने लगायतका माग गर्दै आन्दोलन गरि रहेका छन् । शिक्षकहरुको आन्दोलनका कारण कतिपय स्थानमा ११ कक्षाको परीक्षा समेत स्थगित भएको छ ।