खाम्बा नेपालीको घर सहयोगी मन बाट निर्माण हुँदै – Karnali News

खाम्बा नेपालीको घर सहयोगी मन बाट निर्माण हुँदै

 १३ श्रावण २०७८, बुधबार ०७:४७  

कालीवहादुर परियार, साउन १३ जुम्ला
चन्दननाथ नगरपालिका वडा नम्वर ३ डाँडाकोट गाउँका खाम्बा नेपालीको घर सहयोगी मन बाट निर्माण हुँदैछ । भत्केको घरमा बस्दै आउनु भएका नेपालीको घर सहयोगी हातबाट घर निर्माण हुन लागेको हो । नेपाली अहिले ८० वर्षको वृद्ध हुनुहुन्छ । उहाँको घर परिवार भए पनि हाल एकल जीवन बिताइ रहनु भएको छ ।

श्रीमती, छोरा छोरी भए पनि अहिले उहाँको साथमा कोही छैनन् । सबैले साथ छोडेर गए पछि नेपाली अहिले एक्लो जिवन जिई रहनु भएको छ । लामो समय देखि भत्केको घरमा बस्दै आउनु भएका नेपालीको सुरक्षित बासका लागि सहयोगी हात बाटघर निर्माण गर्न थालिएको छ । सोही वडाका बुढ्थापा गाउँका स्थानीय तथा कर्णाली माध्यामिक विद्यालय अनामनगरका शिक्षक मक्कर खत्री सहित अभियन्ताको अभियानमा उहाँको घर निर्माण हुन लागेको खत्रीले जानकारी दिनुभयो ।

अभियन्ता खत्रीका अनुसार लामो समय देखि भत्केको घरमै बसिरहेको देखे पछि उहाँको बासको लागि घर बनाउने अभियान चलाएको बताउनु भयो । उहाँका अनुसार हालसम्म दुई लाख ५९ हजार रुपैयाँ बराबरको घर बनाउने स्टेमेट भए पनि यसको ५० प्रतिशत सहयोग जुटे बताउनुभयो ।

अभियन्ता खत्रीका अनुसार सुरुमा चन्दननाथ नगरपालिकाले विपद् कोषबाट ५० हजार रुपैयाँ आर्थिक उपलव्ध भएको बताउनु भयो । खत्रीका अनुसार अन्य सहयोगी मनहरुले दुई÷दुई हजारका दरले एक लाख रकम जुटेको बताउनु भयो । सवै गरी एक लाख ५० हजार रकम जुटेको उहाँको भनाइ छ । यसमा छानो छाउनका लागि जस्तापाता समेत पनि सहयोग भएको उहाँले जानकारी गराउनु भयो । शिक्षक खत्रीका अनुसार अबको दुई हप्तामा घर निर्माण कार्य सम्पन्न हुने रेडियो कर्णाली जुम्लालाई जानकारी दिनु भयो ।

खत्रीले रेडियो कर्णाली जुम्लासँग कुराकानी गर्दै विपन्न वृद्ध व्यक्ति लामो समय देखि भत्केको घरमा असुरक्षित रुपमा बस्दै आएको देखि पछि बासका लागि सबै साथी मिलेर घर बनाउने अभियानमा जुटेपछि आज यसको प्रतिफल स्वरुप नेपालीको घर बनाउन सफल भएको बताउनु भयो । उहाँका अनुसार सोमबारका दिनमा जस्तापाता छाप्ने भनेकोमा अविरल बर्षाका कारणले गर्दा अब मौषम सफा भए पछि छानो छापि सकेपछि नेपालीलाई घर हस्तान्त्रण गर्ने जानकारी दिनु भयो ।

यता बिपन्न नेपालीका अनुसार घर भत्केको धेरै समय भयो । त्यही भत्केकै घरमा बस्दै आएको बताउनु भयो । आफ्ना छोरा छोरी, श्रीमती बाहिर जिल्लामा रहेका छन । म आफ्नो घर परिवारलाई भेट्न जाँदा आफ्नै घर परिवारबाटै अपेहेलित भए पछि भत्केको घरमा बस्न बाध्य भएको सुनाउनु भयो । उहाँका अनुसार अहिले सबैको सहयोगमा बस्नका लागि घर बन्ने भएको देख्दा अत्यान्तै खुःसि भएको बताउनु भयो । नेपालीका अनुसार भत्केकै घरमा मर्ने भए भन्ने चिन्ताले रात दिन सताउने गर्दथ्यो । अब बाचुन्जेल सम्म नयाँ बनेको घरमा बस्न पाउने हुदा धेरै खुसि लागेको उहाँको भनाई रहेको छ ।