क्याड नेपालले गर्दा दातेओखर गाउँका दलित सचेत – Karnali News

क्याड नेपालले गर्दा दातेओखर गाउँका दलित सचेत

 १० श्रावण २०७८, आईतवार १८:२७  

नौरते नेपाली, साउन १० जुम्ला
कनकासुन्दरी गाउँपालिका वडा नम्बर ६ दातेओखर गाउँका दलित समुदायहरु अधिकारका बारेमा सचेत भएका छन् । दलित समुदाय माथि हुने विभेदका विषयमा दातेओखर गाउँका समुदाय सचेत भएका हुन् । गाउँमा गठन भएको दलित संजालमा आवद्ध भएबाट उनिहरु अधिकारका बारेमा सचेत भएको स्थानीय तारा सार्कीले बताउनुभयो ।

उहाँका अनुसार दलित समुदाय माथि हुने विभेद र थिचोमिचोका बारेमा सबैले खुलेर बोल्न सक्ने भएको बताउनु भयो । सार्वजनिक स्थान, पानी धारा र गाउँ घरमा दलित माथि हुने विभेदका बारेमा अरुसँग प्रतिकार गर्न सक्ने भएको ताराको भनाइ छ । उहाँका अनुसार दातेओखर गाउँमा अन्य समुदाय भन्दा दलित समुदायको बस्ति बढी रहेको सुनाउनु भयो ।

विभेदका विरुद्धमा एकजुट भएर आवाज उठाउन गाउँमा दलित संजाल गठन गरिएको उहाँले जानकारी गराउनु भयो । दलित माथि हुने विभेदका बारेमा सबैले मुख खोलेर बोल्ने गरेको अर्का स्थानीय धनरुपा सार्कीले बताउनु भयो । श्रम गरेको ज्याला माग्न जादा हेपिनु पर्ने अवस्थालाई अन्त्य गर्नको लागि गाउँका दलित समुदायहरु एकजुट भएको उहाँको भनाइ छ ।

दलित समुदाय एकजुट भएर आवाज बुलन्द गर्ने भएकाबाट हाल विभेद पनि कम भएको उहाँले सुनाउनु भयो । विभेद गर्ने शैलि परिवर्तन भएको भन्दै उहाँले नेपालबाट हरेक प्रथा हटे पनि जातिय विभेदको प्रथा कायमै रहेको बताउनु भयो । दलित माथि हुने विभेदको रुप परिवर्तन भएको उहाँको भनाइ छ ।

पटक पटक कानुन बन्दा पनि भेदभाव हट्न नसकेको हुनाले दलित र गैर दलित समुदायलाई सचेतना आवश्यक रहेको धनरुपाको भनाइ छ । नेपालको संविधानलको धारा २४ मा छुवाछूत तथा भेदभाव विरुद्धको हकको उल्लेख गरिएको भएपनि स्थानीय नागरिक कानूनका बारेमा अनविज्ञ रहेको सुकधुन वडले बताउनु भयो ।

जातिय भेदभाव तथा छुवाछूत कसूर र सजाय ऐन २०६८ कार्यान्वयनमा रहेको भएपनि प्रभाकारी रुपमा प्रयोगमा आउन नसकेको उहाँको बुझाइ छ । भेदभाव तथा छुवाछूत कार्यलाई कसूरका रुपमा परिभाषित गरी दण्ड सजायको व्यवस्था गरिएको भएपनि कार्यान्वयन निकायको कमजोरीले दलित समुदाय अन्यायमा परेको वडको अनुभव छ ।

विगतमा धेरै पटक सानो जात भएकै कारण हेपिन पुगेको भन्दै उहाँले राज्यका सबै निकायमा समानुपातिक र समावेशी सिद्धान्तको आधारमा सहभागि गराउने नीति भएपनि स्थानीय सरकारले कार्यान्वयन गर्न नसकेको बताउनु भयो । गाउँमा दलित संजाल गठन भएबाट अधिकारका विषयमा छलफल हुने गरेको उहाँले जानकारी गराउनु भयो ।

क्याड नेपाल जुम्लाले दातेओखर गाउँका दलित समुदायलाई अधिकारका बारेमा सचेत गराउँदै आएको छ । दलित समुदाय माथि हुने विभेदलाई कम गर्दे सभ्य र विभेद रहित समाज निर्माण गर्नेे उद्देश्य रहेको क्याड नेपाल जुम्लाका फिल्ड अधिकृत देवेन्द्रराज आचार्यले बताउनु भयो । सुसंस्कृत समाज निर्माणमा जोड दिईएको आचार्यको भनाइ छ ।

सबै समुदाय र मानिस कानूनको नजरमा बराबरी भएपनि परम्परागत सोचाईले गर्दा दलित माथि हुने विभेदका विषयमा क्याड नेपाल जुम्लाले वकालत र पैरवी गर्दै आएको उहाँले सुनाउनु भयो ।