
कालीवहादुर परियार, साउन ९ जुम्ला
जुम्ला गुठिचौर गाउँपालिका वडा नम्वर ३ गज्र्याङ्गकोटका चित्र बहादुर बुढा सफल ब्यवसायि बन्नु भएको छ । किर्गिस्थान, कतार र मलेसियामा ११ वर्ष कुकमा काम गर्नु भएका बुढा अहिले आफ्नै जन्मथलोमा आएर सफल व्यवसायि बन्नु भएको हो । विभिन्न देशमा बसेर आर्जन गरेको सीपलाई उहाँले अहिले उपयोग गर्नु भएको छ ।
आफ्नै जन्मभूमिमा केहि गर्नु पर्छ भन्ने सोचाईले सुर एण्ड सुपुन्ना अर्गानिक होटेल बुढाले खोल्नु भएको छ । उक्त होटल गुठीचौर गाउँपालिका वडा नम्बर ३ को गुठीचौर जाने सडकको जुमारा भन्ने ठाउँमा छ । बुढाका अनुसार अहिले जौँ र गहुँको पिठोबाट बिस्कुट र कोदाको पिठोबाट केक लगायतका अर्गानिक परिकार बनाएर विक्रि गर्दै आउनु भएको छ ।
गाउँ घरमा राम्रोसँग प्रयोगमा नआउने स्थानीय अन्नबाट उहाँले नयाँ परिकार बनाउने गर्नु भएको छ । जुम्लामा जौँ, गहुँ र कोदोलाई हेलाको बालीका रुपमा हेर्ने गरिन्छ । कोदोबाट प्राटिन र आइरन पाइन्छ भने जौँको पिठोबाट बनेका रोटि सुगरोगीले बढी प्रयोग गर्दछन् । यस्तै गहुँबाट शरीरमा आवश्यक पर्ने शक्ति प्राप्त हुने कृषि क्षेत्रका जानकारहरुले बताएका छन् ।
स्थानीय बालिबाट पाइने पोषक तत्वका बारेमा जुम्लाकै कमै मानिस जानकारी छ । स्थानीय स्तरमा जौँ, गहुँ र कोदोको पिठोबाट रोटि बनाएर बढी प्रयोग गरिन्छ । रोटि सबैले रुचाएर खादैनन् । रैथानेबाली लोपहुदै गइरहेको बेला संरक्षण गर्ने उद्देश्यले विभिन्न परिकार बनाउन थालेको बुढाको भनाइ छ ।
होटेलमा आएका पाहुनालाई स्थानीय बालिबाट बनेका परिकारको स्वाद चखाउने उद्देश्य रहेको उहाँले जानकारी गराउनु भयो । कमै मात्र प्रयोगमा आउने स्थानीय बालिको परिकार सबैको रोजाइमा पर्न थालेको होटेल व्यवसायि बुढाको भनाइ छ । होटेलमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुले स्थानीय बालिबाट बनेका परिकारको बढी माग गर्ने गरेको उहाँले सुनाउनु भयो ।
स्थानीय बालिबाट बनेका परिकारको प्रचार प्रशारको साथै बजारीकरण भएको बुढाले बताउनु भयो । विदेशमा सिकेको सीपलाई सदुपयोग गर्दै बुढाले स्थानीय बालीबाट बनाएका परिकार सबैले मन पराउन थालेको जानकारी गराउनु भयो । बिदेशमा बसेर पसिना बगाउनु भन्दा आफ्नै जन्मभूमिमा केहि गर्ने हेतुका साथ होटल ब्यवसायमा जोडिएको उहाँको भनाइ छ ।
अर्काको देशमा बसेर चिल्ला कार चढ्नु भन्दा आफ्नो देशको हिलो माटोमा सुन फलाउन सकिने उहाँको अनुभव छ । बजारमा पाइने विस्कुट भन्दा स्थानीय स्तरमा बनेका विस्कुट स्वास्थ्यका लागि निकै उपयोगि भएको बुढाको भनाइ छ । किर्गिस्तानमा गएर बुढाले बिस्कुट लगायतका अर्गानिक परिकार बनाउन सिक्नु भएको हो । बुढाले रेडियो कर्णाली जुम्लासँग कुराकानी गर्दै आफुले बनाएको अर्गानिक परिकारले बजार नपाएको गुनासो गर्नु भयो ।
सडकको कारणले बजारीकरणमा समस्या भएको बुढाले बताउनु भयो । उहाँका अनुसार बर्षा याम सुरु भएकाले सडक हिलाम्य हुँदा आन्तरिक तथा बाह्य पर्यटकहरुको आवत जावतमा कमि भएको उहाँले जानकारी गराउनु भयो । बुढाले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आफुनो अर्गानिक होटेलमा एक पटक आउन अनुरोध गर्नु भएको छ ।