धिताचौर वनस्पति उद्यान केहि समयका लागि बन्द – Karnali News

धिताचौर वनस्पति उद्यान केहि समयका लागि बन्द

 ८ श्रावण २०७८, शुक्रबार ०६:३७  

सिता कुमाई, साउन ८ जुम्ला
आन्तरिक पर्यटकको रोजाइमा परेको धिताचौर वनस्पति उद्यान केहि समय यता बन्द गरिएको छ । कोरोना महामारीको तिव्र गतिमा फैलिरहेको बेला घुम्न आउने मानिसबाट कोरोना फैलिने सम्भावना बढि भएकाले उद्यान बन्द गरिएको वनस्पति अनुसन्धान केन्द्रका प्रमुख रमेश बस्नेतले जानकारी दिनुभयो ।

बस्नेतका अनुसार उद्यानमा घुम्न आउने मानिसहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा नगरेको पाइएकाले उद्यान बन्द गरिएको जानकारी गराउनु भयो । यस वनस्पति केन्द्रको मुख्य उद्धेश्य जडिबुटिको अध्यान ,अनुसन्धान र संरक्षण गर्न भएकाले यस समयमा जडिबुटि खेतिलाई नै बढि प्राथमिकतामा राखेर काम गरिरहेको उहाँले जानकारी गराउनु भयो ।

छोटो समयमा नै जिल्ला भित्रका पर्यटकहरुको रोजाइमा परेको धिताचौर वनस्पति उद्यानमा दिनहुँ जसो आन्तरिक पर्यटन जान थालेका छन् । मानिसहरु कामको बोझ कम गर्न होस या रमाइलोको लागि होस त्यहाँ घुम्न जाने गरेका छन् । दिनहुँ जसो यस उद्यानमा १ सय ५० देखि ३ सय जति मान्छेहरु घुम्न आउने गरेका छन् ।

नेपालमा रहेका १२ वटा वनस्पति उद्यान केन्द्र मध्ये धिताचौर वनस्पति उद्यान केन्द्र पनि एक रहेको बस्नेतको भनाइ रहेको छ । यस्ता उद्यानहरु सबैका साझा भएकाले यसलाई संरक्षण र संवद्र्धन गर्न हामी सबैको साझा जिम्मेवारी रहेको समेत उहाँले बताउने भयो । यस अगि प्रचार प्रसारका लागि भएको र उद्यानको सम्पूर्ण संरचना नबनेकाले त्यहाँ घुम्न आउने मानिसलाई कुनै पनि किसिमको शुल्क लिने नगरेको पनि बस्नेतले बताउनु भयो ।

हाल धिताचौर वनस्पति अनुसन्धान केन्द्रमा अत्तिस, पदमचाल, डालेचुक लगायत अन्य विभिन्न जातका जडिबुटिको अध्ययन र अनुसन्धानको क्रममा रहेको केन्द्र प्रमुख बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार जुम्लाको वातावरणमा सुहाउने खालका वनस्पतिको अध्ययन र अनुसन्धान गरि जुम्लालाई वनस्पतिमा अगाडि बढाउने उद्देश्य रहेको उहाँको भनाइ रहेको छ ।

कोरोना कहर कम भएसँगै उद्यान पनि खुल्ले उहाँले बताउनु भयो । वनस्पति उद्यान केन्द्र सबैका साझा सम्पति भएकाले यसलाई संरक्षण, संवद्र्धधन र विकासमा सम्पूर्ण नागरीकहरुको साथ र सहयोग आवश्यक रहेको उहाँले बताउनु भयो ।