दामदासे गाउँको ७० हल जग्गा सिंचित – Karnali News

दामदासे गाउँको ७० हल जग्गा सिंचित

 २९ असार २०७८, मंगलवार ०७:३६  

नौरते नेपाली, असार २९ जुम्ला
असार २८ जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिका वडा नम्बर ३ दामदासे गाउँमा सिंचाई पुगेपछि ७० हल जग्गामा सिंचाइ पुगेको छ । प्रति घरको १० हल जग्गाको दरले ७ वटा घरको ७० हल जग्गामा सिंचाई पुगेको हो । कर्णाली प्रदेशको सहयोग र कृषि विकास कार्यालय जुम्लाको सहजीकरणमा दामदासे गाउँको ७० हल जीमनमा सिंचाई पुगेको हो ।

सिंचाई पुगेको पुरै जीम पाखो हो । उक्त जीमनमा गहुँ, जौँ, ऊवा, मकै र आलु लगाउने गरिन्छ । ७ वटा घरधुरीको बाझो रहेको जग्गामा सिंचाई पुगेको स्थानीय तथा होटल व्यवसायि नुब्रु लामाले बताउनुभयो । जीमन धेरै भएपनि सिंचाईको अभावले बाँझो रहेको जमिन प्रयोगमा आएको उहाँको भनाइ छ । कर्णाली प्रदेश सरकारको १५ लाख रुपैयाँको सहयोगमा सिंगो गाउँको जीमनमा सिंचाई पुगेको लामाले बताउनु भयो ।

उहाँका अनुसार सिंचाइको समस्याले गर्दा गहुँ र जाँै बालिको उत्पादनमा कमी भएको बताउँदै यो वर्षबाट सोचे भन्दा राम्रो उत्पादन भएको बताउनु भयो । गाउँमा रहेका स्याउका बगैँचामा समेत सिंचाई पुगेको लामाले बताउनुभयो । स्याउको चिचिला लाग्ने बेला सिंचाई नहुँदा झर्ने गरेको जानकारी गराउँदै लामाले यो वर्षबाट उक्त समस्या हल भएको बताउनु भयो ।

अर्का स्थानीय तोर्जु रोकायाका अनुसार सिंचाईको समस्याले प्रयोग विहिन रहेको जमीन प्रयोगमा आएको जानकारी गराउनु भयो । सिंचाईको लागि खोलाबाट बगेको पानी जम्मा गर्नको लागि ७ मिटर गहिरो र ५ मिटर लम्बाई भएको रिजब ट्याङ्कि निर्माण गरिएको उहाँले बताउनु भयो । आवश्यकता अनुसार सिंचाई गर्न सजिलो होस भनेर रिजब ट्याङ्कि निर्माण गरिएको उहाँले जानकारी गराउनु भयो । चैत वैशाखको सुख्खा समयमा सिंचाइ गर्न मिल्ने गरि पानी रिजब गरिएको तोर्जु रोकायाको भनाइ छ ।

अर्का स्थानीय कार्मा रोकायाले गाउँमा सिंचाई, विजुली र बाटो पुगेको बताउनु भयो । स्वास्थ्य संस्था र निर्माण भएको बाटोको स्तरवृद्धिको खाचो रहेको उहाँले बताउनु भयो । दामदासे गाउँमा जाने विभिन्न खण्डको मोडहरुमा सहजै रुपमा गाडी र मोटरसाईकल गुडाउन गाह्रो हुने गरेको उहाँको भनाइ छ ।

निर्माण भएको बाटो स्तरवृद्धि गरि दिन उहाँले गाउँपालिकासँग अनुरोध गर्नु भएको छ । जंगलको बाटो भएर हिड्नु पर्ने भएकाले जंगली जनावरको डर हुने भन्दै गाउँमै आधारभूत स्वास्थ्य सेवाको आवश्यकता रहेको सुनाउनु भयो । सामान्य विरामी भएमा जंगलको बाटो पार गरि गाउँपालिका नजिक रहेको स्वास्थ्य संस्थासम्म उपचारका लागि आउनु पर्नै बाध्यता रहेको निमा तामाङ्गले बताउनु भयो ।

सुत्केरी महिला र वृद्ध नागरिकलाई उपचारको लागि स्वास्थ्य संस्थासम्म लिन सारै समस्या हुने गरेको उहाँको भनाइ छ । तामाङ्गका अनुसार स्टेचरमा बोकेर विरामीलाई लिनको लागि बाटोले गर्दा असहज हुने गरेको सुनाउनु भयो । स्थानीय सरकारलाई गाउँमा आधारभूत स्वास्थ्य संस्था स्थापनाका विषयमा ध्यान दिन अनुरोध गर्नु भएको छ ।

जनजातिको मात्रै वस्ति रहेको गाउँमा स्थानीय सरकारको अनुभूति हुने गरी काम गर्न उहाँले आग्रह गर्नु भएको छ । गाउँमा सिंचाइ पुगेकाले उत्पादनमा वृद्धि हुनेमा उहाँ खुसी हुनुहुन्छ । अर्का स्थानीय पेम्बा लामाका अनुसार जंगलको बिचमा रहेको गाउँको अवस्थाका बारेमा धेरै व्यक्ति अपरिचित रहेको जानकारी गराउनु भयो ।

गुठीचौर गाउँपालिका भित्र लुकेर रहेको बस्ति विकास गर्न उहाँले सम्बन्धित निकायलाई अनुरोध गर्नु भएको छ । यता गाउँपालिका अध्यक्ष हरीवहादुर भण्डारीले गाउँपालिकामा रहेको स्काभेटर प्रयोग गरी दामदासे गाउँको बाटो स्तरवृद्धि गरिने छ । विकाट गाउँमा रहेको वस्तीको विकासको लागि गाउँपालिका गम्भिर रहेको उहाँले बताउनु भयो ।