तातोपानी गाउँपालिका जुम्लामा लागेको ताला तिनपछि खुल्यो – Karnali News

तातोपानी गाउँपालिका जुम्लामा लागेको ताला तिनपछि खुल्यो

 १९ असार २०७८, शनिबार ०६:५८  

नौरते नेपाली, असार १९ जुम्ला
तातोपानी गाउँपालिका जुम्लामा लागेको ताला तिनपछि खुलेको छ । असार महिनाको १५ गतेका दिन लगाईएको ताला १८ गतेका दिन मात्रै खुलेको हो । तातोपानी गाउँपालिका वडा नम्बर ५ श्रीनगरका स्थानीय र गाउँपालिका चालक कर्णवहादुर कार्कीका बिच भएको विवादले गर्दा गाउँपालिकामा ताला लागेको थियो ।

चालक कार्की माथि हातपात भएको भन्दै पहिलो दिन १५ गते गाउँपालिका कर्मचारी, १६ र १७ गतेका दिन लिताकोटका स्थानीयले सबै कामहरु ठप्प गर्दे गाउँपालिकामा ताला लगाएका थिए । चालक कार्कीले श्रीनगर गाउँका बच्चाले गाडीमा ढुङ्गा हानेको भनी हातपात गरेको र श्रीनगरका स्थानीयले बच्चालाई हातपात गर्ने चालकलाई कुटपिट गरेको विषयमा विवाद भएको थियो ।

गाउँपालिका कर्मचारी माथि स्थानीयले हातपात गरेको भन्दै पहिलो दिन कर्मचारीहरुले सबै सेवाहरु ठप्प गर्दे तालाबन्दि गरेको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताउनु भयो । बच्चा माथि हातपात गरेको बाहनामा श्रीनगरका स्थानीयले चालक कार्कीलाई कुटपिट गरेपछि पहिलो दिन कर्मचारीले गाउँपालिकामा तालाबन्दि गरेको उहाँको भनाइ छ ।

बच्चालाई हातपात गर्ने चालक र श्रीनगरका स्थानीयले आ–आफ्नो गल्तीलाई सच्याएपछि गाउँपालिकामा लागेको ताला खुलेको अध्यक्ष न्यौपानेको भनाइ छ । गाडी चालक कर्णवहादुर कार्की असार १४ गते बजारबाट गाउँपालिका जाने क्रममा श्रीनगरका तिन जना बच्चाले गाडीमा ढुङ्गा हानेको भन्दै चालकले बच्चालाई हातपात गरेको अध्यक्ष न्यौपानेले बताउनु भयो ।

बच्चालाई हातपात गर्ने चालक माथि श्रीनगरका केहि व्यक्तिले चालक माथि कुटपिट गरेको उहाँले बताउनु भयो । चालक र श्रीनगरका बिच विवाद भएपनि बास्तविक विवाद दिलौरी थारमारे सडकको विषयमा भएको हो । गाउँपालिकाले २० लाख रुपैयाँमा दिलौरी थारमारे कृषि सडकमा डोजर प्रयोग भएको भनी भुक्तानि दिन नमाने पछि विवाद भएको बुझिन आएको छ ।

तातोपानी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष हरीवहादुर डाँगीले सडकमा उपभोक्ताले डोजर लगाएर काम गरेमा २० देखि ४० प्रतिशत जरिवाना लगाउने कार्यविधि गाउँपालिकाले आफु नभएको बेला पास गरेको बताउनु भयो । सडकको काम सकिएपछि भुक्तानि माग गर्न जाँदा जनताको रकम गाउँपालिकाले कटौति गर्न खोजेको उहाँले बताउनु भयो ।

गाउँपालिकामा लगाएको तालाबन्दिका विषयमा आफु बेखर रहेको उहाँले सुनाउनु भयो । नागरिकले काम गरेको रकम असारमा भुक्तानि दिने बेला गाउँपालिकामा तालाबन्दि गरी जात्रा लगाउनु दुखद कुरा भएको उहाँको भनाइ छ । गाउँपालिकाले मनोमानि तवरले बजेट ल्याउन खोजेको हुँदा असार १० गतेका दिन भएको गाउँसभा आफुले बहिष्कार गरेको अध्यक्ष डाँगीले बताउनु भयो ।

उहाँका अनुसार चालु खर्च ७ करोबाट बढाएर गाउँपालिकाले १० करोड पुराएको जानकारी गराउनु भयो । आगामी आर्थिक वर्षका लागि गाउँपालिकाले तेलमा मात्रै ३० लाख रुपैयाँ विनियोजन गरेको डाँगीको भनाइ छ । चालु तर्फ अन्य विविध खर्चमा धेरै रकम विनियोजन भएकोले गाउँसभा बहिष्कार गरेको डाँगीले जानकारी गराउनु भयो ।

विकास निर्माणको भन्दा चालु खर्चमा गाउँपालिकाले बढी रकम विनियोजन गरेको उहाँको भनाइ छ । तिन वर्षको सम्मको कन्टिजेन्सी रकमको हिसाब किताब गाउँपालिकासँग माग गर्दा दिन नमानिएको उहाँले बताउनु भयो । योजनाबाट घटेको रकमको हिसाब गाउँपालिकाले नदेखाएको अध्यक्ष डाँगीले बताउनु भयो ।

यता गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद धितालका अनुसार आफु असार १५ गतेका दिन विहानै देखि योजना अनुगमनमा गएको हुनाले तालाबन्दिका विषयमा अनविज्ञ रहेको सुनाउनु भयो । लिताकोटका स्थानीयले चालक कार्की कुटिएको विषयमा तालाबन्दि गरेको हुन सक्ने उहाँको भनाइ छ । शुक्रबारका दिनबाट गाउँपालिकाले सबै प्रशासनिक कामहरु सुरु भइ सकेको धितालले जानकारी गराउनु भयो ।