उत्पादनमुखी योजनामा ध्यान दिने मन्त्रीःश्रेष्ठ – Karnali News

उत्पादनमुखी योजनामा ध्यान दिने मन्त्रीःश्रेष्ठ

 १७ असार २०७८, बिहीबार ०७:०९  

जम्ला, असार १७ 
कर्णाली प्रदेशका जलस्रोत तथा उर्जामन्त्री दिनबन्धु श्रेष्ठले वितरणमुखी भन्दा उत्पादनमुखी योजना निर्माणमा ध्यान दिइने बताउनु भएको छ । वर्षाले कटान गरेको जमिन तथा जनताको आवश्यकताबारे बुझ्न गृहजिल्ला पुग्नु भएका मन्त्री श्रेष्ठले पत्रकार भेटघाटको क्रममा यस्तो बताउनु भएको हो ।

वितरणमुखी योजनामा लगानी गर्दा तत्काल केही नागरिकलाई लाभ हुने देखिए पनि दिर्घकालिन लाभ लिन नसिकने भन्दै उहाँले उत्पादनमुखी योजनाले समग्र कर्णाली प्रदेशकै स्तर उकास्न बताउनु भयो । कर्णालीका समग्र जनताले लाभ पाउने गरि लोकप्रिय कार्यक्रम भन्दा पनि योजनाका प्रभावकारी कार्यान्वयनमा जोड दिने मन्त्री श्रेष्ठको भनाइ छ ।

उहाँका अनुसार प्राथमिकताको आधार निर्धारण गर्दा जनताका आवश्यकतालाई सम्बोधन गर्न जरुरी ठानेको उहाँले बताउनु भयो । कर्णाली जलस्रोतको भण्डार भएकाले केही ठुला आयोजनामा लगानी गरिने उहाँको भनाइ छ । आफु मन्त्री भए लगत्तै भेरी बबई डाइभर्सन अनुगमन गर्न गएको बताउनु भयो ।

त्यहाँ आठ मेघावाट विद्युत निकाल्न सकिनेबारे छलफल भइरहेको भन्दै मन्त्री श्रेष्ठले तिला र जवा नदीको बीच सेन्टर नाग्ममा दस देखि बीस मेघावाटको विजुलीको लागि सम्भाव्यता अध्ययनको लागि बजेट छुट्याइ कार्यान्वयनमा जोड दिनेछु । उहाँले कर्णालीका दस जिल्लाका दसवटा विकट बस्तीमा वैकल्पिक उर्जाका माध्यमले बस्ती उज्यालो कार्यक्रमका बजेट लगानी गरिएको बताउनु भयो ।

कर्णालीका १० वटा जिल्लाका १० वटा बस्तीका ८० देखि सय घर दुरीलाई उज्यालो बनाउने योजना बनाइ बजेट विनियोजन भइसकेको छ । बत्तिको पहुँच नभएको बस्ती छनोट कार्य चाँडै सुरु हुने जानकारी गराउनु भयो । साथै योजना निर्माण गर्दा प्राथमिकताका आधारमा विना पक्षपात दलगत स्वार्थ भन्दा माथि उठ्नुपर्ने उहाँको जोड छ ।