प्रतिष्ठानमा उपचारत विरामीलाई निःशुल्क अमृत भोजन – Karnali News

प्रतिष्ठानमा उपचारत विरामीलाई निःशुल्क अमृत भोजन

 ८ असार २०७८, मंगलवार ०८:०७  

नौरते नेपाली, असार ८ जुम्ला
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कोभिडका कारण समस्यामा परेका विरामीहरुको लागि निःशुल्क अमृत भोजन अभियान चलेको छ । निषेधाज्ञाले होटलहरु बन्द हुँदा विरामी र कुरुवालाई खानाखान समस्या हुने भएकाले निःशुल्क अमृत भोजन अभियान चलाईएको हो ।

विवेकशिल साझा पार्टी अभियान विभाग जुम्लाको आयोजना र विवेकशील साझा अन्तराष्ट्रिय सद्भाव समूहको समन्वयमा विरामी र कुरुवालाई निःशुल्क खाना उपलब्ध गराइएको विवेक शिल साझा पार्टी जुम्लाका संयोजक जयवहादुर विश्वकर्माले बताउनु भयो । उहाँका अनुसार जेष्ठ महिनाको २७ गतेदेखि असार ७ गतेसम्म साँझ र विहानको खाना उपलब्ध गराइएको बताउनु भयो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले सिफारिस गरेको खाना विरामी र कुरुवालाई दिने गरिएको उहाँको भनाइ छ । आफै मेस चलाएर प्रत्येक दिन विरामी र कुरुवालाई खान प्याक गरि दिने गरिएको उहाँले बताउनु भयो । होटल बन्द भएको बेला विरामी र कुरुवालाई खानाको लागि समस्या हुने भएकाले खाना आफै पकाएर प्याकिङ्ग गरि दिने गरिएको विवेकशिल साझा पार्टीका सरिता भण्डारीले जानकारी गराउनु भयो ।

झण्डै ५ सय जना विरामीलाई हालसम्म खाना खुवाईएको उहाँले बताउनु भयो । विरामी र कुरुवालाई खाना खुवाउदा ४८ हजार रुपैयाँ जति खर्च भएको भण्डारीको भनाइ छ । समस्यामा परेका विरामी र कुरुवालाई खाना खुवाउनु हरेक नागरिकको कर्तव्य हुन आउने उहाँले बताउनु भयो ।

संयोजक विश्वकर्माका अनुसार राजनीतिक हिसाबले खाना उपलब्ध गराएको नभइ समाज सेवा लागि सहयोग गरेको बताउनु भयो । कालिकोट र मुगु जिल्लाबाट उपचारका लागि आएका विरामी र कुरुवालाई बढी समस्या देखेपछि निःशुल्क अमृत भोजन अभियान चलाईएको उहाँको भनाइ छ ।

निषेधाज्ञा थप भएमा अमृत भोजन अभियान जारी रहने उहाँले बताउनु भयो । एक दिनमा प्रतिष्ठानमा उपचार गराई रहेका विरामी र कुरुवा गरी झण्डै ३५ जना जतिलाई खाना खुवाउने गरिएको विश्वकर्माको भनाइ छ । निःशुल्क अमृत भोजन अभियानमा जुम्लाका सुकवहादुर रावत, मनोज सुनार, विष्न रावत र महिला प्रहरी धर्मा चन्दले सहयोग गरेको उहाँले जानकारी गराउनु भयो ।

सहयोग हातहरुले अझै समन्वय र सहकार्य गर्न पनि उहाँले अनुरोध गर्नु भएको छ । उहाँले भन्नुभयो, यति बेला सबै होटहरु बन्द छन, विरामी र कुरुवालाई खानाको लागि समस्या भएकाले सबै मिलेर सहयोग गर्न आग्रह गर्नु भएको छ । निःशुल्क अमृत भोजनका विषयमा हाम्रा सहकर्मी नौरते नेपालीले जयवहादुर विश्वकर्मासँग कुराकानी गर्नु भएको छ ।