विपद्मा परेका नागरिकहरुलाई कामका लागि नगद कार्यक्रम – Karnali News

विपद्मा परेका नागरिकहरुलाई कामका लागि नगद कार्यक्रम

 ४ असार २०७८, शुक्रबार ०७:५३  

असार ४ जुम्ला
युएसएआडि नेपालको सहयोग तथा मर्सिकोर नेपाल र किर्डाक नेपालकोे साझेदारीमा संचालित भकारी परियोजनाले कामका लागि नगद कार्यक्रम संचालनमा ल्याएको छ । कार्यक्रमबाट खडेरी तथा कोभिड १९ द्धारा प्रभावित विपन्न, सिमान्तकृत तथा जोखिममा रहेका नागरिकहरुको खाद्य संप्रभुता कायम गर्ने हेतुले संचालित उक्त कार्यक्रममा तातोपानी गाउँपालिका वडा नम्बर ४ को नियापानी र गौतमवाडा, ७ को ताम्ती र सर्मि र ८ को टोप्ला र थलाले समुदायका अति विपन्न २२५ घरधुरीका नागरिकहरु लाभान्भित हुनेछन् ।

जसमा प्रत्येक व्यक्तिले काम गरे वापत १३५०० आम्दानी गर्ने छन् भने उक्त कामबाट साना प्रकारका सामुदायिक संरचना मर्मत तथा निर्माण गरिनेछ । कामका लागि नगद कार्यक्रममा कम्तिमा ५० प्रतिशत महिला तथा ४० प्रतिशत सिमान्तकृत वर्ग तथा समुदायको सुनिश्चिता गर्दै सामाजिक रुपमा बहिष्करण परेका नागरिकहरुलाई लाभ हुने गरी काम गरिएको जेसी अधिकृत शुक्र बहादुर विकले बताउनु भयो ।

यसै गरी जिल्लामा भिन्न परियोजना संचालन गरेको र कामका लािग नगद कार्यक्रम मार्फत विपन्न तथा सिमान्तकृत समुदायको जीविकोपार्जनमा मदत गर्ने लक्ष्य रहेको किर्डाक नेपालका कार्यक्रम संयोजक जनक पन्तले जानकारी दिनुभयो । परियोजनाले जोखिम, संकटासन्न समुदाय तथा घरधुरी छनौट गरी हालै कार्य संचालन गर्दै आइरहेको छ ।

उक्त कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै तातोपानी गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष धिर जैसीले कोभिड १९ को महामारी र खडेरीको चपेटामा रहेका नागरिकलाई यस कार्यक्रमले विहान वेलुकीको छाक टार्न टेवा पुग्ने बताउनु भयो । आगामी दिनमा यस प्रकारका विपन्न घरधुरीलाई लक्षित गरी उनीहरुको खाद्य संकट समाधानका लागि यस्ता कामलाई निरन्तरता दिन सके अझ प्रभावकारी हुने र वडाले आवश्यक समन्वय तथा सहकार्य गर्ने कुरा बताउनुभयो ।

केहि समय अगाडिको खडेरी र कोरोनाको महामारीबाट प्रभावित संकटासन्न तथा अति विपन्न समुदायको लाभग्राहीहरुको खाद्यय संकट सहयोग गर्नका लागि परियोजनाले उक्त कार्यक्रम संचालनमा ल्याएको मर्सिकोर नेपालका जुम्ला कलष्टर प्रमुख प्रकाश केसी जानकारी दिनुभयो । यस भकारी परियोजना आगामी तीन वर्ष सम्मका लागि कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ ।