किर्डाकले दिएको राहतले दुई महिना खान पुग्ने पूर्णा शाहीको भनाइ – Karnali News

किर्डाकले दिएको राहतले दुई महिना खान पुग्ने पूर्णा शाहीको भनाइ

 १ असार २०७८, मंगलवार १८:४८  

नौरते नेपाली, असार १ जुम्ला ।

जुम्लाका अधिकांस घरपरिवारलाई आफ्नै उत्पादनले ३ महिना पनि खान पुग्दैन् । बाँकि ९ महिनाको लागि खाद्यन्न जोहो गर्नु पर्ने बाध्यता छ । धेरै जमिन भएपनि उत्पादन कम हुने भएकाले अधिकांस घरलाई वर्षभरि खान पुग्दैन् । खान नपुग्ने घरले बजार र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले वितरण गर्ने चामलमा निर्भर हुने गरेका छन् ।

खाद्य संस्थानको जेष्ठ मसान्त सम्मको विवरण अनुसार जुम्लामा ८ हजार ३ सय ४१ क्वीन्टल चामल वितरण भएको शाखा प्रमुख तिलक सुनार बताउनुभयो । उहाँका अनुसार संस्थानमा कोटाको आधारमा चामल आयत हुने गरेको बताउनु भयो । शनिबार र सार्वजनिक विदा बाँहेक अन्य सबै दिनमा जुम्लाका नागरिकहरु चामल लिन आउने गरेको उहाँले जानकारी गराउनु भयो ।

यस्तै कृषि विकास कार्यालय जुम्लाको तथ्याङ्क अनुसार जुम्लामा धान ५५ मेट्रिकटन, मक्कै ८५ मेट्रिकटन, गहुँ ८० मेट्रिकटन, जौँ ८० मेट्रिकटन, चिनो ७५ मेट्रिकटन उत्पादन हुने गरेको छ । किसानले उत्पादन गरेको खाद्यन्नले बाह्रै महिना अपुग हुने गरेको कृषि विकास कार्यालय जुम्लाका प्राविधिक सहायक लछिराम महतले जानकारी दिनुभयो ।

जुम्लामा २९ सय ५० हेक्टर जमीनमा खेति हुने गरेको छ । जमीन अनुसारको उत्पादन कमीले गर्दा जुम्लाका किसानलाई वर्षभरी खान अपुग हुने गरेको महतको भनाइ छ । माटो उरर्बर नभएको हुँदा किसानले मेहेन्त गरे अनुसारको उत्पादन नभएको उहाँले बताउनु भयो । वर्षभरी कृषिकर्म गरि खाने विपन्न परिवारलाई किर्डाक नेपाल जुम्लाले प्रति घरपरिवार ७५ केजी चामल लगायतका अन्य ९ प्रकारको राहत वितरण गरेको छ ।

वर्षभरी खेतबारीमा काम गर्दा पनि खान नपुग्ने घर परिवारलाई छनोट गरि राहत वितरण गरिएको किर्डाक नेपाल जुम्लाका जिल्ला संयोजक रेशमवहादुर शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार जुम्लाका हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिका भित्रका ५ सय ९० जना विपन्न परिवारलाई राहत वितरण गरिएको बताउनु भयो ।

प्लान इन्टरनेश्नल नेपालको सहयोग र किर्डाक नेपाल जुम्लाको साझेदारीमा राहत वितरण गरएको शाहीको भनाइ छ । वडाले गरेको सिफारिसका आधारमा ३ महिना पनि खान नपुग्ने परिवारलाई मसिनो चामल ७५ केजी, दाल मसुरो २० केजी, तोरिको खानेतेल ६ लिटर, चना ७ केजि, रातो सिमि ६ केजी, सेतो केराउ ६ केजी, चिनि ६ केजी, आयोडिन नुन ७ केजी र हातधुने साबुन १८ पिस प्रति घरपरिवारलाई वितरण गरिएको जानकारी दिनुभयो ।

दलित, एकल महिला र अपाङ्ग भएका परिवारलाई लक्षित गरि राहत वितरण गरेको शाहीले बताउनु भयो । हिमाका २ सय २०, सिंजाका २ सय र कनकासुन्दरीका १ सय ७० परिवारले राहत पाएको उहाँको भनाइ छ । खेतियोग्य जमीन कम भएका र अरुको कामगरी गुजारा चलाउने परिवारले राहत पाएको शाहीले बताउनु भयो ।

भारत लगायतका तेस्रो मुलुकमा गएकाहरु घर फर्केको हुनाले धेरै परिवार भएकालाई खान समस्या हुने भएकाले दैनिक रुपमा आवश्यक पर्ने राहत उपलब्ध गराईएको उहाँले जानकारी गराउनु भयो । विपन्न र गरिब नागरिकले राहत पाएका सिंजा गाउँपालिका जुम्लाका अध्यक्ष देवलसिंह रावलले जानकारी दिनुभयो ।

उहाँका अनुसार अवस्था कमजोर भएका नागरिकको पहिचान गरी वितरण भएको राहतले न्याय गरेको बताउनु भयो । धेरै नागरिकलाई आफ्नै उत्पादनले वर्षभरि पनि अपुग हुने भएकाले किर्डाक नेपाल जुम्लाले उपलब्ध गराएको राहतले विपन्न नागरिकको कल्याण भएको अध्यक्ष रावलको भनाइ छ ।

खेतबारीमा वर्षभरी काम गरेपनि खान नपुग्ने परिवारलाई लक्षित गरि उपलब्ध भएको खाद्यन्नले नागरिकको हित भएको उहाँले बताउनु भयो । हिमा गाउँपािलका ४ का सीता बुढा र पूर्णा शाही पेशाले दुवै जना किसान हुन् । जीमन भएपनि उत्पादन कम हुने भएकाले ३ महिना पनि खान नपुग्ने गरेको सीता बुढाले बताउनु भयो ।

किर्डाक नेपालले दिएको राहतले सहयोग पुगेको उहाँको भनाइ छ । दुई महिनाका लागि पुग्ने राहत किर्डाकले दिएको पूर्णा शाहीले बताउनु भयो । उहाँका अनुसार एक त जीमन कम छ त्यसैमा उत्पादन कम हुने भएकाले वर्षभरी खान अपुग हुन्छ । सिंजा गाउँपालिकाका कुशा नेपालीलको पिडा पनि उस्तै छ ।

उहाँलाई पनि वर्षभरी पुग्ने खाद्यन्न उत्पादन हुँदैन, बजारमा पाइने र खाद्य संस्थानको चामलमा निर्भर छन् । खेतिले मात्रै नपुग्ने भएकाले बजारको चामल अनिवार्य किन्नु पर्ने समस्या रहेको सार्कीले बताउनु भयो । उहाँका अनुसार चामल किन्ने पैशा पनि हुँदैन संस्थाले दिएको राहतले झण्डै १५ हजार रुपैया जतिको बचत गरेको बताउनु भयो । जीवनका लागि आवश्यक पर्ने उद्यमशिल विकासका तालिम दिएको अझ राम्रो हुने उहाँको भनाइ छ ।