
नौरते नेपाली, जेष्ठ २५ जुम्ला
जुम्ला तातोपानी गाउँपालिका वडा नम्बर १ राकागाउँका २३ जना एकै दिन कोरोना संक्रमित भएका छन् । मंगलबारका दिन २५ जनाको एन्टिजेन परिक्षण गर्दा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुुख गुरु प्रसाद चौलागाईले बताउनु भयो । सोमबार बजारमा पिसिआर परिक्षण गर्दा संक्रमित १ जना सहित २४ जनामा संक्रमण देखिएको उहाँको भनाइ छ ।
त्यस मध्ये महिला १३ र पुरुष ११ जना रहेका छन् । उहाँको अनुसार गाउँमा ज्वरो र रुघाखोकिका विरामी देखिपछि एन्टिजेन परिक्षण गर्दा मंगलबार मात्रै २३ जनामा संक्रमण देखिएको बताउनुभयो । कोरोना संक्रमण पुष्टि भएका सबैलाई गणेश आधाभूरत विद्यालय राकामा राखिएको छ । संक्रमण देखिएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको चौलागाईले बताउनु भयो ।
राकागाउँलाई जेठ महिनाको २५ गतेदेखि असार महिनाको ३ गते १० दिनसम्मका लागि शिल गरिएको छ । लिताकोटको दोफान्न देखि रानी पुनेरासम्मको माथिलो बाटोमा आउ जाउ गर्नको लागि पूर्ण रुपमा बन्द गरिएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद धितालले बताउनु भयो ।
कोरोनाको संक्रमण रोकथाम तथा न्युनिकरणका लागि राकागाउलाई सिल गरिएको उहाँले जानकारी गराउनु भयो । गाउँमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका विरामीहरुको पिसिआर परिक्षण गर्दा २३ जनामा संक्रमण देखिएको धितालको भनाइ छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका दर्जनौ नागरिकहरु अझै बिरामीले थला परेका छन् ।
गाउँलेहरुमा खोकी लाग्ने, टाउको दुख्ने, हाडजोर्नी दुख्ने, ज्वरो आउने, खाना नरुच्ने, पालतो दिसा हुने हुने लगायतका लक्षण देखिएपछि जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको समन्वयमा एन्टिजेन परिक्षण गरिएको चौलागाईले बताउनु भयो ।
यसैगरि सोमबार सम्मको जिल्ला प्रशासन कार्यालय जुम्लाको तथ्याङ्क अनुसार कोरोना संक्रमितको संख्या ५ सय ५ पुगेको छ । राका गाउँका २४ जना जाड्दा मंगलबार सम्म ५ सय २९ जना संक्रमित भएका छन् । कोरोना संक्रमित मध्ये २ सय ९१ जना निको भएर घरफर्किएको सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईले बताउनु भयो ।