मनकारी युवाहरुको सहयोगमा राहत वितरण – Karnali News

मनकारी युवाहरुको सहयोगमा राहत वितरण

 २५ जेष्ठ २०७८, मंगलवार १८:२४  

नौरते नेपाली, जेष्ठ २५ जुम्ला
जुम्लाका मनकारी युवाहरुको व्यक्ति सहयोगमा राहत वितरण गरिएको छ । कोरोना भाइरसका कारण लकडाउनमा परी दैनिक ज्यालादारीमा काम गर्ने विपन्न नागरिकलाई जुम्ला तथा राजधानीका प्रगतिशिल र सचेत युवाहरुको सहयोगमा राहत वितरण गरिएको हो । चन्दननाथ नगरपालिका र तातोपानी गाउँपालिकाका ८१ घरधुरीलाई प्रतिघरधुरी १५ केजी चामल, एक प्याकेट तेल, २ केजी दाल, नुहाउने र कपडा धुने साबुन र शक्ति बढाउने भिटामिन वितरण गरिएको युवा मुन्ना थापाले बताउनु भयो ।

यस्तै पातारासि गाउँपालिकाले निर्माण गरेको आइसोलेसनमा बसेकाहरुलाई अण्डा र औषधि तथा जिल्ला कोभिड संकट व्यवस्थापन समितिलाई ४ वटा अक्सिजन सिलिण्डर उपलब्ध गरिएको उहाँको भनाइ छ । कोरोनाले गर्दा लक डाउनमा परेका विपन्न, गरिव र गरिखाने घरपरिवारलाई समस्या भएपछि मनकारी युवाहरुको समूहले गाउँमै पुगेर राहत वितरण गरेका हुन् ।

साँझ र विहान काम नगरेसम्म चुलोमा आगो बल्न गाह्रो हुने घरपरिवारलाई राहत वितरण गरिएको थापाले बताउनु भयो । चन्दननाथ नगरपालिकाको वडा नम्बर १, ५ र १० का ७१ तथा तातोपानी गाउँपालिका ५ लाम्रा गाउँका १० जना नागरिकलाई राहत वितरण गरिएको हो । चन्दननाथ नगरपालिका वडा नम्बर १ का ४५ घरधुरी, ५ का १२ र १० का १४ घरधुरी र तातोापानी ५ लाम्रा देखि एैरेनिसम्मका १० घरधुरीलाई राहत वितरण गरिएको थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार झण्डै एक दर्जन युवाहरुको व्यक्तिगत सहयोगमा राहत वितरण गरिएको बताउनु भयो । जुम्लाका स्थानीय युवा मुन्ना थापा, धर्मेन्द्र महतारा, खडक रोयाका, स्टेफेनी थोरन्टन, प्रदिप ज्ञवाली, गोविन्द सुनार, सरोज शाही र राजधानीमा बस्ने अंगिता शाह, आदित्य राणा, रोजिया पुन र भुमेश उप्रेतिको व्यक्तिगत लगानिमा राहत उपलब्ध गराइएको हो ।