
काठमाडौँ — तीन दिनदेखि ज्वरो आउने, खोकी लाग्ने र शरीर दुख्ने समस्याबाट थलिएपछि कालीकोटको खाडाचक्र–४ ताडीका ३६ वर्षीय युवाले बुधबार आधारभूत स्वास्थ्य इकाइमा स्वास्थ्य परीक्षण गराए । एन्टिजेन परीक्षणमा कोरोना पुष्टि भएपछि उनलाई होम आइसोलेसनमा पठाइयो । अहिले आफन्त र छरछिमेकी उनको घरमा आउनै डराउन थालेका छन् ।
परिवारका अन्य तीन सदस्यलाई उस्तै लक्षण देखिए पनि समाजको डरले कोरोना परीक्षण गराएका छैनन् । ‘अस्पताल गयो, स्वास्थ्यकर्मीले कोरोना छ भनेर घर पठाइदिन्छन्,’ उनले भने, ‘कोरोना लागेपछि गाउँमा सबैको हेलाको पात्र बन्नुपरेको छ ।’
खाडाचक्र–४ स्थित दलित टोलमा घरघरै ज्वरोका बिरामी छन् । कोरोना देखिए हेला हुने भन्दै उनीहरूले पनि परीक्षण गराउन मानेका छैनन् । स्थानीय स्वास्थ्यकर्मी बुद्धिप्रसाद आचार्यले गाल्लीखोला, गाब, चिउरेला, मोटेलीवाडा, घटालीगाउँ र दमाइवाडालगायत टोलमा अधिकांश घरमा बालबालिकादेखि वृद्धसम्म ज्वरोले थलिएको बताए । ‘बिरामीलाई सबैले सामान्य रुघाखोकीका रूपमा लिएका छन्,’ उनले भने, ‘एन्टिजेन किट लिएर गाउँमा गए पनि कसैले परीक्षण गराउन मानेनन् ।’ उनका अनुसार खाडाचक्र नगरपालिकाले आधारभूत स्वास्थ्य इकाइमा करिब ५० थान एन्टिजेन किट पठाएको छ । ज्वरो र रुघाखोकी लागेका बिरामी इकाइमा समेत उपचारका लागि नआउने गरेको उनले बताए । अधिकांश बिरामीले घरेलु उपचार गराइरहेको उनको भनाइ छ ।
गाउँमा ज्वरोका बिरामी बढेपछि धामीझाँक्रीको व्यस्तता बढेको स्थानीय नवराज विकले बताए । ‘अधिकांश गाउँमा अस्पतालभन्दा धामीप्रति बढी विश्वास छ,’ उनले भने, ‘आजभोलि प्रत्येक दिनजसो कसैको न कसैको घरमा धामी बसिरहेका हुन्छन् ।’ गत बुधबार ताडीबाट आएका ६ बिरामीको एन्टिजेन किटबाट कोरोना परीक्षण गर्दा सबै संक्रमित देखिएको स्वास्थ्यकर्मी आचार्यले बताए । उनका अनुसार शिक्षा र चेतनाको अभावमा अधिकांश बासिन्दा धामीझाँक्री र घरेलु उपचारको भरमा छन् । तीन वर्षअघि ताडीमा फैलिएको रुघाखोकी र ज्वरोले चार जनाको मृत्यु भएको थियो भने झन्डै चार सय जना बिरामी परेका थिए ।
घरघरमा ज्वरो आएर सुतेका बिरामीलाई अस्पताल जाऊ भन्दा पनि अटेर गरेर घरमै बस्ने गरेको दलित अगुवा बाले विश्वकर्माले बताए । ‘बिरामी नभएको घरै छैन, ६/७ दिन ज्वरोले थलिएर सुत्छन्, फेरि उठेर काममा जान्छन्,’ उनले भने, ‘सिकिस्त भएपछि मात्र अस्पताल जाने सबैमा कोरोना पुष्टि हुने गरेको छ ।
गाउँमा विवाह, व्रतबन्ध, पूजाआजालगायत जमघटले पनि कोरोना संक्रमण फैलाएको राप्रपा नेता लालबहादुर मल्लले बताए । ‘सामाजिक संस्कार नगर भन्न पनि नसकिने,’ उनले भने, ‘गर्न दिए कसैले मापदण्ड पालना गर्दैनन् ।’
संक्रमण भएर गाउँमा बसेकालाई सबैले अपराध गरेजस्तो गरेर व्यवहार गर्ने संक्रमणमुक्त भएका सामाजिक अभियन्ता सदानन्द तिमिल्सेनाले बताए । ज्वरो आउने, खोकी लाग्ने र सास फेर्न कठिन भएपछि नरहरिनाथ–६ माल्कोटकी ४० वर्षीया भरु विश्वकर्मालाई उपचार गर्न उनका पति गन्जेले एक साताअघि आठ घण्टा पिठ्युँमा बोकेर सदरमुकाम मान्म पुर्याए । उनको स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भयो तर उनको सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट ट्रेसिङ अझै हुन सकेको छैन ।
अहिले संक्रमितलाई अक्सिजन दिएर उपचार गरिरहेको जिल्ला अस्पतालका डा. राजकमल कार्कीले बताए । ‘को कहाँबाट आयो भन्ने कसरी थाहा पाउनु ?’ उनले भने, ‘अहिले लक्षण देखिएका र शंकास्पद बिरामीको मात्र स्वास्थ्य परीक्षण भइरहेको छ ।’
कोरोना कहरले यातायात सञ्चालन हुन नसक्दा बिरामीलाई पिठ्युँमा बोकेर सदरमुकाम ल्याउनुपर्ने बाध्यता भएको स्थानीय कमल विकले बताए । ‘गाउँमा केही स्वास्थ्य समस्या देखिए आफन्तलाई बचाउनै मुस्किल छ,’ उनले भने, ‘सार्वजनिक गाडी चल्दैनन्, एम्बुलेन्सले गाउँमा आउन मान्दैनन् ।’ उनका अनुसार निषेधाज्ञाका कारण बाहिरबाट फर्कनेहरू सुर्खेतबाट पैदल हिँडेर कालीकोट आउन थालेका छन् ।
झन्डै दुई महिनाको अवधिमा डोल्पामा ७ सय ८८ जनामा कोरोना परीक्षण भयो । त्यसमध्ये १ सय ६४ जना कोरोना संक्रमित भेटिए । सुरुमा परीक्षणलाई तीव्र बनाइए पनि स्थानीय तहको बेवास्ताले समुदायस्तरमा परीक्षण हुन सकेको छैन ।
गाउँमा परीक्षण नभए पनि कोरोनाका शंकास्पद बिरामीको संख्या बढेको छ तर एन्टिजेन किट अभाव र पीसीआर परीक्षणका लागि स्वाब जिल्ला बाहिर पठाउनुपर्ने बाध्यताले स्थानीय तहले परीक्षणमा बेवास्ता गरेका हुन् । अहिले जिल्ला अस्पतालमा मात्रै कोरोना परीक्षण भइरहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । ‘किट नै नभएपछि अस्पतालमा आएका शंकास्पद बिरामीको मात्र परीक्षण गरिरहेका छौं,’ निमित्त स्वास्थ्य व्यवस्थापक अमरसिंह शाहीले भने, ‘आइतबार मात्रै थप किट आएको छ, अब परीक्षण तीव्र बनाइनेछ ।’ उनका अनुसार आइतबार प्रदेश सरकारले पठाएको २ हजार ४ सय एन्टिजेन किट सबै स्थानीय तहमा पठाइनेछ ।
उपल्लो डोल्पाका डोल्पोबुद्ध, छार्काताङसोङ, शे–फोक्सुन्डो र काइके गाउँपालिकामा ज्वरो र रुघाखोकीका बिरामी बढेका छन् । माथिल्लो डोल्पामा बिरामी नभएको घरै छैन । सरकारको लापरबाहीले बिरामी ‘भगवान् भरोसामा’ बाँचिरहेको काइकेका बलबहादुर बुढाले बताए । ‘हामी धेरै जना परीक्षणकै पर्खाइमा छौं तर कसैले त्यसको पहल गरेनन्,’ उनले भने, ‘बिरामी निको हुने बेला भइसक्दा पनि परीक्षण नै हुन सकेन ।’
मुगुको सोरु गाउँपालिका–६ का देउराम बुढा एक साता ज्वरोले थलिए । घरेलु उपचारपछि केही सञ्चो भएका उनी अहिले काममा जान थालेका छन् । उनका छिमेकी देवभक्त बुढाले पनि घरेलु उपचारबाटै ९ दिनपछि ज्वरो जिते ।
मुगुका ग्रामीण क्षेत्रमा ज्वरो आउने, रुघाखोकी लाग्नेलगायत लक्षणका बिरामी बढे पनि उनीहरूको कोरोना परीक्षण हुन सकेको छैन । अधिकांश बिरामी धामीझाँक्री र घरेलु उपचारकै भरमा छन् । ४/५ दिनसम्म जडीबुटीको रस नियमित सेवन गरेपछि मजदुरीमा जान थालेको देउरामले बताए । ‘गाउँका स्वास्थ्यचौकीमा न स्वास्थ्यकर्मी छन् न औषधि,’ उनले भने, ‘कोरोनाको जस्तो लक्षण देखिए पनि हामीले परीक्षण नै गराउन पाएनौं ।’ उनले स्थानीय जनप्रतिनिधिलाई उपचार र परीक्षणको व्यवस्था गर्न पटकपटक अनुरोध गरे पनि बेवास्ता भएको बताए । खत्याड गाउँपालिकाका विभिन्न बस्तीहृमा पनि ज्वरोको प्रकोप बढेपछि गाउँपालिकाले एउटा बस्तीबाट अर्को बस्तीमा आउजाउ गर्न निषेध गरेको छ ।
कान्तिपुर दैनिक