जुम्ला कारागारका १५ जना कैदिबन्दि संक्रमित – Karnali News

जुम्ला कारागारका १५ जना कैदिबन्दि संक्रमित

 २४ जेष्ठ २०७८, सोमबार ०८:२२  

नौरते नेपाली, जेष्ठ २३ जुम्ला
जुम्लाको कारागारका १५ जना कैदिबन्दिलाई कोरोना संक्रमण देखिएको छ । कैदिबन्दिमा ज्वरो र खोकी लाग्ने भएपछि स्वाब संकलन गरी शुक्रबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा आरटी पिसिआर परीक्षण गर्दा उनिहरुमा कोरोना संक्रमण देखिएको हो ।

कारागार भित्रका दुई महिला र १ सय २१ पुरुष गरि १ सय २३ जना कैदिबन्दि मध्ये १५ जना पुरुषलाई कोरोना संक्रमण देखिएको जेलर गयाप्रसाद पाण्डेले बताउनु भयो । संक्रमति १५ जना मध्ये एक जना ७७ वर्षीय पुरुषको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन कक्षमा उपचार भइरहेको छ ।

अन्य संक्रमितलाई कारागारभित्रै छुट्टै आइसोलेट गरिएको कारागार कार्यालय जुम्लाले जनाएको छ । कारागारभित्रै आइसोलेट गरिएका कैदिबन्दिलाई भने संक्रमणका लक्षण नदेखिएको पाण्डेले बताउनु भयो । जुम्लामा आइतबारसम्म तथ्याङ्क अनुसार कोरोना संक्रमितको संख्या ४ सय ९६ पुगेको छ ।

यस्तै कोरोना संक्रमित २ सय ५७ जनालाई निको भएर घरफर्किएको सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईले बताउनु भयो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ३६ जना उपचारतार्थ रहेका छन् । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएदेखि जुम्लामा संक्रमणबाट दुई जना जेष्ठ नागरिकको मृत्यु भएको प्रशासनले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।