
नौरते नेपाली, जेष्ठ १९ जुम्ला
तातोपानी गाउँपालिका ६ रावतवाडा गाउँका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २७ जनाको पिसिआर परिक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको वडाध्यक्ष विशाल खड्काले जानकारी गराउनु भयो । संक्रमित सबैलाई एैरेनीमा निर्माण गरिएको आइसोलेसनमा राखिएको उहाँको भनाइ छ । रावतवाडा गाउँमा दर्जनौ नागरिकहरु बिरामी परेका छन् ।
गाउँमा कोरोनासँग मिल्दोजुल्दो लक्ष्ण देखिएका विरामीहरुको पिसिआर परिक्षण गर्दा ९ जनामा संक्रमण देखिएको हो । अझै गाउँमा विरामीको संख्या धेरै भएकाले बुधबारका दिन थप पिसिआर परिक्षण गरिने वडाध्यक्ष खड्काले बताउनु भयो । कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका दर्जनौ नागरिकहरु बिरामीले थला परेको स्थानीय युवा बरम सुनारले जानकारी दिनुभयो ।
विगत एक सातादेखि उनीहरुमा समस्या देखिएको उहाँको भनाइ छ । गाउँमा रोगले नागरिकहरु बिरामी परेपनि स्थानीय सरकारले ध्यान नदिएको उनीहरुले दुखेसो प्रकट गरेका छन् । युवा सुनारका अनुसार गाउँलेहरुमा खोकी लाग्ने, टाउको दुख्ने, हाडजोर्नी दुख्ने, ज्वरो आउने, खाना नरुच्ने, पालतो दिसा हुने हुने लगायतका लक्षण देखिएको उहाँले जानकारी गराउनुभयो ।
करिब पाँच दिनदेखि समस्या देखिन थालेको ३५ जना जति विरामी रहेका छन् । वडा कार्यालयले प्रक्रिया थाल्छौँ भने पनि बिरामीहरुमा भने समस्या झन गम्भीर हुँदै गएको छ । एकसातादेखि उक्त गाउँमा १५ जना सिकिस्त, अन्य १५ जना जति सामान्य विरामी रहेका छन् । सिकिस्त हुनेमा ४० वर्षका देखि ७० वर्ष समूहका रहेका छन् ।
उक्त गाउँमा काठमाडौँ, सुर्खेत, भोजपुर लगायतका जिल्लाबाट मानिसहरु भित्रिएको बताईएको छ । तर स्थानीय तहले समयमै ध्यान नदिदाँ उक्त गाउँमा महामारी फैलिँदै गएको स्थानीयले बताएका छन् । ५३ घरधुरी रहेको उक्त गाउँमा ५० प्रतिशत घरधुरी प्रभावित भएको र चार वर्षदेखि ७० वर्ष उमेर समूहका मान्छेहरुमा समस्या देखिएको छ ।
तातोपानी गाउँपालिका ६ का वडाध्यक्ष बिशाल खड्काले आफूहरुले गाउँहरुको अवस्थाबारे जानकारी लिएको बताउनुभयो । रावतवाडा गाउँमा गएको बताउँदै वडाध्यक्ष खड्काले सो गाउँमा करिब चार दर्जन भन्दा बढीमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको बताउनुभयो । उहाँका अनुसार ४६ जनाको नामावली पीसीआर परिक्षणका लागि तयार गरिएकोमा मंगलबार २७ जनाको परिक्षण भएको र बुधबारका दिन थप अरुको पनि पिसिआर परिक्षण हुने जानकारी गराउनु भयो ।
पहिलो चरणमा ३० जनाको परीक्षण गरिने भन्दै उहाँले त्यसपछि अवस्था हेरेर अन्य नागरिकहरुको परीक्षण गर्ने वडाध्यक्ष खड्काको भनाइ छ ।