गाउँपालिकाको डोजर अध्यक्ष भण्डारीको स्याउ फार्ममा प्रयोग – Karnali News

गाउँपालिकाको डोजर अध्यक्ष भण्डारीको स्याउ फार्ममा प्रयोग

 ११ जेष्ठ २०७८, मंगलवार १८:५२  

नौरते नेपाली, जेष्ठ ११ जुम्ला

गुठीचौर गाउँपालिकाको एक्साभेटर (डोजर) अध्यक्ष हरीवहादुर भण्डारीले आफ्नो निजी स्याउ फार्म प्रयोग गरेको खुलेको छ । गुठीचौर गाउँपालिका वडा नम्बर ३ गज्र्याङ्गकोटगाउँ नजिक थापखेत भन्ने स्थानमा झण्डै ५ हजार वर्गमिटरमा रहेको स्याउ बगैँचामा डोजर प्रयोग भएको हो ।

कोरोना माहामारीका बेला गाउँपालिका सिल भएको मौका छोपि अध्यक्ष भण्डारीले निजी स्याउ फार्ममा डोजर प्रयोग गर्नु गुठीचौरका नागरिक माथि सरकारले अन्याय र अत्याचार गरेको २०७४ सालको स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षमा पराजित हुनु भएका दानवहादुर बुढाले बताउनु भयो ।

सरकाले गरेको अक्षम्य र गैर कानुनी कार्य नगर्न र नगराउन उहाँले गाउँपालिकाको सामाजिक संजाल फेसबुक मार्फत ध्यानकर्षण गराउनु भएको छ । अध्यक्ष भण्डारीले स्याउको बगैँचा सम्याउनको लागि डोजर प्रयोग गर्नु भएको हो । गाउँपलिकाबाट डोजर प्रयोग गर्नको लागि शुल्क नतिर अध्यक्ष भण्डारीले जेष्ठ महिनाको ९ र १० गते दुई दिन डोजर प्रयोग गर्नु भएको हो ।

गाउँपालिकाले डोजर प्रयोग गर्नको लागि अग्रीम रुपमा प्रतिघण्टा ३ हजार दुई सय देखि ३ हजार ५ सय सम्म रसिद काट्नु पर्ने नियम रहेको छ । तर, अध्यक्ष भण्डारीले नियमलाई उल्लंघन गर्दे विना रसिद डोजर प्रयोग गरेको बुढाले बताउनु भयो । शुल्क तिरेर डोजर प्रयोग गर्न पाउने सबैको अधिकार भएपनि गाउँपालिकाको राजश्व शाखाबाट रसिद नकाटी अध्यक्ष भण्डारीले डोजर प्रयोग गर्नु भएको हो ।

गाउँपालिका अध्यक्षको उक्त कदम भ्रष्टाचार निवारण ऐन २०५९ को परिच्छेद २ को दफा १७ बमोजिम सार्वजनिक संस्थाको सम्पति लापरवाही वा बदनियत गरि हिनामिना, हानी नोक्सानी वा दुरुपयोग गरे, गराएमा वा मासेमा वा निजि प्रयोग गरेमा निज व्यक्तिलाई कसूरदार हुनेछ भन्ने उल्लेख गरिएको छ ।

अध्यक्ष भण्डारीले सरासर भ्रष्टाचार जन्य काम गरेको बुढाले आरोप लगाउनु भयो । स्थानीय सरकार प्रमुखले गरेको गैर जिम्मेवार, गैर कानूनी र भ्रष्टाचारजन्य कदम प्रति गहिरो ध्यानकर्षण भएको बुढाले जानकारी गराउनुभयो । यता गाउँपालिका अध्यक्ष हरीवहादुर भण्डारीले गाउँपालिकाबाट रसिद काटेर डोजर प्रयोग गरेको बताउनु भयो ।

जेष्ठ महिनाको ८ गतेका दिन २५ हजार रुपैयाँकाे चेक गाउँपालिका कर्मचारीलाई दिएर स्याउ बगैँचामा डोजर प्रयोग भएको उहाँले बताउनु भयो । डोजरमा प्रयोग हुने तेल समेत आफैले तिरेको अध्यक्ष भण्डारीले बताउनु भयो । गाउँपालिका भित्रका नागरिकले शुल्क तिरेमा डोजर प्रयोग गर्न पाउने भन्दै अध्यक्ष भण्डारीले आफु पनि गुठीचौरको नागरिक भएकाले लागेको शुल्क तिरेर डोजर प्रयोग गरेको जानकारी गराउनु भयो ।

कोरोनाका कारणले गाउँपालिका सिल भएको हुनाले राजश्व फाँटका कर्मचारी उपस्थित नहुँदा स्थानीय सरकारको नाममा राजश्व जम्मा हुन बाँकि रहेको उहाँको भनाइ छ । स्थानीय तहको निर्वाचनमा पराजित हुनु भएको बुढाले आफुमाथि मिथ्या आरोप लगाएको अध्यक्ष भण्डारीले बताउनु भयो ।

गाउँपालिकाले नियम अनुसारकाे डोजर प्रयोगको रकम रसिद काट्दा अध्यक्ष भण्डारीले झण्डै ८४ हजार रुपैया तिनु पर्ने देखिन्छ । अध्यक्ष भण्डारीले एक दिनमा १२ घण्टा मात्रै डोजर चलाएपनि दुई दिनको जोड्दै २४ घण्टा हुन्छ । प्रति घण्टा ३५ सय रुपैयाका दरले २४ घण्टाकोे हिसाब गर्दा ८४ हजार रुपैयाको रसिद भण्डारीले गाउँपालिकालाई बुझाउनु हुनु पर्ने हो ।

तर, अध्यक्ष भण्डारीले आफु बच्नको लागि २५ हजार राजश्व तिरेको बयान दिनु भएको छ । स्थानीय सरकारको सार्वजनिक साधान चरम दुरुपयोग हुँदा पनि कर्मचारीले पूर्ण सहयोग गरेको देखिन्छ । सामाजिक स‌जालमा डोजर प्रयोग भएको विषयमा व्यापक गुनासो आएपछि मिलाउनको लागि अध्यक्ष भण्डारीले २५ हजारको रसिद काट्नु भएको रहेछ ।

बैँक बन्द भएका कारण रसिद काटेको रकम जम्मा हुन भने सकेको छैन् । डोजर चालक जीवन बुढथाेकिका अनुसार स्याउ बगैँचा सम्याउनको लागि जेष्ठ ९ र १० गते डोजर प्रयोग भएको बताउनु भयो । रसिद काटेको वा नकाटेको विषयमा आफुलाई जानकारी नभएको उहाँको भनाइ छ । रसिद काटे नकाटेको विषयमा थप बुझ्न खोज्दा राजश्वफाँटका कर्मचारी तिल प्रसाद पाण्डे ९८४८३८२८९७ नम्बर स्वीचअफमा राखिएको थियो ।

गुठीचौर गाउँपालिकाको एक कर्मचारीका अनुसार अध्यक्ष भण्डारीले २५ हजार रुपैयाँको चेक बुझाएको बताउनु भयो । डोजरमा प्रयोग हुने तेल पनि भण्डारीले आफै हाल्नु भएको हो । डोजरमा प्रयोग भएको तेलसमेत जाड्दै झण्डै ५० हजारको हाराहारीमा खर्च भएको ति कर्मचारीले बताएका छन् ।