
गत २० वैशाखमा प्रधानमन्त्रीले भनेका थिए– कोभिडमा खटिने चिकित्सक, स्वास्थ्यकर्मीलाई सुरु तलब स्केलको ५० प्रतिशत जोखिम भत्ता, परिवारको उपचार र बिमाको व्यवस्था गरिनेछ, तर दुई हप्ता बितिसक्दा पनि प्रक्रिया सुस्त, अघिल्लो वर्षको कात्तिकदेखि जोखिम भत्ता पाउन बाँकी
कोरोना महामारीमा ज्यान जोखिममा राखेर बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिन सरकारले आलटाल गरेको छ । दुई साताअघि प्रधानमन्त्री केपी ओलीले कोभिड उपचारमा खटिने स्वास्थ्यकर्मीलाई ५० प्रतिशत जोखिम भत्ता दिने घोषणा गरेका थिए ।
डा.जागेश्वर गौतम प्रवक्ता, स्वास्थ्य मन्त्रालय
आगामी ६ महिना कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीलाई ५० प्रतिशत भत्ता दिने कुरा भएको छ । तर, त्यसको वर्गीकरण गर्न अझै बाँकी छ । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, सफाइकर्मीलगायतलाई उपलब्ध गराउने हो । कोरोनाको बिरामी नहेर्ने स्वास्थ्यकर्मीलाई जोखिम भत्ता नदिने प्रस्तावमा उल्लेख छ ।
गत २० वैशाखका दिन देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भनेका थिए, ‘कोभिड–१९ को पहिचान, निदान, उपचार, बिरामीको ओसारपसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, चालक तथा सहचालक र सफाइकर्मीका साथै कर्मचारीहरूलाई सुरु तलब स्केलको ५० प्रतिशत जोखिम भत्ता, परिवारको उपचार र बिमाको व्यवस्था गरिनेछ ।’ तर, अहिलेसम्म भत्ता दिने विषयमा सरकारले आलटाल गरिरहेको छ ।
अघिल्लो वर्ष अर्थात् कोरोनाको पहिलो छालमा कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई एक सय, ७५ र ५० प्रतिशत भत्ता दिने निर्णय गरेको थियो । अघिल्लो वर्ष बिरामीको उपचारबापत पाएको रकम कोरोना संक्रमितको उपचारमा प्रत्यक्ष रूपमा खटिएका स्वास्थ्यकर्मीलाई दिने निर्णय थियो । तर, अधिकांश अस्पतालले रकम उपलब्ध नगराएपछि यसपटक सरकारले सम्बन्धित कर्मचारीको खातामा तलबसँगै जोडेर ५० प्रतिशत भत्ता पठाउने भएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जोखिम भत्ताको विषयमा दिनहुँ छलफल भए पनि कसरी उपलब्ध गराउने भन्ने विषयको टुंगोमा पुग्न बाँकी रहेको बताए । ‘आगामी ६ महिना कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीलाई ५० प्रतिशत भत्ता दिने कुरा भएको छ,’ उनले भने, ‘तर, त्यसको वर्गीकरण गर्न अझै बाँकी छ ।
स्वास्थ्य मन्त्रालयले अघिल्लो वर्षको कात्तिकदेखि जोखिम भत्ता वितरण गरेको छैन । अहिले पनि कहिलेदेखिको वितरण गर्ने भन्ने निर्णय भएको छैन । केस घट्दै गएकाले यो वर्ष पनि जोखिम भत्ता वितरणमा आशंका उब्जिएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले बताएका छन् । स्वास्थ्य मन्त्रालयले ५० प्रतिशत जोखिम भत्ता दिने प्रस्ताव अर्थ मन्त्रालयमा पठाएको छ । उक्त प्रस्तावमा अर्थले सहमति दिए मन्त्रिपरिषद् लगी तत्काल लागू गर्ने स्वास्थ्य मन्त्रालयको योजना छ ।
प्रवक्ता डा.गौतमका अनुसार मन्त्रालय र स्वास्थ्य विभागका कर्मचारीलाई भने जोखिम भत्ता उपलब्ध नगराइने भएको छ । ‘अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, सफाइकर्मीलगायतलाई उपलब्ध गराउने हो,’ प्रवक्ता गौतमले भने, ‘कोरोनाको बिरामी नहेर्ने स्वास्थ्यकर्मीलाई भने जोखिम भत्ता नदिने प्रस्तावमा उल्लेख छ ।’
स्वास्थ्य मन्त्रालयले देशभरका स्वास्थ्य संस्थासँग कोभिड महामारीमा खटिएका स्वास्थ्यकर्मीहरूको सूची माग गरेको छ । मन्त्रालयले ५ वैशाखमा सातै प्रदेशमा रहेका सरकारी अस्पतालमा खटिने स्वास्थ्यकर्मीको विवरण माग गरेको हो । ‘नेपाल सरकारको १९/१/२०७८ को निर्णयअनुसार कोभिड–१९ को उपचारमा प्रत्यक्ष रूपमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरूको देहायबमोजिमको विवरण पठाउन हुन अनुरोध छ,’ मन्त्रालयले सातै प्रदेशका अस्पताललाई लेखेको पत्रमा उल्लेख छ ।
सोही सूचीका आधारमा सीधै खातामा रकम पठाइनेछ । यसपटक केस बेसको शोधभर्नाबाहेक कोभिड महामारीमा खटिने स्वास्थ्यकर्मीलाई छुट्टै ५० प्रतिशत जोखिम भत्ता दिन लागिएको हो
कोरोनाबाट मृत्यु हुनेको संख्या ६१ सय ५३ पुग्यो
नेपालमा कोरोना संक्रमणबाट एकै दिन एक सय २९ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले सोमबार साँझ सार्वजनिक गरेको विवरणअनुसार हालसम्म नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ६ हजार एक सय ५३ पुगेको छ । पछिल्लो २४ घन्टामा आठ हजार नौ सय ८० जना संक्रमित थपिएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या एक लाख १५ हजार आठ सय ६ पुगेको छ ।
पछिल्लो २४ घन्टामा आठ हजार आठ सय ४८ जना कोरोनामुक्त भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या तीन लाख ८३ हजार ६ सय ८४ पुगेको छ । नेपालमा निको हुनेदर ७८.८ प्रतिशत रहेको छ । हाल आठ सय ८६ जना क्वारेन्टिनमा छन् ।